प्रदेश– ३ – मुख्यमन्त्रीमा कसले मार्ला बाजी ? « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्रदेश– ३ – मुख्यमन्त्रीमा कसले मार्ला बाजी ?


१९ माघ २०७४, शुक्रबार


हेटौंडा – यही माघ २७ मा सभामुख चयन गर्ने घोषणा गर्दै प्रदेश नम्बर ३ को पहिलो बैठक बिहीबार सम्पन्न भएको छ । एमाले सबैभन्दा ठूलो दल रहेको यस प्रदेशमा सोही पार्टीबाट सभामुख चुनिँदैछन् ।

‘सभामुख म हुन्छु’ भनेर अहिलेसम्म कसैले मुख खोलेका छैनन् तर मुख्यमन्त्रीमा दाबी गर्ने भने एमालेभित्रबाट चारजना देखिएका छन् । वाम गठबन्धन (एमाले र माओवादी) मा प्रदेश नम्बर १, ३, ४ र ५ मा एमालेले मुख्यमन्त्री लिने सहमति भएको छ ।

एमाले सांसद अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीको प्रमुख दाबेदारका रुपमा देखिएकी छिन् । काठमाडौं निर्वाचन क्षेत्र नं ८ (ख) बाट विजयी शाक्यले बिहीबार बसेको संसद्को पहिलो बैठकमा पार्टीतर्फबाट सम्बोधन गरिन् । तर, उनलाई सजिलै मुख्यमन्त्री बन्न सम्भव छैन अरु नेताले पनि यो पदमा दाबी गर्दै आएका छन् । मुख्यमन्त्री दाबी गर्ने अन्य नेतामा धादिङ निर्वाचन क्षेत्र नं १ (क) बाट विजयी राजेन्द्र पाण्डे पनि छन् । त्यस्तै काठमाडौं क्षेत्र नं ७ (क) बाट विजयी केशव स्थापित पनि संसद् बैठकस्थल परिसरमा पत्रकारसँग आफू मुख्यमन्त्री हुने भन्दै थिए । दोलखाबाट प्रदेशसभा सदस्यमा प्रतिनिधित्व गरेका पशुपति चौलागाई पनि मुख्यमन्त्रीका अर्का दाबेदार देखिए । ज्येष्ठ सदस्य हैसियतमा प्रदेशसभा बैठकको अध्यक्षता गरेका मकवानपुरबाट विजयी डोरमणि पौडेल पनि मुख्यमन्त्रीको चाहना राख्नेमध्ये पर्छन् ।

‘महिला मुख्यमन्त्री बन्ने सम्भावना यो ३ नम्बर प्रदेशबाहेक अन्यत्र छैन । त्यसैले स्वाभाविक रुपमा मेरो दाबी छ । मुख्यमन्त्री मनै हुनेछु’, प्रदेशसभा बैठकस्थलमा पत्रकारसँग कुरा गर्दै शाक्यले भनिन् । त्यस्तै अर्का आकांक्षी पाण्डेले मुख्यमन्त्री हुने चाहना धेरैले राखे पनि अन्तिममा आफू नै हुने बताए । ‘हेर्दै जानुस् अन्तिममा यो पदका लागि ममात्रै हुनेछु’, पत्रकारसँग पाण्डेले भने ।

माघ २७ गते सभामुख निर्वाचन हुने भएको छ । मुख्यमन्त्रीको टुंगो लागेसँगै सभामुखको पनि निक्र्योल हुने चितवनबाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका विजय सुवेदीले बताए ।

एमालेमा संसदीय दलको नेता छान्न चुनावै हुने सम्भावना देखिएको छ ।
‘नेताहरुले लौ यो मुख्यमन्त्री बने हुन्छ भनेको अवस्था रहेन । अब हामीले नै संसदीय दलको नेता तोक्ने हो । त्यो बेला नेता बन्छु भनेर म पनि उठ्दैछु’, चौलागाईले भने ।

एमालेबाट निर्वाचित पौडेलले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताए । उनले भने, ‘मेरो चाहना मुख्यमन्त्री नै हो तर चाहनाले मात्रै भएन । पार्टीले निर्णय गर्ने हो । हामी पार्टीको निर्णय मान्नेछौं ।’

एमालेबाट निर्वाचित एक सदस्यका अनुसार शाक्य मुख्यमन्त्री बन्ने अवस्था आए सभामुखमा पाण्डे वा चौलागाईलाई ल्याउने सम्भावना छ । तर उनीहरुले सभामुख हुन नचाहे पौडेललाई सभामुख बनाउने पार्टी योजना छ । ‘मलाई पार्टीले तँ सभामुख हुनुपर्छ भनेछ भने हुन्न नै त भन्दिनँ तर मेरो चाहना मुख्यमन्त्री हो’, पौडेलले भने । दोलखा, रामेछाप, सिन्धुली, रसुवा, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर र चितवन गरी प्रदेश ३ मा १३ जिल्ला छन् । यो प्रदेशसभामा आठ पार्टीको प्रतिनिधित्व छ।

एक सय १० सदस्यीय यो प्रदेशसभामा सबैभन्दा धेरै एमालेका ५८ सदस्य छन् । त्यस्तै माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २१, विवेकशील साझा पार्टीका ३, नेपाल मजदुर किसान पार्टीका दुई र नयाँ शक्ति नेपाल पार्टी, राप्रपा (प्रजातान्त्रिक) र राप्रपाका एक/एक सदस्य छन्। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस