ट्यांकर त्रिशूलीमा खस्दा चालक च्यापिए, सहचालक बेपत्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ट्यांकर त्रिशूलीमा खस्दा चालक च्यापिए, सहचालक बेपत्ता


२५ माघ २०७४, बिहिबार


बस दुर्घटना

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटनजिकै दूध बोकेको ट्यांकर त्रिशूली नदीमा खस्दा चालक गाडीमा च्यापिएका छन् भने सहचालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार कोहलपुरबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ६९५३ नंको ट्यांकर त्रिशूलीमा खसेको हो । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ७ ख ४३१४ नंको कन्टेनरको ठक्करबाट दूधको ट्यांकर नदीमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्यांकरको केही भाग मात्र पानीबाहिर देखिएको छ भने अन्य भाग पूरै डुबेको छ । चालक गाडीभित्र च्यापिएको देखिए पनि सहचालक भने देखिएका छैनन् ।

उद्धारका लागि कुरिनटारबाट सशस्त्र प्रहरी र भरतपुरबाट क्रेनसहितको प्रहरी टोली घटनास्थलतर्फ गएको उनले बताए । आज बिहान ६ः१३ बजे मात्र प्रहरीले घटनाबारे जानकारी पाएको र घटना कति बेला भयो भन्ने यकिन भएको छैन ।

चालक र सहचालकको नाम खुल्न सकेको छैन । प्रहरीले दुवैको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस