सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ


१६ माघ २०७४, मंगलबार


काठमाडौं । प्रहरीले उपत्यकाका पाँच अस्पतालमा छापा मारेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाल मेडिकल काउन्सिल र उपभोक्ता मञ्चको संयुक्त टोलीले सोमबार छापा मारी अस्पताल सञ्चालकसहित १७ नक्कली डाक्टर पक्राउ गरेको छ ।

प्रहरीले ठमेलस्थित एपोलो क्लिनिक, बौद्धको चाइना ग्रेटवाल अस्पताल, चाइना पिपुल अस्पताल, चाइना डेन्टल अस्पताल र सिविकमा छापा मारेको हो । चाइना ग्रेटवाल, चाइना पिपुल र चाइना डेन्टल अस्पताल विनाअनुमति सञ्चालन गरेको पाइएको छ । त्यस्तै, एपोलो र सिविकमा भने नेपाल मेडिकल काउन्सिलबाट प्रमाणपत्र नलिएका नक्कली डाक्टर भेटिएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका अधिकांश विदेशी नागरिक छन् । उनीहरूले विभिन्न पत्रपत्रिकामा विज्ञापन गरी आफूलाई विशेषज्ञ चिकित्सक बताउँदै आएको नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा।ढुण्डिराज पौडेलले बताए । गलत विज्ञापनका आधारमा जनतालाई ठग्ने चिकित्सक र सम्बन्धित स्वास्थ्य संस्थामाथि प्रहरीको अभियान जारी रहेको उनले बताए । सर्वसाधारण जनतालाई भ्रमित पार्ने गरी स्वास्थ्य सेवाका नाममा अनधिकृत रूपमा नियम कानुनविपरीत दर्ता नभएका संघसंस्था, योग्यता नपुगेका व्यक्तिहरूको अस्वाभाविक प्रचारप्रसार गरी जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पारेको चिकित्सक संघको भनाइ छ ।

नाम चलेका अस्पतालमा पनि छापा मार्ने प्रहरीको तयारी छ । ‘चिकित्सकले मेडिकल काउन्सिलको अनुमतिविना स्वास्थ्य उपचार गरेको केस धेरै आयो,’ सिआइबी प्रवक्ता श्रेष्ठले भने, ‘त्यसैले हामीले सुरुवाती अवस्थामा पाँच स्वास्थ्य संस्थामा छापा हानेका हौँ । काउन्सिलको प्रमाणपत्र नलिएका चिकित्सक नियन्त्रणमा लिएका छौँ ।’ नेपालमा विदेशी डाक्टरले काम गर्न काउन्सिलको अनुमति अनिवार्य रूपमा लिनुपर्ने हुन्छ । पछिल्लो समय काठमाडौं उपत्यकाभित्रै अनुमति नलिई अवैध रूपमा काम गरेको सूचना धेरै आउन थालेपछि प्रहरीले नाम चलेका अस्पतालमा पनि छापा मार्न सुरु गरेको हो ।

सिआइबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले सरकारको अनुमतिविना अस्पताल सञ्चालनमा रहेको र मेडिकल काउन्सिलको प्रमाणपत्रविना डाक्टरहरू उपचारमा संलग्न रहेको उजुरी परेपछि छापा मारिएको बताए । ‘सिआइबी, मेडिकल काउन्सिल र उपभोक्ता मञ्चको संयुक्त टोलीले उपत्यकाका विभिन्न अस्पतालमा छापा मार्दा १७ जना पक्राउ परेका छन् । त्यसमध्ये केही विनालाइसेन्सका डाक्टर र केही सञ्चालक छन्,’ उनले भने ।

पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र दोषी प्रमाणित भए ठगी मुद्दाअन्तर्गत कारबाही अघि बढाइने प्रहरीले जनाएको छ । ‘पक्राउ परेकाविरुद्ध अनुसन्धान भइरहेको छ । विस्तृत जानकारी पछि दिन्छौँ । दोषी प्रमाणित भए कारबाही अघि बढाइनेछ । तत्काल ठगी मुद्दाअन्तर्गत कारबाही चलाइनेछ,’ सिआइबी प्रवक्ता श्रेष्ठले भने । प्रहरीले पक्राउ गरेका अस्पताल सञ्चालक र विदेशी डाक्टरको नाम गोप्य राखेको छ । ब्युरोका अनुसार अभियोग पुष्टि हुने पर्याप्त प्रमाण भेटिएको खण्डमा मात्र उनीहरूको नाम सार्वजनिक गरिनेछ । पक्राउ पर्नेहरूमा चीन, अमेरिका तथा अस्ट्रेलियाका डाक्टर रहेको स्रोतको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस