पृथ्वीको किड्नीः दिगो शहरको भविष्य « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पृथ्वीको किड्नीः दिगो शहरको भविष्य


२५ माघ २०७४, बिहिबार


फेबु्रअरी २ अर्थात् विश्व सिमसार दिवस । यो दिवस प्रत्येक वर्ष झै यस वर्ष पनि नेपाल लगायत विश्वभर नै मनाईयो । ईरान देशको रामसार भन्ने शहरमा सन् १९७१ को फेव्रुअरी २ मा सिमसार सम्वन्धि सम्मेलन भएको दिनलाई नै विश्व सिमसार दिवस मनाउने परम्परा छ । विश्व सिमसार दिवसको अवसरमा रामसार कन्भेन्सन अन वेटल्यान्डको स्ट्यान्डिङ्ग कमिटीले प्रत्येक वर्ष एउटा एउटा नारा तोक्ने चलन छ । जस अनुरुप यस वर्ष अर्थात् सन् २०१८ को नारा वेटल्यान्ड फर अ सस्टेनेवल अरवन फ्यूचर भनी तोकेको छ । साच्चै उक्त नाराको थिम हाम्रो देश नेपालको लागि अत्यन्तै उपयुक्त देखिन्छ । किनभने नेपाल गाउँ शहरहरुको देश हो ।

नेपालका गाउँ शहरहरुमा प्रशस्तै सिमसारहरु छन् । र, यस वर्षका नाराले शहरका सिमसार क्षेत्रहरुले शहरहरुको भविश्य दिगो बनाउन कसरी योगदान गर्दछ भन्ने कुराको बारेमा जनचेतना बढाउने लक्ष्य लिएको हो । वास्तवमा भन्न हो भने शहरी सिमसारले शहरमा बस्ने व्यक्तिहरुको बसाईलाई व्यवस्थित बनाउन विभिन्न तरीकाले आफ्नो भूमिका खेलिरहेको हुन्छ । सिमसार दिवसको उपलक्ष्यमा सिमसार क्षेत्र र सोमा आधारीत जैविक विविधताको संरक्षण, व्यवस्थापन गर्न तथा सिमसारको महत्व, मूल्यका बारेमा जनमानसमा सुसुचित गर्न उक्त दिवसले अभिप्ररित गर्ने गर्दछ । यस दिवसले स्वस्थ्य सिमसार कसरी बनाउने, यसको संरक्षण कसरी गर्ने भन्ने बारे विभिन्न क्रियाकलापहरु कार्यान्वयन गर्दछ ।

१० अप्रील १९८८ मा नेपालमा यो वेटल्यान्ड कन्भेन्सन लागु भएको हो । रामसार कम्नेन्सनले सिमसार क्षेत्रहरुको संरक्षण, वैज्ञानिक व्यवस्थापन गर्न प्राविधिक, आर्थिक, नीतिगत सहयोग गर्ने गर्दछन् । नेपालमा जम्मा १० वटा सिमसार क्षेत्रहरु अन्तर्राष्ट्रिय महत्वका सिमसारहरु भनी सुचित भएका छन् । जसले जम्मा ६० हजार ५६१ हेक्टर क्षेत्र ओगटेका छन् । जसको करीव ५१ प्रतिशत कोशिटापु वन्यजन्तु आरक्षको सिमसारले मात्रै ओगटेको छ । विश्वमा सवैभन्दा पहिला सन् १९७४ मा अष्ट्रेलियाको कोवोर्ज पेनिनसुलामा सिमसारक्षेत्र सुचिकृत भएको थियो । र, सबै भन्दा ठूलो सुचिकृत सिमसार डेमोक्रेटिक रिपब्लिक अफ कम्बोमा छ जसको नाम नाईरी तुम्वा मन्डोम्वे हो जसको क्षेत्रफल ६० हजार वर्ग किलो मिटर रहेको छ ।

नेपालको सिमसार नीति २०६९ अनुसार जमेको वा बगेको स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्रलाई सिमसार भनेर परिभाषित गरेको छ । नेपालको क्षेत्रफलको करिब ५ प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको देखिन्छ जसको क्षेत्रफल ७ लाख ५० अजार हेकटर रहेको छ ।

सिमसार क्षेत्रले पानी संचित गर्दछ । पानी जीवनको आधार मानिन्छ । सिमसारभित्र जल परिचालन र शुद्धीकरण प्रक्रिया निरन्तर चलिरहने हुनाले यसलाई पृथ्वीको मृगौला (किड्नी) भनेर चिनिन्छ । शहरमा रहेका सिमसार क्षेत्रहरुले बाढी रोक्ने, वर्षाको पानी संचित गर्ने, पिउने पानीको भण्डारण गर्ने, फोहरमैलाहरुलाई पिल्टर गर्ने, शहरी हरीयालि कायम गर्नुका साथे जिविकोपार्जनमा समेत मद्दत गर्दछ । सिमसारक्षेत्र जहाँ जैविकविविधताको प्रचुर भण्डारण क्षेत्र हो । विभिन्न प्रजातिका वाटरफाउल, चराहरु, कीटपतङ्ग, माछा, वनस्पतिहरु, जनावरहरु, पुतलिहरु, आदीको वास्थान हो सिमसार ।

यसले वातावरणीय सेवाहरु प्रदान गर्दछ । जसबाट गरीव जनताहरुको स्वास्थ्य, पिउने पानीको आवश्यकता पूर्ती गर्ने मात्र होइन सिंगो देशको आर्थिक, सामाजिक, साँस्कृतिक, धार्मिक, वातावरणीय, पर्यावरणीय, पारस्थितिकीय प्रणाली विकासमा भूमिका खेल्दछ । देशको १७ प्रतिशत जनसंख्या सिमसारमा निर्भर समुदाय छन् भने सो मध्ये करिब ९० प्रतिशत तराईमा रहेको कुरा एक तथ्यले बताउँदछ ।

सिमसार अत्यन्त उत्पादनशील पारिस्थिकीय प्रणाली हो । पारिस्थिकीय प्रणालीमा अनगिन्ती संख्यामा जीवाणु, वनस्पति, उभयचर, घस्रने प्राणि, चरा, माछा, र स्तनधारी जीवहरु पाइन्छन् । सिमसारमा वनस्पति र जनावरको उच्चतम विविधता पाईन्छ । जमीनमा बग्ने सतहको भल सिमसारमा मिसिएपछि त्यसबाट बगाएर ल्याएको रासायनिक पौष्टिक तत्वहरु समेत सिमसारले सोसेर लिन्छ । यसले गर्दा शुद्धीकरण्ण हुनुको साथै माछा लगायतका जलचरलाई प्रशस्त आहार प्राप्त हुन्छ ।

नेपालमा ५ हजार ३ सय ५८ वटा तालहरु, ३ हजार २ सय ५२ वटा हिमनदीहरु, २ हजार ३ सय २३ वटा हिमतालहरु, १ हजार ३ सय ८० वटा जलाधारहरु, ५ हजार १ सय ८३ वटा पोखरीहरु रहेको एक प्रतिवेदनले देखाएको छ । भास्कुलर वनस्पतिको ७ हजार प्रजाति मध्ये २५ प्रतिशत प्रजाति सिमसारमा निर्भर छन् । ९८ प्रजातिका रुखहरु, ६७ प्रजातिका झाडिहरु, ६८ प्रजातिका लहराहरु, ४८७ प्रजातिका हब्र्सहरु, ७ प्रजातिका एलियन तथा इन्भेसिभ प्रजातिहरु तराईका सिमसार क्षेत्रमा मात्रै पाइन्छन् । २६ प्रजातिका इन्डेमिक प्रजातिका वनस्पत्तिहरु, २०० प्रजातिका चराहरु सिमसार क्षेत्रमा पाइन्छन् । नेपालमा उच्च पहाडी क्षेत्रमा ७८, मध्य पहाडी क्ष्ोत्रमा ८६ र तराईमा १६३ वटा गरी जम्मा ३२७ ताल तथा सिमसार क्षेत्र छन् ।

शहरी सिमसारक्षेत्रले पर्यापर्यटनमा लागि उपयुक्त क्षेत्रको रुपमा चिनिन्छ । जसबाट गाउँ शहरको स्थानीय जनताहरुलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा पु¥याइरहेका हुन्छन् । शहरमा रहेका सिमसार क्षेत्रमा माछापालन समेतबाट स्थानीय निकायको राजश्वमा वृद्धि हुने सम्भावना पनि उतिकै देखिन्छ । सिमसारक्षेत्र आर्थिक, सामाजिक विकासको लागि उत्तम स्रोतको रुपमा पहिचान भएको छ ।

कोलम्बिया विश्वविद्यालयले हालै प्रकाशित गरेको वातावरणीय स्वच्छता सुचाङ्क प्रतिवेदन, २०१८ अनुसार नेपालमा वायुको गुणस्तर अध्ययन गरेका १ सय ८० देशहरुमा १ सय ७६ औं खराव स्थानमा छ । अतः वातावरणीय सेवा वाफत भूक्तानीका अवसर पनि उतिकै छ, शहरी सिमसारको । प्रदुषित हावालाई सफा, स्वच्छ पार्ने काम गर्दछ । मानिसको स्वास्थ राम्रो भई यसले जिविकोपार्जनका सम्भावनाहरु बोकेका हुन्छन् । परिणामस्वरुप गाउँ शहरका जनताको गरिवी अनुहार परिवर्तन गरी सम्पूर्ण देशलाई नै समृद्धिको दिशामा डो¥याउने महत्व राख्दछन, शहरी सिमसार ।

शहरी सिमसार क्षेत्र वेष्टल्यान्ड नभई प्राइज्ड ल्यान्ड हो । पोखराको तालहरु, घोडाघोडी ताल, वीसहजारी ताल, कोशिटापु क्षेत्र आदीमा पाइने चराहरु स्वदेशी तथा विदेशी पर्यटकहरुको लागि आकर्षणका केन्द्र सावित भएका छन् । नेपालमा साना ठूला गरी करिव ६ हजार नदीहरु छन् । ठूला नदीहरुमा ¥याफ्टिङ पर्यटक भित्रयाउने आधार बनेका छन् । विभिन्न ताल तलैया, पोखरीहरुमा माछा मारेर गुजारा चलाउने मछवाराहरुको जिविकोपार्जनको स्रोत रहेका छन् । केन्द्रिय तथ्यांक विभागको २००३ को प्रतिवेदन अनुसार नेपालमा २२ हजार २०५ वटा पोखरीबाट लगभग ३५ हजार मेट्रिक टन माछा उत्पादन भएको रेकर्ड छ ।

नेपालमा सिमसार क्षेत्र अत्याधिक उपयोगका कारण बिग्रदै गएको छ । यो अत्याधिक चरण, जडीबुटी संकलन, पानीको प्रयोग र आवश्यक्ता भन्दा बढी दोहन, प्रदुषणग्रस्त, धार्मिक एवं पर्व मेलापातमा तीर्थालुहरुले जथाभावी पूजा सामग्री विसर्जन गर्नु, वरपरका खेतमा रासायनिक मल तथा विषादी प्रयोगले सिमसार दुषित बन्दै गएको छ । भूमि अतिक्रमण, अवैज्ञानिक शहरीकरण, औद्योगिकरणले सिमसार क्षेत्र घटदै गएको छ । अव्यवस्थित फोहर विसर्जन, जग्गा खण्डिकरण, प्राकृतिक सिमसारमा आधुनिकिकरण, भूक्षय, पहिरोले सिमसारक्षेत्रमा बगेर थुप्रिदै जाने ग्रेगर, ढुङ्गामाटो, वालुवाले यसको हैसियत दिनानुदिन बिग्रदै गएको छ । मनाङको तिलिचो ताल र तराईका थुप्रै पोखरीहरु भूक्षयले गर्दा व्यवस्थापकीय चुनौति हाम्रो सामु त छ नै ।

वातावरणीय गुण्स्तर कायम राख्न, खाद्य सुरक्षाको चुनौति सुनिश्चितता गर्नका लागि सिमसार क्षेत्रमा प्रचुर सम्भावना रहेको हामी सहमत हुनै पर्दछ । तसर्थ गाउँ शहरमा रहेका सिमसार क्षेत्रहरुको व्यवस्थापन गर्न समपूर्ण सरोकारवालाहरुको सहभागितात्मक तथा एकिकृत व्यवस्थापन योजना लागु गर्न अनिवार्यताको खाँचो अझै पनि महशुस भएको देखिन्छ । सिमसार क्षेत्रमा रहेका प्राकृतिक स्रोतहरुको दिगो एवं समुचित उपयोग गर्न सबै सरोकारवालाहरु सैद्धान्तिक रुपले मात्रै मतैक्यता भएर हँुदैन । यस विषयमा गम्भिर भई सक्रियरुपले समर्पित हुनै पर्दछ । वहुसरोकारवालाहरुको सहभागिता आजको आवश्यकता हो भन्ने पंक्तिकारको ठम्याई छ । साथै गाउँ शहरका स्थानीय जनताहरुलाई सिमसार क्षेत्र संरक्षण एवं दिगो व्यवस्थापन गर्नका लागि अझै शसक्त बनाई जनचेतना स्तरवृद्धि गर्न उपयुक्त नीति, योजना, कार्यक्रम गाउँ शहर स्तरमै कार्यान्वयन गर्न जरुरी देखिन्छ ।

हाल विश्वका करिव ४ अरब मानिसहरु अर्थात विश्को आधा जनसंख्या शहरमा बसोवास गर्दछन् । नेपाल लगायत विश्वभरी नै शहरीकरण तिव्ररुपमा बढदै छ । स्थानिय, प्रदेश र संघ तीन तह गरी देशमा संघात्मक मोडल लागु भएको छ । ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका, ४ सय ६० गाउपालिका गरी जम्मा जम्मी ६ हजार ७ सय ४३ वडाहरु भएका छन् हाम्रो दशमा । सिमित स्रोतमा बढिरहेका शहरी जनताहरु भविष्यमा कसरी स्वस्थ्यरुपले बाँच्दछन भन्ने चिन्ताको विषय बनेको छ । जब शहरमा जनसंख्या बढछ, जग्गाको माग बढछ, जब जग्गाको माग बढछ, सिमसारक्षेत्र संकुचित हुदै जान्छ र अन्तमा सिमसार क्षेत्र घट्दै जान्छ । दीगो शहरको भविष्य प्रति हामी सबै एक चोटी सोच्नै पर्दछ । तब मात्र शहरी सिमसार क्षेत्रहरु स्थानिय, प्रदेश र सिंगो देशको आर्थिक समृद्धिको आधार सावित हुन सक्दछ । निश्चितरुपले बढदो शहरी जनसंख्यालाई व्यवस्थापन गर्न शहरी योजनाकार तथा व्यवस्थापकहरुको टाउको दुखाईको विषय बनेको छ । तसर्थ, हाम्रो देश नेपालमा पनि आजका शहरीक्षेत्रहरु पर्याप्त आवास, यातायात, पानीका सुविधाहरु मात्रै होइन स्वस्थ, सुरक्षित, वातावरणमैत्रि छन् भन्ने कुरा सफल शहरी योजनाकारले सुनिश्चित गर्न सक्नु पर्दछ । शहरी सिमसार समेतमा आधारीत शहरी योजनाहरु निमार्ण गरी कार्यान्वयन गर्नुपर्दछ । अनिमात्र शहरहरुको भविष्य दीगो बन्न सफल हुन्छ ।

महतो वन विभाग, बबरमहल, काठमाण्डौमा सहायक वन अधिकृतका रुपमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस