कर्मचारीलाई निर्देशन दिन्नँ, अनुरोध गर्छु : डोरमणि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कर्मचारीलाई निर्देशन दिन्नँ, अनुरोध गर्छु : डोरमणि


१ फाल्गुन २०७४, मंगलबार


काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पदभार ग्रहण गरेका छन् । मुलुक संघीय संरचनामा गएपछि पौडेल मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति हुन् ।

सोमबार बिहान साढे ९ बजे प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई पद तथा गोपनीयताको शपथ खुवाइन् । त्यसपछि पौडेल सभामुख, उपसभामुख, सांसद, सुरक्षा निकायका प्रमुखसहित सहिद स्मारक पुगी सहिदलाई माल्यार्पण गरे ।

मध्याह्न करिब १२ बजे तत्कालीन जिल्ला समन्वय समितिको दोस्रो तलामा पुगी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरे । ३६ वर्षे राजनीतिक जीवनमा मुख्यमन्त्री कार्यभार सम्हालेपछि पौडेल अत्यन्तै खुसी र प्रफुलित देखिन्थे ।

मुख्यमन्त्री पौडेलले प्रदेश ३ विकास र समृद्धिमा पहिलो हुुनुपर्ने बताएका छन् । ‘हामी पहिलो दिनदेखि नै पहिलो हुँदै आइरहेका छौँ,’ उनले भने, ‘हामीले सातै प्रदेशमध्ये पहिलो प्रदेश सभा अधिवेशनको प्रथम बैठक सम्पन्न ग(यौँ र अहिले मुख्यमन्त्री चयनसँगै सरकार गठनमा पहिलो भएका छौँ ।’

प्रदेशको समृद्धि, विकास र परिवर्तनमा पनि पहिलो हुन सकेमा १३ वटै जिल्लाका लागि आजैबाट आफ्नो जिम्मेवारी निर्वाह गर्न अघिबढ्नुपर्ने बताए । ‘विकास र समृद्धिका लागि म एक्लैले केही गर्न सक्ने अवस्था हुँदैन, सबैको साथ, सहयोग र सल्लाह महत्वपूर्ण रहन्छ,’ उनले भने, ‘मुख्यतः कर्मचारीहरूको भूमिका रहन्छ ।

तर, कर्मचारीबाट हुने जिम्मेवारी निर्वाह, योजना कार्यान्वयनका लागि कर्मचारीले गर्ने काममा सुरुवातमा म अनुरोध गर्छु, निर्देशन दिन्नँ ।’ अनुरोधलाई अटेर गरेर आफ्नो कर्तव्य पूरा नगर्ने र प्रदेशको समृद्धिका लागि जिम्मेवार नबने कडा निर्देशन दिन बाध्य हुने पौडेलले चेतावनी दिए ।

प्रदेश ३ सातवटा प्रदेशमध्ये शक्तिशाली, धेरै सम्भावना र विकासका पूर्वाधार भएकाले यसलाई आर्थिक उपार्जनसँग जोड्न कुनै समस्या नभएको प्रस्ट पारे । पौडेलले मुलुकको आर्थिक नीति गलत भएकाले औद्योगिक उत्पादन र बिक्रीमा गिरावट आएको बताए । हेटाँडामा बन्द भएका उद्योग सञ्चालना ल्याउने पौडेलले प्रतिबद्धता व्यक्त गरे । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस