मन्त्रालय बाँडफाँड प्रस्ताव : एमालेलाई १०, माओवादीलाई ७ मन्त्रालय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रालय बाँडफाँड प्रस्ताव : एमालेलाई १०, माओवादीलाई ७ मन्त्रालय


११ फाल्गुन २०७४, शुक्रबार


काठमाडौं । एमाले र माओवादीबीच मन्त्रालय बाँडफाँडमा प्रारम्भिक समझदारी भएको छ । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले अर्थ र परराष्ट्रसहित १० र माओवादीले गृह र ऊर्जासहित ७ मन्त्रालय लिने प्रारम्भिक समझदारी गरेका हुन् । यद्यपि, छलफल अझै जारी रहेकाले अन्तिमसम्म प्रारम्भिक बाँडफाँड हेरफेर हुन सक्ने दुवै पार्टीका नेताहरूको भनाइ छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली र प्रचण्डबीच भएको एक्लाएक्लै छलफलमा मन्त्रालय बाँडफाँडमा प्रारम्भिक समझदारी भए पनि दुवै पार्टीमा आन्तरिक छलफल सकिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । ‘अहिले मन्त्रालयका विषयमा छलफल जारी नै छ, आन्तरिक छलफलसमेत भइसकेपछि अन्तिम टुंगो लाग्नेछ,’ एमाले नेता सुवास नेम्वाङले भने ।

प्रधानमन्त्रीसँग मन्त्रालय बाँडफाँडबारे प्रारम्भिक समझदारी भएलगत्तै बिहीबार साँझ माओवादीले पार्टी हेडक्वार्टर सदस्यको बैठक बोलाएको थियो । ‘एमालेले १० र हामीले ७ मन्त्रालय लिने गरी मोटामोटी प्रारम्भिक समझदारी भएको अध्यक्षले बैठकमा जानकारी गराउनुभयो,’ बैठकपछि नेता गणेश शाहले भने, ‘तर, अन्तिम टुंगो लागिनसकेकाले अहिले प्रस्तावित मन्त्रालय फेरबदल हुन पनि सक्छन् ।’

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारमा केन्द्रित रहेर बुधबार राति नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङलगायतसँग सुझाब लिएका थिए । बिहीबार पार्टी एकीकरणका लागि गठित कार्यदल बैठककै बीचमा प्रधानमन्त्री ओली र प्रचण्डबीच भएको एक्लाएक्लै छलफलपछि मन्त्रालय बाँडफाँडको प्रारम्भिक समझदारी जुटेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस