काठमाडौं । सात प्रदेशमध्ये सबैभन्दा पहिले प्रदेश ३ को बैठक बसेको हो । बिहीबार दिउँसो १ बजे सुरु भएको बैठकमा सबै दलका प्रतिनिधिलाई पाँच–पाँच मिनेट बोल्न दिइएको थियो । एमालेबाट अष्टलक्ष्मी शाक्य, कांग्रेसबाट इन्द्रबहादुर बानियाँ, माओवादीबाट शालिकराम जमरकट्टेल, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र गोसाईं, विवेकशील साझाबाट रमेश पौडेल, राप्रपा प्रजातान्त्रिकबाट रिना गुरुङ, राप्रपाबाट रीता माझी, नयाँ शक्तिबाट प्रेम तामाङले बोलेका थिए ।
प्रदेश ३ मा आठ पार्टीबाट ११० सांसद छन् । बैठकमा सबै पार्टीका सांसद उपस्थित थिए । सभामुख तथा उपसभामुख नहुँदा बैठक सञ्चालन गर्न सांसद रामेश्वर फुँयाल, घनश्याम दाहाल, गीता वाग्ले, शोभा शाक्यलाई तोकिएको छ । बैठकले संसद् सञ्चालनका लागि अन्तरिम कार्यविधि बहुमतले अनुमोदन गरेको छ ।
प्रदेश ३ को पहिलो अधिवेशन करिब एक घन्टा चलेको थियो । दिउँसो १ बजेदेखि सुरु भएको अधिवेशन २ बजे नै सकिएको थियो । अधिवेशनका लागि प्रायः सांसद बिहीबार ११ बजे प्रदेश सभा सचिवालय भवनमा पुगिसकेका थिए । हेटौँडाको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा बसेको प्रदेश सभा बैठकमा १३ जिल्लाका ११० सांसद उपस्थित थिए । अधिवेशनका लागि धेरैजसो सांसद बुधबार बेलुका हेटौँडामा आई नेता–कार्यकर्ताको घर तथा होटेलमा बसेका थिए ।
बुधबार आउन नसकेका सांसद बिहीबार बिहानै आइपुगेका थिए । प्रदेश सभा सचिवालयलाई रङरोगन गरी आकर्षक बनाइएको थियो । सांसदका लागि बाहिर ढोकादेखि नै रातो कार्पेट बिछ्याइएको थियो । सञ्चारकर्मीलाई एकपटक फोटो खिच्न दिएपछि हलबाहिर बस्ने व्यवस्था मिलाइएको थियो ।
पहिलो प्रदेश सभा बैठक आगामी २७ माघका लागि बोलाइएको छ । शनिबार दिउँसो ३ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुनेछ । मिति घोषणा नभए पनि उपसभामुखको निर्वाचन २८ माघमा हुन सक्ने बताएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।







