प्रदेश २ : राजधानीभन्दा भाषा विवाद पेचिलो « प्रशासन
Logo १० जेष्ठ २०७९, मंगलबार
   

प्रदेश २ : राजधानीभन्दा भाषा विवाद पेचिलो


२७ माघ २०७४, शनिबार


जनकपुरधाम । भाषा, संस्कृति र भौगोलिक संरचनाअनुसार प्रदेश २ खाँटी मधेस हो । आफ्नै भाषा, संस्कृति र भौगोलिक पहिचान स्थापनाका क्रममा मधेसमा दशक लामो आन्दोलन भयो । मुलुक संघीयतामा गएपछि राज्यविरुद्धको आन्दोलन त विसर्जन भयो तर प्रदेशभित्रै नयाँ आन्दोलनको बिरुवा उम्रिँदैछ । त्यो हो भाषा विवाद।

मिथिला प्रदेशको माग उचालेर सामाजिक आन्दोलन सुरु गर्ने पक्ष र पहिचानवादी दलहरुबीच भाषा विवाद बढ्दैछ । अन्तरिम संविधान २०६३ मा संघीयता शब्द उल्लेख गराउन मधेस आन्दोलन सुरु भएको थियो । सँगसँगै सक्रिय भएको मिथिला आन्दोलन यतिबेला तिनै संघीयताको जन्म दिने दलहरुसँग टक्कर लिन थालेपछि मधेसकै समाज विभाजित हुन थालेको छ।

गत आइतबार प्रदेशसभाको पहिलो बैठकमा पहिचानवादी दलका प्रतिनिधिले हिन्दी भाषामा सम्बोधन गरे। लगत्तै त्यसको विरोधमा स्थानीय युवाले जनकपुरमा आगो बाले । हिन्दी बोल्ने नेताहरुको पुतला जलाए । मधेस केन्द्रित दलहरुले उनीहरुको विरोधलाई पराजित मानसिकताको संज्ञा दिए भने मैथिली अभियन्ताहरुले मिथिला आन्दोलनको सफलता भन्दै खुसी मनाए।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले हिन्दीको विरोध गर्नुको तुक नभएको बताए। ‘समग्र मधेसको सम्पर्क भाषा हिन्दीमात्र हुन सक्छ । हिन्दी भाषा प्रयोग गरेकै कारण विरोध गर्नुको कुनै तुक र सन्दर्भ मैले देखेको छैन,’ यादवले भने । उनका अनुसार प्रदेश २ का मैथिली, बज्जिका, अवधी र भोजपुरी भाषीलाई जोड्ने हिन्दी नै हो।

मिथिला राज्य संघर्ष समितिका संयोजकसमेत रहेका मिथिला आन्दोलनका अगुवा परमेश्वर कापरीले भने मैथिली भाषाको विकल्पमा हिन्दी अघि सार्नु गलत भएको बताए । ‘नेपालकै सबैभन्दा पुरानो र समृद्ध भाषा मैथिली हो । त्यसैले मैथिली भाषाको विकल्प खोज्नु पहिचानविरोधी कुरो हो,’ उनले भने । कापरीले पहिचानवादी आन्दोलनको अगुवाइ गर्ने पक्षबाटै मैथिली भाषा कमजोर बनाउन खोजिएको भन्दै आपत्ति जनाए।

जनआन्दोलन २०६२/६३ का क्रममा जनकपुर आएका तत्कालीन शीर्ष नेताहरु गिरिजाप्रसाद कोइराला, माधव नेपाललगायतलाई मैथिली अभियन्ताहरुले मिथिला राज्य स्थापनाको मुद्दा उठाउन ज्ञापनपत्र बुझाएका थिए। त्रिवि मैथिली विभागका अध्यक्षसमेत रहेका कापरीकै अगुवाइमा सात वर्षअघि सुरु भएको आन्दोलनमा पाँचजनाको ज्यान गयो।

पहिलो संविधानसभाले राज्य पुनर्संरचनाको अभ्यास गरिरहँदा प्रदेशको नाम मिथिला र कामकाजको भाषा मैथिली हुनुपर्ने माग राख्दै जनकपुरमा सुरु गरिएको शान्तिपूर्ण धर्ना कार्यक्रममा बम विस्फोट भयो । पाँचजनाको घटनास्थलमै मृत्यु भयो।

उक्त आन्दोलनमा तत्कालीन एमालेका नेताहरु रामचन्द्र झा, शीतल झा र स्थानीय करिब डेढ दर्जन सामाजिक संघसंस्था सहभागी थिए।

उक्त घटनापछि बर्सेनि सहिदको तस्बिरमा माल्यार्पण कार्यक्रमलाई निरन्तरता दिए पनि ती अभियन्ताहरु खासै सक्रिय देखिँदैनन् । उनीहरुले स्वरुप बदलिए पनि आन्दोलन अझै जारी रहेको दाबी गरेका छन् । ‘पहिलो प्रदेशसभा बैठकमा मैथिली भाषालाई नियोजित रुपमै कमजोर बनाउने उद्देश्यले हिन्दी बोल्ने सांसदहरुको पुतलादहन भयो । त्यो हाम्रै आन्दोलनको एक ‘पार्ट’ हो’, कापरीले नागरिकसँग भने, ‘आन्दोलनले कहिले गति तीव्र बनाउने र कहिले धिमा हुने मात्रै हो । मिसन पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।’

प्रदेशसभाको अधिवेशन सुरु भएको छ । सभामुख निर्वाचनको मिति घोषणा भइसकेको छ । त्यसलगत्तै प्रदेश सरकार गठन गर्ने, स्थायी राजधानीको टुंगो लगाउने, प्रदेशको नामकरण गर्ने तथा प्रदेश सरकारको कामकाजको भाषा तय गर्नेलगायत औपचारिक निर्णय हुनेछन्।

यस्तो बेला मैथिली अभियन्ता, हिन्दी भाषाका प्रचारक, भोजपुरी तथा बज्जिका भाषीका अगुवालगायतले आआफ्नो तर्क पेस गर्नु स्वाभाविक हो। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस