प्रशासनिक संघीयतामा नागरिक र कर्मचारीका अपेक्षा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रशासनिक संघीयतामा नागरिक र कर्मचारीका अपेक्षा


भविश्वर घिमिरे

१० फाल्गुन २०७४, बिहिबार


राज्य पुनर्संरचनासँग नागरिकका धेरै अपेक्षाहरु जोडिएका छन् । संघीयता मार्फत नागरिकको अपेक्षा पुरा गर्न सक्ने गरी सक्षम राजनीतिक र प्रशासनिक व्यवस्थापन तथा संरचनात्मक तयारी हुन जरुरी छ । जनताको हित र आवश्यकतालाइ केन्द्रमा राखेर सबल संगठन संरचना, प्रभावकारी कर्मचारी व्यवस्थापन र उत्कृष्ट सहभागितामुलक सार्वजनिक सेवा संचालन गरिनु पर्दछ ।

अबको संघीय निजामती सेवा ब्यापक परिस्कृतसहित नागरिकमैत्री देखिनुपर्ने भएको छ । जन आकांक्षा, जन चाहाना र जन इच्छा अनुसारको सेवा प्रवाह गर्दै संघीयताको वास्तविक अनुभुति, लोकतन्त्रको लाभको समावेशी र समन्यायिक वितरण गरिने गरी अग्रसरता देखाउनु पर्दछ ।

संघीय स्वरुप सहितको शासकीय व्यवस्थामा निजामती सेवाको स्वरुप पनि सोहि अनुसार हुनुपर्दछ । निजामती सेवालाइ वृहत र सबै अट्ने डालो बनाइ सो भित्र राष्ट्रिय निजामती जसले संविधानमा उल्लेख भएका सरकारमा साझा अधिकार क्षेत्र र साझा सेवा प्रवाह गर्ने छ । संघीय निजामती अन्तर्गत केन्द्रमा, प्रदेशमा र स्थानीय सरकारमा रहने संघीय संरचनाबाट राष्ट्रव्यापी सेवा प्रवाह गर्नेछ भने प्रादेशिक निजामतीले प्रदेशव्यापी र स्थानीयतहमा रहेर सेवा प्रवाह गर्ने संरचनामा आवद्ध रहने र जिम्मेवारी वहन गर्ने छ । त्यसैगरि स्थानीय सेवाले यसै अन्तर्गत स्थानीय आवश्यकताका आधारमा स्थानीय सेवा संचालन गर्ने छ । तर यि सबै सेवाका बीचमा सहकारिता, समन्वय र सहअस्थित्वको सिद्धान्तको पालना गरिनु उत्तिकै महत्वपुर्ण हुन्छ ।

नागरिकले निजामती सेवाबाट अपेक्षा गरेका विषयहरु :

• शासकीय सुधार, सुशासन र भष्ट्राचार मुक्त समाज,
• सहभागितामुलक निजामती सेवा,
• जनताकै सुख दुःखमा रहने घरदैलो नजिकको निजामती सेवा,
• जनमुखी, पारदर्शि र उत्तरदायी निजामती सेवा,
• परिमाणमुखी र मितव्ययी निजामती सेवा,
• जन लेखापरीक्षण सहितको निजामती सेवा,
• अग्रगामी सोच र कार्यस्वरुप भएको निजामती सेवा,
• झञ्झटरहित निजामती सेवा,
• एकिकृत सेवाप्रवाह संयन्त्र सहितको सेवा (एकै स्थानबाट धेरै भन्दा धेरै सेवाको प्राप्ती ),
• छिटो, छरितो, सहज, वैज्ञानिक र प्रविधिमैत्री सेवा,
• विद्युतिय शासन प्रणाली अवलम्वन गरेको सेवा,
• राजनैतिक तटस्थ र विभेदरहित सेवा । आदी ।

यसर्थ, संघीय निजामती सेवाको स्वरुप वहुल पद्धतिमुलक बनाउनुपर्ने देखिन्छ । राष्टिय निजामती सेवाले राष्ट्रव्यापी साझा सेवा तथा खास खास सेवा संचालन गर्ने गरि व्यवस्था गर्नुपर्ने हुन्छ । स्थानीय सेवा बढी भन्दा बढी समावेशीमुलक हुने गरि बन्दोवस्त मिलाउनु पर्ने हुन्छ ।

संगठन संरचना र कार्य प्रणालीमा दोहोरोपनान आउने गरी संगठन संरचना र कार्यप्रणाली तय गरिनु पर्दछ । निजामती सेवालाई विगतमा भन्दा गुणमुलक बनाउने गरी आवश्यक व्यवस्थापन र परिमार्जन गर्नुपर्ने देखिन्छ । निजामती सेवाको व्यावसायिकता विकास गरी नेपालमा संघीय संरचना रहेको शासकीय स्वरुपलाई विश्वकै नमुनाको रुपमा विकसित गर्ने र सबै कर्मचारीमा जिम्मेवारी, समझदारी र इमान्दारीताको विकास गरिनुपर्दछ ।

विश्वव्यापिकरण र उदारिकरणको मर्म र भावनालाई आत्मसाथ गर्दै प्रतिपस्पर्धात्मक क्षमता विकास गर्नतर्फ समेत केन्द्रीत हुनुपर्नेछ । कर्मचारीमा एकिकृत कार्य सम्पादन मुल्याङकन सुचकांकको व्यवस्था गरी बृत्तिविकास र अवसरको आधार कार्यसम्पादान प्रणालीलाइ अनिवार्य अवलम्वन गर्नुपर्ने व्यवस्था मिलाइनु पर्दछ ।

निजामती सेवाबाट कर्मचारीको अपेक्षाः

• कार्यप्रणाली र सेवा प्रवाहमा राजनैतिक तटस्थता र स्वतन्त्रता,
• स्पष्टनीति योजना तथा कानुनी आधार,
• निर्णय प्रक्रियाका तहहरू कम गरिनुपर्ने,
• क्षमता विकास, तालिम र अध्ययनको समान अवसर,
• सम्मानजनक कर्मचारी समायोजन तथा व्यवस्थापन,
• अनुमानयोग्य, स्पष्ट र लागु हुने सरुवा प्रणाली,
• बस्तुनिष्ठ कार्य सम्पादन प्रणाली,
• पुरस्कार र दण्डको वैज्ञानिक व्यवस्था,
• वृतिविकासका प्रयाप्त सम्भावना र अवसर,
• रोष्टर प्रणाली तयार गरी सेवा, सुविधा, सरुवा, अध्ययन, तालिम आदिमा कार्यान्वयन,
• उपलब्धीमुलक अनुसन्धान र विकास,
• अन्तराष्ट्रिय तुलनायोग्य सेवा सुविधा,
• एकिकृत र एकरुपता सहितको निजामती सेवा,
• स्पष्ट र कार्यान्वय नहुने मानव शंसाधनविकास योजना,
• व्यवस्थित आरक्षण प्रणाली,
• सुचकांकमा आधारित कार्यसम्पादन मुल्यांकन प्रणाली,
• कार्य सम्पादन र नेतृत्व क्षमताका आधारमा विभेदीकरण,
• उत्प्रेरणा हौसला र मनोवल उच्च बनाउने व्यवस्था । आदी ।

नेपालको परम्परागत शैली र संरचनाबाट चलेको निजामती सेवा ढाँचा र व्यवहारलाइ आधुनिक, वैज्ञानिक, जनमुखी र लक्षित समुहप्रति केन्द्रीत गर्न संघीय संरचनाअनुसार स्पष्ट ढाँचा र संरचनामा व्यवस्थापन गरिनु पर्दछ । अन्य मुलुकको कर्मचारी व्यवस्थालाइ गहन अध्ययन गरी नेपालको सान्दर्भिकता, अवस्था र आवश्यकता अनुसार स्वरुप र संरचना निर्माण गर्न यो इतिहासकै महत्वपुर्ण अवसर हो ।

Tags :
प्रतिक्रिया दिनुहोस