साउदीमा १५ वर्ष हराएका गुल्मीका टेकबहादुर राकसकोटी घर फर्कंदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

साउदीमा १५ वर्ष हराएका गुल्मीका टेकबहादुर राकसकोटी घर फर्कंदै


२ फाल्गुन २०७४, बुधबार


काठमाडौं । साउदी अरेबियामा १५ वर्षसम्म हराएका टेकबहादुर राकसकोटी घर फर्कंने भएका छन् । १७ वर्षअघि साउदी पुगेका उनी १५ वर्षसम्म परिवार तथा अन्य कसैको पनि सम्पर्कमा थिएनन् । साउदी अरेबियास्थित नेपाली दूतावासले दुई वर्षअघि उनी साउदी अरेबिया र इराकको सिमानास्थित हाथर अल वातेन भन्ने ठाउँमा मरुभूमिमा उँट चराएर बस्ने गरेको पत्ता लगाएको थियो । त्यसपछि, निरन्तर दुई वर्षको प्रयासपछि उनलाई नेपाल पठाउने स्थितिमा पुर्‍याउन दूतावास सफल भएको साउदी अरेबियाका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रप्रसाद सिंहले बताए ।

गुल्मीको तत्कालीन कल्लीकोट गाविस–४ धाप आमडाँडाका राकसकोटीले आफू १६ वर्ष १० महिनाअघि साउदी अरेबिया आएको टेलिफोनमा बताए । उनी साउदी अरेबिया जाँदा बिहे भएको एक वर्ष मात्रै भएको थियो । तीन महिनाको छोरा र श्रीमतीलाई छोडेर उनी पैसा कमाउन साउदी गएका थिए । साउदी जानेबित्तिकै उनलाई मरुभूमिमा उँट चराउने काममा लगाइयो । कसैलाई सम्पर्क गर्ने मौका दिइएन । १५ वर्षसम्म उनी कहाँ छन् कसैलाई थाहै भएन । अहिले उनका छोरा १६ वर्षको जवान भइसकेका छन् । श्रीमती उनी आउने बाटो कुरिरहेकी छिन् । ‘पहिला–पहिला चिठी लेखेर पठाउँथेँ, तर परिवारले पाए नपाएको थाहा छैन । दूतावासले भेटेपछि भने टेलिफोनमा परिवारसँग कुरा भयो,’ उनी भन्छिन् ।

दुई वर्षअघि साउदीस्थित दूतावासलाई राकसकोटी हराइरहेको भन्ने जानकारी पाएपछि खोजी सुरु गरिएको राजदूत सिंहले जानकारी दिए । ‘रियादभन्दा दुई सय किलोमिटर टाढा हाथर अल वातेन भन्ने ठाउँमा उनी रहेको दुई वर्षअघि पत्ता लगायौँ । त्यो इराकको सिमानानजिक मरुभूमि क्षेत्रमा पर्छ,’ उनले भने । साउदी दूतावासका नियोग उपप्रमुख आनन्दप्रसाद शर्माले त्यहीँ राकसकोटीलाई पत्ता लगाएको जानकारी उनले दिए । त्यहाँ मरुभूमिमा ७० वटा उँट चराउने जिम्मा लिएर उनी बसेका रहेछन् । ‘उनलाई त्यहाँबाट उद्धार गर्ने क्रममा हामी श्रम मन्त्रालय गयौँ, श्रम अदालत पनि गयौँ । उनलाई ७० हजार रियाल (करिब १९ लाख नेपाली रुपैयाँ) नगदसहित दुई–तीन दिनअघि हाम्रो टिमले उसलाई लिएर आयो । उनी अहिले दूतावासमा बसिरहेका छन् । अब उनलाई घर पठाइदिन्छौँ,’ उनले भने ।

दूतावासले पछिल्लो समय एक महिनाअघि उनलाई रियाद ल्याएको थियो । तर, मालिकले २० हजार रियाल मात्रै दिएर पठाएछ । उनलाई श्रम अदालतले कम्तीमा ७० हजार रियाल दिनुपर्ने निर्णय गरेको थियो । दूतावासका द्वितीय सचिव भरत खनाल पुनः हाथर अल वातेन गएर सबै हिसाब चुक्ता गरेर ल्याएका हुन् । यसमा साउदी सरकारले पनि सहयोग गरेको राजदूत सिंहले जानकारी दिए ।

राजदूत सिंहका अनुसार उनी खासै बोल्दैनन् । एकान्तमा बसेको हुनाले हुन सक्छ । उँटका विषयमा उनले विशेषज्ञता हासिल गरेका छन् । कसरी स्याहार गर्ने भन्ने विषयमा सबै जानकारी छ । तर, बाहिरका विषयमा अत्यन्तै कम मात्रै बोल्छन्, कम मात्रै जानकारी छ । घर जाने–नजाने भन्नेमा पनि त्यति मतलब गर्दैनन् । मालिकप्रति उनको खास लगाव रहेको राजदूत सिंह बताउँछन् । ‘मालिकलाई मेरो आवश्यकता छ । ऊसँग पैसा छैन अहिले उँट बेच्ने मौका छैन । अहिले बेच्यो भने सस्तोमा बेच्नुपर्छ । त्यसैले ऊसँग पैसा नभएर आफूले पाउने ५० हजार रियाल दिन नसकेको होला । तपाईंहरू किन कर गर्नुहुन्छ, छोडिदिनुस् भन्छन्,’ सिंहले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस