चिया खेतीमा रमाउँदै सिडियो « प्रशासन
Logo ३ जेष्ठ २०७९, मंगलबार
   

चिया खेतीमा रमाउँदै सिडियो


२३ माघ २०७४, मंगलबार


भोजपुर । काम गर्दा सानो होइन्छ या ठूला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा एक पूर्व प्रमुख जिल्ला अधिकारी(सिडियो) उदाहरणीय व्यक्ति बनेका छन् ।

सिडिओ भएर विभिन्न जिल्लामा काम गरेका र हाल अवकाश प्राप्त भोजपुरको रामप्रसाद राई गाउँपालिकाको होम्तोकका गणेश राईले सहकारी संस्थामार्फत एक हजार रोपनी जग्गामा व्यावसायिक चिया खेती विस्तार गर्न थालेका छन् ।

काठमाडौं महानगरमा प्रमुखको रुपमा समेत सेवा गरिसकेका पूर्वसहसचिव राईको आजभोलि अधिकांश समय चियाको बिरुवा विस्तार, हेरचाह, कर्मचारी व्यवस्थापनलगायतमा दिन बित्ने गरेको छ । निजामतीमा लामो समय खर्चिएका राईले कृषि पेशालाई सम्मानजनक पेशाका रूपमा विकास गर्न चाहेका छन् ।

राईले कृषि सहकारी संस्थामार्फत दुई करोड स्थीर पूँजीसहित कूल तीन करोडको लगानीमा यो कार्यको शुरुवात गरेका हुन् । नेपाली युवा रोजगारीको खोजीमा दिन प्रतिदिन विदेश गइरहेका बेला नेपालमै बसेर केही गर्न सकिन्छ भन्ने हिम्मतका साथ कृषिमा लागेको उनको भनाइ छ ।

खाद्यान्न बालीबाट भन्दा चिया खेतीबाट धेरै आम्दानी लिन सकिने राईले बताए । थामडाँडा टेम्के कृषि सहकारी संस्था लिको हाल अध्यक्ष रहेका राईले आफूसँगै १३ जनालाई रोजगारसमेत दिएका छन् ।

सहकारीका ओख्रे बगान, बतासे चिया नर्सरी, भन्ज्याङखर्क चिया बगान, भस्मेचौर चिया नर्सरी, चखेवा चिया बगान, कुइभिर चिया बगानलगायत १६ वटा बगानमा छ लाख चियाको बिरुवा विस्तार गरेको बताउँदै राईले भने अझै बिरुवा विस्तार गर्ने सोचमा छु ।

यो कृषि सहकारीलाई अर्थोडक्स चिया प्रशोधन कारखाना स्थापना तथा चिया खेतीको व्यावसायिकतामा जोड दिन उन्नति समावेशी वृद्धि कार्यक्रमले समेत आर्थिक सहयोग गरेको छ । राईले उन्नति कार्यक्रमसँगको सहकार्यमा चिया खेतीसम्बन्धी ७१ जना सदस्यलाई तालीमसमेत दिइसकेका छन् ।

भोजपुरमा पछिल्लो समय उनको उदाहरणीय कार्यलाई देखेर धेरै युवा कृषि व्यवसायतिर आकर्षित हुन थालेका छन् । राई सहकारीका साथै नेपाली कांग्रेसको राजनीतिमा समेत आबद्ध रहँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस