आठ महिनापछि भारतीय रेलमार्गमा जोडिँदै नेपाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आठ महिनापछि भारतीय रेलमार्गमा जोडिँदै नेपाल


२४ माघ २०७४, बुधबार


काठमाडौं । अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ । जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ । जयनगरबाट प्रदेश २ को राजधानी जनकपुरधामको दूरी जम्मा २९ किलोमिटर छ ।

रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) रेल्वे लाइन निर्माणको काम जारी रहेको बताए । ‘भारतले आगामी अक्टोबरमा पहिलो खण्ड सरकारलाई बुझाउँदै छ, त्यो भनेको रेल कुद्ने अवस्था हो,’ उनले भने ।

ओझाका अनुसार जयनगरदेखि बर्दिबाससम्म ७९ किलोमिटर लम्बाइको रेल्वे मार्ग तीन खण्डमा बन्दै छ । जयनगरदेखि कुर्थासम्मको पहिलोे खण्डअन्तर्गत ३४ किलोमिटर आगामी कात्तिकमा निर्माण सम्पन्न हुनेछ । सन् २०१९ मा कुर्थादेखि भंगाहा (बिजलपुरा) सम्म १८ किलोमिटर रेल्वे मार्ग निर्माण सम्पन्न हुनेछ । बिजलपुराबाट बर्दिबाससम्मको १७ किलोमिटर रेल्वे मार्ग सम्पन्न हुन थप तीन वर्ष लाग्ने अनुमान छ ।

इन्जिनियर ओझाका अनुसार अहिले जयनगरदेखि भँगाहासम्म ५२ किलोमिटर रेल्वे मार्गमा काम चलिरहेको छ । भँगाहादेखि बर्दिबास खण्डमा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । जयनगरवारि इनरवादेखि भँगाहाम्म ९० प्रतिशतले मुआब्जा पाइसकेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले करिब ३१ करोड रुपैयाँ जग्गा अधिग्रहणमा खर्च गरेको छ ।

‘आगामी अक्टोबर ९कात्तिक० सम्म जयनगरदेखि कुर्थासम्म रेल गुड्न सक्ने अवस्थामा रेल्वे लाइन बिछ्याउने काम सम्पन्न हुन्छ । भारतले सिभिल कन्स्ट्रक्सनको काम सकेर नेपाललाई रेल्वे लाइन हस्तान्तरण गर्नेछ,’ इन्जिनियर ओझाले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस