कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोका छः प्रधानमन्त्री देउवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्णालीमा एमबिबिएस पढाइ भएको हेर्ने धोका छः प्रधानमन्त्री देउवा


प्रशासन विशेष ब्युरो

२८ माघ २०७४, आइतबार


सुर्खेत । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई प्रदेश नं ६ कै स्वास्थ्य क्षेत्रको गौरव भएको बताएका छन् ।

७५ करोड रुपैयाको बजेटमा निर्मित ३०० शय्याको प्रतिष्ठानको नवनिर्मित भवन आज उद्घाटन गर्दै देउवाले भौगोलिक रुपले विकट र पिछडिएको क्षेत्रमा निर्मित प्रतिष्ठानबाट स्वास्थ्य क्षेत्रमा समृद्धि आरम्भ हुने बताए ।

“जसरी स्थापनाकालदेखिको तीव्र गतिमा स्वास्थ्य सेवा, स्टाफ नर्स र स्वास्थ्य सहायकको शिक्षण सेवा प्रतिष्ठानले दिइरहेको छ, सोहीअनुसार प्रतिष्ठानले सिनेटमा पेस गरेका एमबिबिएस मिडवाइफेरीलगायतका बहुवर्षीय योजनाहरु छिटो अघि बढाउनुपर्छ,”–उनले भने ।

प्रधानमन्त्री देउवाले प्रतिष्ठानको एमबिबिएस कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार तत्काल अगाडि बढाउन स्वास्थ्य मन्त्रीलाई निर्देशन दिए ।

प्रतिष्ठानकोे सिनेट बैठकले असोज २६ गते पारित गरेको बजेट तत्काल उपलब्ध गराउने भन्दै उहाँले अस्पताल जस्ता पवित्र स्थान आगलागी भएको घटनाको अनुसन्धानमा तीव्रता दिने जनाए ।

हिमाली जिल्लामा चिकित्सा क्षेत्रमा देखिएको विशाल भवन कर्णालीमा उद्घाटन गर्न पाउँदा आफू खुशी भएको अभिव्यक्ति दिँदै प्रधानमन्त्री देउवाले अब यस क्षेत्रमा एमबिबिएस पढाइ भएको हेर्ने धोको रहेको बताए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री दिपक बोहराले ६ नं प्रदेशको स्वास्थ्यको राजधानी जुम्ला हुने र अन्य जिल्लामा यसका सेवाहरु प्रभावकारी रुपमा अगाडि बढाइने बताए। उनले प्रतिष्ठानमा मिर्गौला, क्यान्सर र स्पाइनल इञ्जुरीका सेवासमेत थप गर्ने संकल्प गरे ।

राष्ट्रिय योजना आयोगका सदस्य डा गीताभक्त जोशीले राज्यको बजेट बाँडफाँडमा योजना आयोगको नजरबाट कर्णालीमा स्थापित प्रतिष्ठान प्रथामिकतामा पर्ने विश्वास दिलाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानबाट यहाँ डाक्टर पढ्न आउने र स्वास्थ्य पर्यटकीय क्षेत्रको ‘हब’ बनाउने योजना रहेको उनको भनाइ थियो ।

प्रतिष्ठान पहल समितिका संयोजक तथा प्रदेश सांसद नरेश भण्डारीले हवाई जहाज कुर्दै गर्दा मृत्युको मुखमा जान बाध्य यहाँका नागरिकले स्वास्थ्य क्षेत्रमा न्याय पाएको बताए । उनले भावुक हुँदै भने, “मेरो आमाको पनि जहाजमै निधन भएको थियो । त्यही घटनाले पिरोलिरहेको अवस्थामा २०६४ सालमा जुम्लाको जनप्रतिनिधि भएको बेला सबैको सहयोगमा प्रतिष्ठान स्थापना भयो ।”

प्रतिष्ठानका उपकुलपति डा राजेन्द्रराज वाग्लेले प्रतिष्ठान सञ्चालनमा सबैको सहयोगको आवश्यकता रहेको औंल्याए ।

अस्पताल निर्देशक धर्मराज गोसाईले अहिले २५ विशेषज्ञ र १४ एमबिबिएस डाक्टर प्रतिष्ठानमा कार्यरत रहेको जनाउँदै प्रदेश नं ६ का १० जिल्ला र प्रदेश नं ७ का तीन जिल्लामा स्वास्थ्य सेवा विस्तार गरिएको बताए ।

चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रतिष्ठानद्वारा प्रकाशित ‘जर्नल अफ कर्णाली एकेडेमी अफ हेल्थ साइन्स’ पुस्तकको पनि विमोचन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस