छाउपडीविरुद्ध विद्यार्थी संगठनको जागरण अभियान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

छाउपडीविरुद्ध विद्यार्थी संगठनको जागरण अभियान


१८ माघ २०७४, बिहिबार


अछाम । छाउपडी प्रथा अन्त्यका लागि सयुक्त विद्यार्थी संगठनका केन्द्रीय नेताहरू जागरण अभियान सञ्चालन गर्दै अछाम पुगेका छन् । प्रदेश नम्वर ६ र ७ मा व्याप्त छाउपडी प्रथाका कारण महिलाले अकालमै ज्यान गुमाउनु परिरहेकोप्रति चिन्ता व्यक्त गर्दै जनचेतना जगाउँन जागरण अभियान सञ्चालन गर्ने उद्देश्यका साथ अछाम पुगिएको सयुक्त विद्यार्थी संगठनले जनाएको छ ।

अभियानमा अखिल नेपाल राष्ट्रीयस्वतन्त्र विद्यार्थी यूनियनकी केन्द्रीय अध्यक्ष नविना लामा, नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष पुष्प कुमार शाही र अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तीकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतम अभियान लियर अछाम पुगेका हुन् ।

संगठनले बुधवार अछाममा सर्वदलिय सर्वपक्षिय भलाको आयोजना गर्दै छाउपडी प्रथा उन्मुलनका लागि राय सुझाव संकलन गरेका छन् । संकलित सुझावको आधारमा प्रतिवेदन तयार पारी सरकारलाई छाउपडी प्रथा उन्मुलनका लागि दवाव दिन प्रतिवेदन बुझाईने नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्प कुमार शाहिले वताए । हरेक काल खण्डमा विकृती र विसंगतीका विरुद्ध विद्यार्थी जहिल्यै अग्र मोर्चामा रहेर काम गरेको वताउदै नेपाल राष्ट्रीयस्वतन्त्र विद्यार्थी यूनियनकी केन्द्रीय अध्यक्ष नविना लामाले छाउ वार्ने कुप्रथा अन्त्यको लागि डटेर लाग्ने जनाइन् । ‘आधा आकाश ढाक्ने महिलाहरु नै हुन्’, लामाले भनिन्, ‘सुदूरपश्चिममा महिलाले जीवन जोखिममा राखेर छाउ वार्नु परिरहेको छ । यो कुनै एक व्यक्ति वा क्षेत्रको मात्र समस्या नभएर समग्र देशको समस्या हो । यसको अन्त्यको लागि सयुक्त विद्यार्थी संगठनले नेतृत्व लिइसकेको छ । अब यो समस्यालाई किनारा लगायर छोड्ने छ ।’

अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तीकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतमले छाउपडी प्रथा विरुद्ध पहिलो चरणको कार्यक्रम अछाम र दैलेखमा गरिने जनाए । उनले विस्तारै यो अभियानलाई प्रदेश नम्वर ६ र ७ अन्य जिल्लामा पनि लगिने बताए ।

कार्यक्रमका सहभागिहरूले शिक्षित बर्ग र विभिन्न दलका नेताहरूले नै छाउपडी बार्ने गरेकाले अझै समस्या थपिएको धारणा राखेका थिए । बर्षेनी महिनावारी भएको समयमा छाउगोठमा अकालमा ज्यान गुमाउनु दुखद् रहेको सरोकारवालाहरूले बताएका छन् । केही दिन पहिलो जिल्लाको तुर्माखाँद गाउँपालिका–३ की २२ बर्षीया गौरी बुढाले छाउपडी गोठमै ज्यान गुमाए सरोकारवाला पुनः जुरमुराएका हुन् ।

महिला मानवअधिकार रक्षक संजाल अछामी अध्यक्ष मना अधिकारीले पहिलेको भन्दा अहिले महिला महिनावारी हुँदा घरमै बस्ने क्रमम बढेको पनि पूर्ण रूपमा निर्मुल हुन नसकेकोप्रति चिन्ता व्यक्त गरिन । उनले जनप्रतिनिधिले छाउपडी प्रथा उन्मुलनका प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने समेत बताइन् ।

सरकारले कानुन बनायर छाउपडी प्रथालाई प्रसय दिनेलाई दण्ड जरीवानाको व्यवस्था गरेपनि कानुनको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या झन जटिल बनेका रामारोशन गाँउपालिकी उप प्रमुख सरस्वती रावलले बताइन् । छाउडी प्रथा अन्त्यका लागि सबै भन्दा पहिला घरकै मान्छेमा चेतना जागृत हुनुपर्ने उनको धारणा छ । घरमा आमा–बुबा, दाजु–भाई, श्रीमान र ससुराले चाहेमा सबै महिला महिनावारी भएको बेला गोठ छोडेर घरमा बस्न सक्ने उनले बताईन् ।

पछिल्लो करिव डेढ दशकको अवधिमा अछाममा गोठमै १३ महिलाले ज्यान गुमाएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस