लाभ्रेकिरा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लाभ्रेकिरा


२७ माघ २०७४, शनिबार


लाभ्रेकिराले सधैं सतायो हाम्रो खेतीमा–बाजेको पालादेखि म नातिकै पालासम्म । अझै कति पुस्ता सताउने हुन् पत्तो छैन ।

लाभ्रे समय अनुसार बदलिँदै गएका थिए । तर चाहे बाजेको पालाका हुन्, चाहे मेरा पालाका । तिनिहरूको साझा विषेशता के थियो भने दुःखले उब्जाएको बाली बर्बाद पार्थे ।

समय अनुसार आकार–प्रकार र छाँटकाँटमा पनि फरक हुँदै गएको थियो लाभ्रेको । बाजेको पालाका लाभ्रेकिरा खबटे, खिरिला, झुसिला थिए रे । ‘बुझिस् बाबू, हाम्रा पालाका लाभ्रे कहाँ अहिलेका जस्ता हुन् र ! तिनको त साइजै सानो थियो, खुराकै सानो थियो । हेर, दुईहजार सात सालमा खेत वरिपरिको झाडी पुरै फाँडेपछि केही समय त लाभ्रे मासियो । तर के गर्नु, फेरि केही बर्षमै उब्जिपो हाले ।’ हजुरबाले भन्नुभएको थियो ।

बाको कुरामा प्रसंग जोड्दै बाले भन्नुभएको थियो । हेर, कान्छा, त्यो त उहिलेका कुरा । अस्ति छयालिस सालसम्म अर्का खालका पहेँला डमक्क परेका लाभ्रेले दुख दिन्थे । जे पर्ला त भनेर खेतैभरि डँढेलो लाएपछि भुसुक्क त भएतानी, तर के गर्नु, फेरि बिस्तारै झन् सप्रिएर पो निस्किए, रङ्गै बदलेर, निला न निला !

‘अनि फेरी बैसठ्ठी सालतिर पनि त लाभ्रेकिरालाई बिषादी छर्केर निमिट्यान्न पारेको हैन बा ?’ मैले जिज्ञासा राखेको थिएँ ।

‘त्यो त तँ पनि त सम्झिन्छस् होला नि । हेर्न कस्ता खालका लाभ्रे निस्किए त्यसपछि, राता न राता, किर्नाजस्ता ढाडिएका ।’

मैले खेतीपाती सम्हालेदेखि भोगेका यिनै राता किर्नाहरू थिए । म सोचिरहेथें, कसरी नाशु यी राता लाभ्रेलाई ।

‘हजुरबा, तपाईँले त सबै खालका लाभ्रेकिरा देख्नुभो । तपाईँका पालाका र अचेलका लाभ्रेमा खास फरक ?’ मैले सोधेँ ।

निकै बेर सोचेर हजुरबाले भन्नुभो– ‘हेर कान्छा, पहिलाकाले पात मात्र खान्थे । अचेल त हेर्न, जरै पो ठुट्टै पार्छन् त !’

Tags :
प्रतिक्रिया दिनुहोस