साझाको अपांगतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’ « प्रशासन
Logo २९ श्रावण २०७९, आइतबार
   

साझाको अपांगतामैत्री बस ‘अस्पतालदेखि अस्पतालसम्म’


९ फाल्गुन २०७४, बुधबार


ललितपुर । लगनखेलस्थित पाटन अस्पतालबाट थापाथलीस्थित प्रसूतिगृह, वीरअस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल हुँदै गंगालाल अस्पतालसम्म होचो बस गुड्नेछ । यस बसमा ज्येष्ठ नागरिक सजिलै चढ्न र झर्न सक्नेछन् । अपांगता भएका व्यक्तिलाई पनि बसमा चढ्नका लागि अरुको सहयोगको आवश्यकता पर्ने छैन ।

बसमा सवार बालबालिका, गर्भवती महिला वा अशक्तलाई आवतजावत गर्न हैरान हुनुपर्ने छैन । अस्पतालमा जानका लागि होस् वा अन्य ठाउँमा जानका लागि ज्येष्ठ नागरिक अपांग, अशक्तले कसरी पुग्ने भन्ने चिन्ता गर्नुपर्ने छैन ।

झट्ट सुन्दा नपत्याउँदो लागे पनि केही महिनापछिको काठमाडौँ उपत्यकाको दृष्य हुनेछ यो । साझा यातायातले गत साता होचो (सेमि लो फ्लोर) बस भित्र्याइसकेको छ । नेपालमा पहिलोपटक अपांग र अशक्तमैत्री बस गुड्न लागेको हो ।

बस अर्को महिनाबाट सञ्चालनमा ल्याउन लागिएको साझा यातायातले जनाएको छ । बस अहिले दर्ताको प्रक्रियामा रहेको साझा यातायातका कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए । उनले भने, ‘दर्ता सकिएपछि रुटको काम हुनेछ ।’

करोडभन्दा बढी मूल्यको यो गाडी साझाले झण्डै रु ३५ लाखमा भित्र्याएको हो । बसको क्षमता ४१ जना रहेको छ । साझाले बोलपत्रमार्फत बस खरिद गरेको हो । भारतीय कम्पनी अशोक लेल्याण्डले सहुलियत दरमा बस किनेको पाण्डेय बताउछन् ।

रुट छान्दा साझाले लक्षित वर्गलाई सजिलो पर्ने र बस पनि गुड्न सक्ने कुरामा ध्यान दिएको छ । होचो बस हुनाले खाल्डाखुल्डी सडकमा गुड्न नसक्ने पाण्डेयले बताए । उनले भने, ‘लगनखेलबाट बाँसबारीसम्म सडक तुलनात्मक रुपमा राम्रो छ ।’

बसमा एउटा मात्रै खुड्किला हुन्छ जसले गर्दा अपांगता भएका व्यक्ति सजिलै उक्लन र ओर्लन सक्छन् । त्यो एउटा स्टेप पनि सजिलै फोल्ड गर्न मिल्छ । ह्विलचेयर सजिलै उक्लन र ओर्लन सक्ने साझाले जनाएको छ ।

साझाका अरु बसमा जस्तै यसमा पनि ७० वर्ष कटेका ज्येष्ठ नागरिकले निःशुल्करुपमा यात्रा गर्न पाउने उनी बताउछन् । क र ख वर्गका अपांग र पाँच वर्षका बालबालिकाले निःशुल्करुपमा यात्रा गर्न पाउँछन् । उनी भन्छन्, ‘महँगोमा खरिद गरेको भए पनि बसमा लक्षित वर्गमध्ये निःशुल्क चढ्ने यात्रु धेरै छन् ।’

साझाले उपत्यकाभित्र चल्ने र बाहिरका लागि गरेर २९ वटा नयाँ बस ल्याउन लागेको छ । यी बसमा सिटी बस र डिलक्स दुवै छन् । अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् । ४४ वटा बस अहिले काठमाडौं उपत्यकामा र दुई वटा बस काठमाडौँदेखि बागलुङसम्म गुडिरहेका छन् । काठमाडौं उपत्यका र उपत्यका बाहिर दुवैतिर साझाको माग छ ।

साझा अहिले स्थानीय निकाय र सरकारी लगानी सबैभन्दा बढी भएको यातायात सेवा भएको छ । यसमा काठमाडौं महानगरपालिकाले १५ लाख र ललितपुर महानगरपालिकाले एक करोडको शेयर खरिद गरेका छन् । उपत्यकाका अन्य नगरपालिका पनि साझासँग सहकार्य गर्न इच्छुक रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस