नशा च्यापिने तथा मेरुदण्डको समस्या र यसबाट जोगिने सरल उपाय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नशा च्यापिने तथा मेरुदण्डको समस्या र यसबाट जोगिने सरल उपाय


११ फाल्गुन २०७४, शुक्रबार


यस कारण महत्वपूर्ण छ ढाड

मेरुदण्ड भन्ने शब्द आफैमा स्पष्ट छ । मेरुदण्ड भनेको घरको पिलर जस्तै हो । पिलर बिनाको घर कस्तो हुन्छ ? केही वर्षअघि गएको भूकम्पले पनि हामीलाई राम्ररी सिकाएको पनि छ । हो, मानिसको शरीरमा पनि मेरुदण्ड अर्थात ढाडको उत्तिनै महत्व छ । यो बिना मान्छेको मात्र होइन कुनै पनि जनावरको शरीर सम्भव छैन । हाम्रो बेस नै यही हो । हाम्रो जग नै यही हो । जबसम्म जगलाई ध्यान दिनुहुन्न तबसम्म स्वस्थ रहन सक्नुहुन्न र जबसम्म स्वस्थ हुनुहुन्न जीन्दगीमा केही गर्न सक्ने त कुरै भएन, आफ्नो रोगको उपचारमा समय बिताउनु हुन्छ अनि के गर्ने ? त्यसैले आजै ध्यान दिनुहोस् ।

यसरी स्वस्थ रहन सके पूर्वजहरु

भुइमा बसेर काम गर्नु स्वास्थ्यका लागि राम्रो होइन । थोरैबेर भुईंमा बस्दैमा केहि हुदैंन तर लगातार बस्ने अनि निहुरिने गरी कामगर्दा अवश्य नै समस्याहरु पैदा हुन्छन् । हामीभन्दा पहिलाका पिंढीको कुरागर्ने हो भने शारीरिक रुपमा उनीहरु हामी भन्दा सयौं  गुणा सक्रिय थिए । पानी लिन कहाँ जानुपथ्र्यो ? घाँस दाउराको लागि कहाँ जानु पथ्र्याे ? शौचालय कहाँ हुन्थ्यो ? भान्छा कहाँ हुन्थ्यो ? अनि खेती नगरी खान पाइन्नथ्यो । धेरै सक्रिय थिए हामी भन्दा । त्यो बेलाको शारीरिक श्रमले गर्दाखेरी घाम लाग्ने, पानी प्यास लाग्ने, ब्यायाम, विश्राम, निद्रा आदी सबै आफ्नै ठाउँमा अटोमेटिक चलिरहन्थ्यो । त्यो त अहिले भइरहेको छैन । टेवुलमा बसेर काम गर्ने र बसी बसी खाने त्यो बेला कसले सोचेको थियो र ? एउटा कुरा यो हो ।

दोस्रो पटुकाको उपयोग पनि हो । हाम्रा बाजे बज्यैले कामगर्दा २४ हाते पटुका प्रयोग गर्नुहुन्थ्यो जसले कम्मरलाई चरप्प सपोर्ट गथ्र्यो । उनीहरु हामीभन्दा स्वस्थ थिए । हामी चार खुट्टेबाट दुई खुट्टेमा आएका जनावर हौ । मांशपेशीको विकास हुँदै जानुपर्नेमा हाम्रो चाहिँ उल्टो रुपमा गइरहेको छ किनकी अहिलेको आधुनिक जीवनशैली, आधुनिक साधनले हामी अल्छी हुँदैगएका छौं तथा बढी बस्नु परेर हामी झन् झन् कमजोर हुँदै जाँदै छौं ।

तेस्रो कुरा वहाँहरुको खाना पनि हाम्रोभन्दा निकै अर्गानिक अनि स्वस्थ थियो । हामीले खाने जस्तो हड्डी खियाउने तथा रोग लगाउने प्रोसेस गरिएका, तारेभुटेका, जंक तथा फास्टफुड त्यो बेला कहाँ पाइन्थ्यो र ?

यसरी बचाउन सकिन्छ ढाडलाई

मेरुदण्ड स्वस्थ राख्न कामगर्दा, भाँडा माझ्दा, लुगा धुदा, पोछा लगाउदा, बढार्दा, यी सबै काम निहुरिएर गर्ने हाम्रो संस्कृति छ यस्लाई परिवर्तन गर्नै पर्दछ । त्यो ढाडको निम्ति एकदमै खतरनाक छ । यसलाई हामीले परिवर्तन गर्नैपर्छ । हाम्रा कामगर्ने बानी, बेहोरा, तौर, तरिका तथा संस्कृति पनि परिवर्तन गर्नुपर्छ । पसल तथा कार्यालयमा पनि काम गर्नु छ, घरमा आएर पनि काम गर्नु छ । डवल डवल निहुरिएर काम गर्दाखेरी ढाड त ध्वस्त हुन्छ नै ।

काउण्टरमा उठेरै लुगाधुन सकिन्छ, उठेरै भाँडा माझ्न सकिन्छ । लठ्ठी भएका पोछा उठेरै लगाउन सकिन्छ । उठेरै झाडु लगाउन सकिन्छ । यी विकल्प खोज्नुपर्ने हुन्छ । सजिलो छ । पचास रुपैयाँ बढी खर्च गर्ने । पचास रुपैयाँले पाँच लाख बच्छ भने त्यसमा ध्यान किन नदिने ? एक नम्वरमा हाम्रो संस्कृतिमा परिवर्तन गर्नैपर्छ ।

अर्काे कुराः मसँग त ब्यायामको लागि समय छैन भनेर मलाई नसुनाउनुहोस् । तपाइले आज स्वास्थ्यको निम्ति समय दिन सक्नु भएन भने भोलि रोगको निम्ति समय दिनै पर्छ । त्यसैले आजै स्वास्थ्यमा समय लगानी गरौं । पसिना आउने किसिमको व्यायाम ६० प्रतिशत । शरीर लचिलो बनाउने २० प्रतिशत शरीर बलियो बनाउने २० प्रतिशत । यी तीनै किसिमले ब्यायाम हामीहरुले गर्नैपर्छ ।

त्यसपछि आराम अघि हामीले सुत्ने कुरामा ध्यान दिऔं । हाम्रो म्याट्रेस कस्तो हुनु पर्छ, सिरानी कस्तो हुनुपर्छ । सुत्दाखेरी पोजिसन कस्तो हुनुपर्छ । त्यसमा पनि ध्यान दिऔं । दिनभरी काममा अनि राति सुत्दाखेरी पनि मेरुदण्डलाई टर्चर गरेपछि त रोग कैले ठिक हुने र ? साथै पानी प्रसस्त पिउनुहोस् र घाम ताप्नुहोस् । छालामा घाम पर्नै पर्यो । अर्को चलनः भूइमा बस्ने । भूइमा खाने । भूइमा साग केलाउने । निफन्ने, चाल्ने यो सब्बै भूइँमा बसेर गर्छौ । यो भूइमा होइन उठेर गर्नु पर्यो । उठेर काम गर्दाखेरी एउटा खुट्टा स्टुलमा राख्ने र त्यो स्टुलमा राखेको खुट्टा परिवर्तन गरिरहने गर्नुपर्दछ । यसले मेरुदण्डका समस्या आउनै पाउँदैन । यी चिजमा ध्यान पुर्याउनु भयो भने स्वस्थ रहन सकिन्छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो ।

Tags :
प्रतिक्रिया दिनुहोस