वातावरणमन्त्रीको प्रतिबद्धता : मास्कमाडौंलाई काठमाडौं बनाउँछु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

वातावरणमन्त्रीको प्रतिबद्धता : मास्कमाडौंलाई काठमाडौं बनाउँछु


७ फाल्गुन २०७४, सोमबार


काठमाडौं । यसअघि प्रशासनमन्त्रीको जिम्मेवारी पाएपछि चर्चामा आएका लालबाबु पण्डितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफ्नो क्याबिनेटमा भित्र्याए, जनसंख्या तथा वातावरण मन्त्रालय जिम्मा दिएर । यसपटक पण्डितले योजना बनाएका छन्– मास्कमाडौंलाई काठमाडौं बनाउने ।

उनले मन्त्री भएलगत्तैको आफ्नो अनुभव सुनाए, ‘म वातावरणमन्त्री भएको एक घन्टाभित्र एउटा फोन आयो । फोनमा ज्यान जोखिममा राखेर काम गर्नुपर्छ भनियो । संगठित गिरोह धेरै छन् भनियो । मैले सोधें– कस्तो संगठित गिरोह ? जवाफ आयो– क्रसरवालातिर पनि हेर्नुहोला ।

पुराना गाडीवालातिर पनि हेर्नुहोला । उनले त्यसको जवाफ मन्त्री भएपछिको पहिलो औपचारिक कार्यक्रममा शनिबार साँझ सम्बोधन गर्दै दिए, ‘लालबाबु पण्डित आएको छ । हिम्मत गरेर आएको छ ।’ उनले थपे, ‘भेडाको नेता सिंह बनाइदियो भने भेडा पनि सिंह हुन्छ । सिंहको नेतृत्व भेडालाई दियो भने त्यो सिंह पनि भेडा हुन्छ । नेतृत्व कायल र डरपोक भयो भने उसले दिनमात्र बिताउँछ, परिवर्तन गर्दैन । हिजो के भयो, मलाई थाहा छैन । अब त्यस्तो हुनेछैन । जसले वातावरण बिगार्छ त्यसलाई दण्डित गर्नुपर्छ ।’

मन्त्री पण्डितले नेपाल वातावरण पत्रकार समूह र युएसएडको संयुक्त आयोजनाको ‘पानी अभियान शुभारम्भ’ कार्यक्रममा आफ्नो प्रतिबद्धता र अभियान सुनाएका हुन् । उनले आफूले आइतबारबाट मन्त्रालयको जिम्मेवारी सम्हालेर ब्रिफिङ लिने र नीतिगत र अन्तर्राष्ट्रिय प्रतिबद्धताको अध्ययन गर्ने बताएका थिए ।

उनले वागमती प्रदूषणको उदाहरण दिँदै पोलिथिनको स्रोत बन्द गर्ने काममा आफूलाई सहयोग गर्न आग्रह गरे । पोलिथिनले वातावरण बिगार्न मद्दत गरिरहेको छ । ती स्रोतलाई बन्द गर्नका निम्ति मलाई सहयोग र साथ दिनुहोस्’, पण्डितले भने ।

उनले आफू प्रशासनमन्त्री भएपछिको अनुभव सुनाउन पनि छुटाएनन्, ‘म पहिला सामान्य प्रशासन मन्त्रालय पुग्दा मन्त्रीलाई त कुर्सीबाट थुतेर बाहिर लगेर जस्तोसुकै दण्ड दिन्छन् है राष्ट्रसेवकले भनी केहीले सुनाएका थिए ।’ उनले त्यसको जवाफ अहिले जस्तैगरी दिएका थिए, ‘लालुबाबु पण्डित आएको छ । कोही त्यस्तरी हिम्मत गर्ने भेटिँदैन । यसपटक वातावरण सुधार्न आएको छ । सबैको आशा विश्वास गरेर आएको छ । हिम्मत गरेर आएको छ ।’

सर्वसाधारणको जिज्ञासा पण्डितले सुनाए, ‘काठमाडौंमा कतिदिन पछि मास्क लगाउन पर्दैन भनेर फोन आइरहेको छ ।’ उनले काठमाडौंलाई बुझेको पनि ४२ वर्ष भएछ । पण्डित भन्छन्, ‘४२ वर्षअघिदेखि म काठमाडौं देखिरहेको छु ।’उनले विगतका शासकले सबै कुरा काठमाडौंमा केन्द्रीकृत गरेर सबैको आकर्षण यही बनाइदिएको उल्लेख गर्दै भने, ‘काठमाडौंबाहेक अरु होइन भनेर जुन इतिहास बनाइयो त्यसको दीर्घकालीन असर यहाँ देखिएको छ ।

काठमाडौंसहित मुलुकका अन्य सहरलाई पनि कसरी छिटो मास्क लगाउनुनपर्ने स्थितिमा पु¥याउन सकिन्छ भन्नेबारे विस्तृत योजना बनाउने उनको प्रतिबद्धता छ । पण्डितले भने, ‘किनभने काठमाडौंका कतिपय ठाउँमा सुत्ने बेलामा मात्र मास्क निकाल्ने स्थिति छ ।’

त्यसो त उनले आफूलाई व्यंग्य गरेर सुनाएको कविता वाचन गर्न पनि छुटाएनन्, भने, ‘म एक वर्षअघि कन्या क्याम्पसमा गएको थिएँ । मलाई एउटा व्यङग्यात्मक कविता सुनाइयो । त्यसको भाव थियो– हामी त युवती, युवतीले पनि मुख देखाउन नहुने । युवकको पनि मुख हेर्न नसकिने, कि मास्क कि हेलमेट । जिन्दगीमा हाम्रो कसरी मिलन हुन्छ रु हामी कसरी अगाडि बढ्छौं, बताइदिनुहोस् त मन्त्रीज्यू । मैले यो कुरा बिर्सिएकै छैन । एकले अर्काको अनुहार देख्न पाउन वातावरण छिटो बनाउने मेरो लक्ष्य छ । यहाँहरुको साथसहयोग चाहिन्छ ।’

कार्यक्रममा वातावरणमन्त्री पण्डित र युएसएडका मिसन प्रमुख पिटर ए मलनाकले नेपाल वातावरण पत्रकार समूहले तयार पारेको पहिलो भिडियो पत्रिका पानीको शुभारम्भ गरेका थिए । यसैगरी पूर्वसिँचाइमन्त्री सञ्जय गौतमले मल्टिमिडिया न्युज पोर्टल डब्लुडब्लुडब्लु डट हाकाहाकी डट ओआरजी र जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्बासेले रेडियो कार्यक्रम पानीको शुभारम्भ गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस