नवराज सिलवाल अब फरार अभियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नवराज सिलवाल अब फरार अभियुक्त


३ फाल्गुन २०७४, बिहिबार


काठमाडौं । एमाले सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते मुद्दा प्रहरीले अनुसन्धानपछि बुधबार सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

मुद्दा पेस भएसँगै सिलवाल कानुनी रूपमा फरार अभियुक्त करार भएका छन् । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सिलवालविरुद्धको किर्ते मुद्दा सरकारी वकिल कार्यालयमा पेस भएको बताए । ‘सिलवालविरुद्धको किर्ते मुद्दा अनुसन्धानपछि प्रहरीले सरकारी वकिल कार्यालयमा पेस गरेको छ । वकिल कार्यालयले अब मुद्दा अनुसन्धान गर्नेछ । त्यसपछि अदालतमा अभियोगपत्र दर्ता गर्नेछ,’ उनले भने ।

महान्यायाधिवक्ता भण्डारीले मुद्दा पेसपछि सिलवाल कानुनी रूपमा पनि फरार अभियुक्त बनेको बताए । उनका अनुसार प्रहरीले अनुसन्धान सकेर मुद्दा बुझाए पनि अभियोगपत्र अदालतमा पेस गर्ने–नगर्ने विषय भने सरकारी वकिल कार्यालयले निर्धारण गर्नेछ । उनले भने, ‘किर्ते मुद्दा वकिल कार्यालयमा पेस भएलगत्तै कानुनी रूपमा सिलवाल फरार अभियुक्त बनेका छन् । वकिल कार्यालयले अब मुद्दा अघि बढाउन योग्य छ-छैन हेर्नेछ । योग्य भए अभियोग अदालतमा दर्ता हुनेछ, छैन भने विचाराधीन अवस्थामा रहनेछ ।’

आइजिपी बढुवाका क्रममा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको ठहर गर्दै सर्वोच्च अदालतले आवश्यक अनुसन्धान गर्न सरकारका नाममा आदेश दिएपछि प्रहरी परिसर काठमाडौंमा ५ पुसमा जाहेरी दर्ता भएको थियो । जाहेरीलगत्तै प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको थियो । काठमाडौं परिसरले सिलवाललाई पक्राउ गर्न भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई पत्र काटेको थियो । त्यसलगत्तै ललितपुर परिसरले सिलवालविरुद्ध पक्राउ पुर्जी काटेको थियो । एकाएक भूमिगत भएका सिलवाल विदेश भएको खुलेपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोललाई पक्राउ गर्न पत्र काटेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस