अध्यात्म र विज्ञान
म विशेषतः विज्ञानको विद्यार्थी हुँ । मैले विद्यालय स्तरमै विज्ञान र गणितको पढाइ सुरु गरेँ र साथसाथै नैतिक शिक्षा र संस्कृतको पनि अध्ययन गरेँ । हाम्रो आफ्नो पारिवारिक संस्कारले गर्दा पनि म एकातिर आध्यात्मिक र अर्कोतिर प्रविधि र विज्ञानमा पनि विशेष रुचि राख्ने वातावरणमा हुर्किएँ ।
पछि अमृत क्याम्पस (अस्कल)जस्तो ख्यातिप्राप्त महाविद्यालयमा विज्ञान विषयकै पढाइमा लागिएकोले स्वभाविकैले विज्ञान विषयमा केही दक्षता पनि भयो र रुचि पनि बढ्यो । कलेजभन्दा पनि पारिवारिक पृष्ठभूमिले नै योग र अध्यात्ममा मेरो विशेष रुचि थियो । विज्ञान र अध्यात्मको अन्तर्सम्बन्ध मलाई त्यतिखेर नै उजागर भइसकेको थियो । अहिले यो प्रगाढ हुँदै गइरहेको मात्रै हो । कसै–कसैलाई आफ्नो जीवनको उत्तरार्धतिर आएर मात्रै अध्यात्मतिर बढी जागरण वा झुकाव हुने हुन्छ । म भने त्यस विषयको अध्ययन युवा अवस्थामा झन बढी गर्ने गर्थेँ ।
प्रमाणपत्र तहमा पढ्दा नै जे जति आध्यात्मिक कुरा मैले पढेँ, त्यसबाट नै मलाई हाम्रो आफ्नोे सनातन धर्म र संस्कारका सम्पन्नताप्रति अलि बढी ज्ञान र आस्था आर्जन भयो । म अब विश्वस्त केमा छु भने अध्यात्म र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध छ । यी एक–अर्काका परिपूरक हुन् । अध्यात्मवाद वास्तवमा विज्ञानमै आधारित हो । विज्ञान पनि अध्यात्मबिना सफल हुनै सक्दैन । त्यसैले होला प्रख्यात वैज्ञानिक अलबर्ट आइन्सटाइन्टले पनि Science without religion is blind and religion without science is lame. (धर्मबिना विज्ञान अन्धो हुन्छ र विज्ञानबिना धर्म लङ्गडो हुन्छ ।) भनेका थिए । यसले मात्रै पनि प्रस्ट पार्छ अध्यात्म र विज्ञानको अन्तर्सम्बन्ध ।
यो सम्बन्ध धेरै महत्वपूर्ण छ र यो कहिले पनि विखण्डित हुनुहुँदैन । विखण्डित भएको खण्डमा अनिष्ट नै हुन्छ । यस अन्तर्सम्बन्धका केही उदाहरण लिऔँ । तुलसीको वैज्ञानिक नाम Ocimum sanctum हो । स्याङ्टम अर्थात् sanctify/purify (पवित्र/प्रशोधन) गर्ने । यसले अत्यधिक मात्रामा प्राणवायु दिन्छ । त्यसैले हामी तुलसीको पूजा गर्छौं, यसको विशेष संरक्षण गर्छौं । धेरै औषधी उपचारमा समेत तुलसी प्रयोग गरिन्छ । पीपल पनि एउटा यस्तो वृक्ष हो जसले दिने प्राणवायु र अन्य विविध लाभहरुको मूल्य÷महत्व अत्यन्त बढी छ । त्यसैले पीपलको स्तुति यसप्रकार गरिएको छ —
मूले ब्रह्मा त्वचे विष्णुः साखायां श्रीमहेश्वरः ।
पत्रे—पत्रे स्थिताः देवाः वृक्षराज नमोस्तुते ।।
त्यसैगरी अन्य वृक्ष/वनस्पति/जडीबुटीहरुको महिमा उल्लेख गरिएको पाइन्छ । यो आध्यात्मिक शोध, साधना र सोँचको उपज हो जसमा वैज्ञानिक आधार छ । विज्ञानले ती तर्क र तथ्यहरुको पुष्टि गरिसकेको छ । हामीलाई बेल–पत्र चाहिन्छ । तुलसी–पत्र चाहिन्छ । आम्र–पत्र चाहिन्छ । आँपलाई आधुनिक विज्ञानमा The king of fruits (फलफूलको राजा) पनि भनिन्छ । यसरी हाम्रा प्राचीन संस्कार र शास्त्रले वैज्ञानिक आधारमा यी र यस्ता विविध वृक्ष–वनस्पतिहरुलाई ठूलो महत्व दिएका छन् । यसैगरी विभिन्न धर्मशास्त्रहरुले पनि धर्म र संरक्षणको अन्तर्सम्बन्ध प्रस्ट पारेका छन् ।
वन विनाशले गर्दा हुने विभिन्न गम्भीर प्रकृतिका क्षतिहरुको विवेचना आधुनिक विज्ञानले आफ्नै प्रकारले गरेको छ, जस्तै— भूूस्खलन, माटोको उर्बराशक्तिमा ह्रास, बाढी–पहिरोजस्ता प्राकृतिक प्रकोप तथा प्रदुषणमा वृद्धि, पानीको अभाव, न्युन कृषि उत्पादन, बसाईसराई, शहरी जनसंख्याको चाप र सम्बन्धित अनियन्त्रित अभावहरु, विकृति–विसंगतिहरु र विकासका विकराल समस्या एवं जटिल चुनौतिहरु आदि । ऋग्वेदजस्ता प्राचीन ग्रन्थले पनि यस्ता तथ्यहरु उजागर गरी वनजङ्गल संरक्षण गर्ने र पर्यावरणीय सन्तुलन कायम राख्नेतर्फ त्यतिखेरैदेखि सचेत गराइरहेका छन्, जस्तै— ‘इन्धनार्थाय शुष्काणां द्रुमाणामवपातनम्’ अर्थात् इन्धनका लागि सुकेको वृक्ष/हाँगा मात्र प्रयोग गरियोस्, हरिया रुखहरु काट्नु पाप हो । खासगरी अल्पविकसित राष्ट्रहरु/क्षेत्रहरुमा विगत शताब्दीदेखि अनुभव गरिएको जनसंख्या वृद्वि – गरिबी – अभाव – प्राकृतिक स्रोत–साधनमा अत्यधिक चाप जस्ता कुचक्रको प्रभाव व्यापक भइरहेको मनन गरी केही दशकयता जनसंख्या नियन्त्रणका लागि साना परिवारको महत्व र आवश्यकता औंल्याउँदै त्यसका उपाय अपनाउन अभियान थालिएको छ । ऋग्वेदले नै ‘बहु प्रजा निर्ऋतिमा विशेष’ (धेरै सन्तान भएकाहरुले धेरै दुःख भोग्नु पर्छ) भनी वेलैमा सचेतना प्रदान गर्न खोजिसकेको थियो ।
वनस्पति र जनावर मात्र हैन हावा, पानी, माटो आदि वातावरणका कुनै पनि पक्षलाई क्षति (हानि—नोक्सानी) पुर्याउनु हुँदैन, बरु तिनको सेवा, संरक्षण र सम्वर्धन गर्नु पर्दछ भन्ने उपदेश र उपायहरु अध्यात्मले नै बढी प्रभावकारी तवरले प्रवाह गर्न सकेको र सक्ने देखिन्छ । केवल वैज्ञानिक तर्क र प्राविधिक ज्ञान तथा साधनद्वारामात्र यथोचित प्रतिफल साध्य हुन सक्दैन । यसका दृष्टान्त हाम्रा अगाडि नै प्रशस्त छन् ।
सही व्यवहार त आध्यत्मिक चिन्तन र मननबाट नै बढी प्रबल र प्रभावकारी रुपमा प्रकट हुनसक्दछ । आध्यात्मिक सोंचको अभावमा वैज्ञानिक तथ्य र परिणामहरुको समुचित परिपालना हुन सक्दैन । व्यक्तिगत, पारिवारिक, सामाजिक वातावरणका लागि र समष्टिगत राष्ट्रका लागि समेत अध्यात्म आज अझै महत्वको विषय भइसकेको छ, किनभने विज्ञान र प्रविधिले फड्को मारेको छ तर अध्यात्म भने व्यवहारमा त्यति दरिलो बन्न सकेको छैन । यसरी अध्यात्म आज केही ओझेल र अन्योलमा परेको अवस्थामा छ । त्यसैको परिणतिस्वरूप आज विभिन्न प्रकारका भ्रष्टाचार, अन्याय, अत्याचार, असन्तुलन, वातावरणीय विनाश आदि नकारात्मक प्रवृतिहरु प्रबल भएका छन् । त्यसैले, आध्यात्मिक पक्षलाई अगाडि लान सक्ने हो भने विज्ञान, प्रविधि र अध्यात्मबीच सन्तुलन कायम हुन्छ । त्यस सन्तुलन वा सहिष्णुले नै आर्थिक विकास र मानव विकास क्रमशः दिगो विकासका रूपमा परिणत हुन सक्ने छन् । अनि विश्वमा सुख, शान्ति, भाइचारा, सद्भाव सदाचार, सौहार्दता, समुन्नति र सन्तुष्टि जस्ता सकारात्मक परिवर्तनहरु व्यापक र बलियो हुन जानेछन् ।
कृषि र विज्ञान
कृषि र विज्ञानको अन्तर्सम्बन्ध धेरै गहिरो मात्र होइन, धेरै पुरानो पनि छ । कौटिल्यको अर्थशास्त्रका अतिरिक्त धेरै परापूर्वकालमा पनि कृषिशास्त्र पुस्तक नै उत्पादन र उपलब्ध भएको इतिहास छ । विभिन्न प्रमाण भेटिएका छन् । परापूर्वकालमा पनि कृषिलाई विज्ञानकै रूपमा लिइएको थियो ।
अहिले आधुनिक युगमा त झन् कृषिका विभिन्न बिधामा अध्ययन अध्यापन हुने र विशेषज्ञता हासिल गर्ने/गराउने प्रक्रिया व्यापक मात्रामा संचालित छन् । विकसित देशमा कृषि र विज्ञानले एक–अर्काको परिपूरकका रूपमा धेरै ठूलो काम गरेका छन्, एक–अर्कोलाई सुदृढ पार्न धेरै ठूलो योगदान पुर्याएका छन् । सामान्य रूपमा हेर्दा विज्ञानले मात्र कृषिलाई सघाएको होला भन्ने सोचिन्छ । यथार्थमा भने कृषिले विज्ञानलाई अझ बढी पृष्ठपोषण गरेको तथा सुदृढ पारेको कुरा प्रस्ट हुन्छ ।
जब मानिस जंगली अवस्थाबाट कृषि जीवनको सुरुआततिर लागे उनले सामान्य प्रविधि र तौर–तरिका अपनाएर खेतीपाती गरे । खाने कुरा, वस्त्र आदिको उत्पादन भयो । त्यसबाट आर्थिक वृद्धि हुन गयो । आर्थिक वृद्धि, खाद्यान्नमा आत्मनिर्भरता, पोषण, जंगली जनावरको सिकार गर्नुु नपर्ने, आहाराका लागि धेरै टाढा जानु नपर्ने, समय बच्ने, एकै स्थानमा स्थीर भएर कृषि गर्दा नै जीविका चल्ने आदि जस्तो केही उन्नत र सहज अवस्था आएपछि मात्रै विज्ञान फस्टाउन सकेको हो गहन लगन र प्रयाशको फलस्वरुप ।
विज्ञानको विकासका लागि पर्याप्त समय पनि चाहियो, सोच पनि चाहियो, राम्रो स्वास्थ्य पनि चाहियो । त्यो सवै कुरा शुद्ध, पर्याप्त र उपयुक्त आहारको उपलब्धता र उपभोगबाट नै सम्भव हुन्छ । त्यसैले, विज्ञानले कृषिलाई भन्दा पनि कृषिले विज्ञानलाई बढी सघाएको पाइन्छ । तर, पछि क्रमिकरूपमा जब विज्ञान विकसित भयो, प्रविधि अगाडि बढ्यो । त्यो पैँचो तिरेझैं अथवा एक प्रकारको गुन तिरेझैं, आज प्रविधिले पनि कृषिलाई धेरै मात्रामा सघाउ पुर्याएको छ ।
करुणा, दया, सहानुभूति, समवेदना, सदाचार, सहिष्णु, सद्भावना, समझदारी, सहकार्य र सहयोगजस्ता मानवीय सद्गुणहरुको परिपूर्ति र परिपोषण आध्यात्मिक अभ्यासबाट नै हुन्छ । यसरी आध्यात्मिक चिन्तन, चासो, चाहना र प्रयोगले शासन, प्रशासन, शिक्षा, स्वास्थ्यजस्ता महत्वपूर्ण सेवाहरु सेवाग्राही सज्जनहरुका लागि सहज, सुपथ, सुलभ र सामयिक तवरले प्रवाह हुनजान्छन् । चरम शोषण, अनियमितता, अन्याय, अत्याचार र भ्रष्टाचारको सम्भावना नै रहँदैन । त्यसबाट अन्ततोगत्वा विकास र निर्माणका हरेक पक्षहरुमा तीव्र र तर्कसंगत तरिकाले सुधार, सुदृढीकरण र सफलता हासिल हुृन्छ । यसरी सबैका लागि दिगो रुपमा सन्तुलित र स्वस्थ मानव विकास सम्भव हुन जान्छ । त्यस्तै वातावरणमा त ज्ञान, विज्ञान, प्रविधि, कला—कौशल, गीत—संगीत, धर्म—संस्कार, सुख—शान्ति, सन्तुष्टि र समृद्धिको स्थिति निरन्तर सुदृढ रहन सक्दछ । प्रस्ट छ तत्वज्ञान अर्थात् अध्यात्मको प्रयोगको अपरिहार्यता र महान महत्ता ।
प्रविधिले कृषि उत्पादनमा विभिन्न प्रकारले टेवा पुर्याउँछ । जस्तै— जलविद्युत्को उत्पादन । जलविद्युत् उत्पादनबाट सिँचाइको सम्भावना बढ्छ । सिँचाइ भएपछि कृषि उत्पादनमा वृद्धि हुन्छ । कुलोकुलेसो तथा विभिन्न पानीका नाली निर्माण पनि प्रविधिले नै गर्ने हो । यसरी कृषिमा विज्ञानले धेरै नै टेवा पुर्याउँछ प्रविधिमार्फत । त्यसैगरी स्वाभाविकैले, विज्ञान र वैज्ञानिकका लागि पनि आखिर चाहिने त अन्न–पानीको शरीर नै हो । शुद्ध आहार र राम्रो आम्दानी पनि कृषिबाटै आउँछन् । आजका धेरै समुन्नत र धनाढ्य देशहरुको आर्थिक र सामाजिक वातावरण र विकासको आधारशिला पनि समुन्नत कृषि नै हो । हामीले जापानको दृष्टान्त वा अमेरिकाकै उदाहरण लियौँ भने पनि र बेलायतकै बारेमा हेर्यौ भने पनि, आर्थिक समुन्नतिको सुरुआत त वास्तवमा कृषिको विकासबाट नै भएको पाइन्छ ।
जब उनीहरूले ९०–९५ प्रतिशत जनसंख्या कृषिमै लागि रहनुपर्ने अवस्थाबाट विज्ञान र प्रविधिको सदुपयोगमार्फत थोरै मात्रै (७–८% वा १०–१५५ प्रतिशत बढीमा) जनसंख्याले उत्पादन गरेको कृषि उपजमा आत्मनिर्भर हुन सक्ने अवस्था ल्याउन सके तब बाँकी जनसंख्याले विभिन्न अरु सघन पेशाहरु अपनाउन पाए । जस्तै— शिक्षा, स्वास्थ्य, उद्योगधन्दा अनि प्रविधिको विकास हुन सक्यो । उनीहरू आत्मनिर्भर हुन सके । औद्योगीकरण जब भयो, कृषिजन्य वस्तुको प्रशोधन गरी धेरै टिकाउ र विदेशतिर निर्यात गर्नलायक बहुमूल्य बस्तुहरुको उत्पादन सम्भव भयो ।
यसरी हेर्दा, प्राचीनकालदेखि आधुनिक समयसम्म पनि कृषि, विज्ञान र प्रविधिका बीच अन्योन्याश्रित सम्बन्ध रहिआएको छ । यो निरन्तरूपमा रहिरहनुपर्ने र सुदृढ भइरहनुपर्ने सम्बन्ध हो । यी एक अर्काका परिपूरक हुन् । उदाहरणका लागि, विज्ञानको विकास र प्रयोगबाट प्रविधि उत्पन्न र परिमार्जित हुन्छ र क्रमशः बढी प्रभावकारी बन्दै जान्छ । त्यसबाट पुनः विज्ञान र कृषिलाई नै लाभ पुग्दछ । यो सकारात्मक चक्रको महत्व र योगदान असाधारण छ । यसलाई फस्टाउन र सुदृढ हुनदिनु परं आवश्यकता मात्र होइन, पुण्य नै हो विभिन्न प्रकारले ।