बहुरंगी संसद् « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बहुरंगी संसद्


२२ माघ २०७४, सोमबार


जनकपुरधाम । जनकपुर–१२ को कुवारामपुरस्थित प्रदेशसभा बैठक कक्षमा बिहान १० बजेदेखि नै सांसदहरू आआफ्नो पहिचान झल्किने विभिन्न भेषभूषामा पुगिसकेका थिए । कोही धोतीकुर्ता, कोही कुर्तापाइजामा, गम्छा लगाएका थिए, कोहीचाहिँ कोटपाइन्टमै थिए । बैठककक्षभित्र प्रवेश गर्नुअघि दलका नेत्रीले फूलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।

अर्को अनौठो दृश्य त के देखियो भने, संसद्भित्र सेतो दौरा सुरुवाल र कालो कोटमा सजिने मर्यादापालक पनि ‘फर्मल ड्रेस’ मा उपस्थित भएका थिए । सर्वदलीय बैठकको निर्णयअनुसार उनीहरू सफारी सुट र कोट पाइन्टमै उपस्थित भएका हुन् । महिला मर्यादापालकचाहिँ आफूखुसी कुर्तासुरुवाल र स्विटरमा थिए ।

मर्यादापालकलाई औपचारिक पोशाक प्रयोग गर्नबाट रोकिएको थियो । महिला मर्यादापालक भनी चिनाउन छातीमा बिल्ला लगाइएको थियो । केन्द्रीय संसद्मा लगाइने दौरासुरुवाल, टोपी प्रदेशसभामा ‘निषेध’ गरिएको थियो ।

सभामुखको आसनबाट प्रदेशसभाका जेठा सांसद एमालेका लगनलाल चौधरीले नेपाली भाषाबाटै बैठकको कारवाही सुरु गरे । बैठकको प्रारम्भमै सभामुख चौधरीले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थद्वारा अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । उनीबाहेक सभामा बोल्ने कुनै सदस्यले पनि नेपाली भाषा प्रयोग गरेनन् । कांग्रेसका रामसरोज यादव, एमालेका सांसदद्वय सत्यनारायण मण्डल र शत्रुघ्न महतो, र माओवादी केन्द्रका सांसद भारत साहले मैथिली भाषामा सम्बोधन गरे ।

संघीय फोरमका लालबाबु राउत, राजपाका जितेन्द्र सोनार, संघीय समाजवादी पार्टीका सावित्रीदेवी साह र स्वतन्त्र उम्मेदवार शेख अब्दुल कलाम आजादले हिन्दी भाषा रोजे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस