संयोजन समितिबाट एकता टुंंग्याउने एमाले-माओवादीको तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

संयोजन समितिबाट एकता टुंंग्याउने एमाले-माओवादीको तयारी


२ फाल्गुन २०७४, बुधबार


काठमाडौं । एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको टुंगो लगाएका छन् । सोमबार र मंगलबार लगातार बैठक बसेर उनीहरूले एकीकृत पार्टीको नेतृत्वमा दुवै नेता सहअध्यक्षका रूपमा रहने र सरकारको नेतृत्व पालैपालो गर्ने मोडलमा समझदारी गरेका हुन् । एकता घोषणापछिको निरन्तर छलफललाई निर्णायक मोड दिँदै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीमा दुवै सहअध्यक्ष रहने गरी (एकता महाधिवेशनसम्मका लागि) संक्रमणकालीन मोडलमा सहमति गरेका हुन् ।

एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम मोडालिटी एकता संयोजन समितिको बुधबार बस्ने बैठकले टुंगो लगाउनेछ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले संयोजन समितिको बैठकबाट एकताको मोडालिटी अनुमोदन गरी पार्टी एकता गर्ने समझदारी गरेका हुन् ।

ओली र प्रचण्डबीच मंगलबार बेलुकी ललितपुरमा साढे दुई घन्टा छलफल भएको थियो । छलफलले एकताको मोडालिटी टुंगो लगाएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘दुई अध्यक्षले पार्टी एकताको मोडालिटी टुंगो लगाउनुभएको छ,’ ज्ञवालीले भने, ‘उहाँहरूबीच भएको अन्तिम समझदारीअनुसार बुधबार एकता संयोजन समितिको बैठक बस्नेछ र सोहीअनुसार निर्णय हुनेछ ।’

पार्टी एकतासँगै प्रधानमन्त्रीका रूपमा केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् भने प्रचण्डले कार्यकारी प्रमुखका रूपमा एकीकृत पार्टीको नेतृत्व सम्हाल्नेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस