राष्ट्रियसभामा २४ जना निर्विरोध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रियसभामा २४ जना निर्विरोध


१६ माघ २०७४, मंगलबार


काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभामा २४ जना निर्विरोध निर्वाचित भएका छन् । ५९ सदस्यीय सभामा ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ ।

निर्वाचन प्रक्रियाबाट चयन हुुने ५६ सांसदमध्ये अब ३२ सिटमा मात्र चुनावी प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ २४ मा तोकिएको छ । माघ १० गते उम्मेदवारी मनोनयन गरिएको थियो । त्यस दिन ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारमाथिको दाबीविरोध तथा फिर्तालगायत प्रक्रिया सोमबार टुंगिएपछि आयोगले निर्विरोध निर्वाचित भएकाहरूको नामावली तथा बाँकी सिटका लागि प्रतिस्पर्धी उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो ।

प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य ३ जनासहित ८ जना निर्वाचित हुने संवैधानिक प्रावधान छ ।

आयोग प्रवक्ता सहसचिव नवराज ढकालले प्रदेश १ मा ३ महिला र अन्य गरी ६ जना तथा प्रदेश २ का ८ वटै पदका उम्मेदवार निर्विरोध भएको बताए । प्रदेश २ मा अन्य समूहको ३ सिटका लागि ४ जनाको उम्मेदवारी परेको थियो । बाँकी समूहमा सिट संख्याअनुसार नै उम्मेदवारी थियो । अन्य समूहमा उम्मेदवारी दिएका संघीय समाजवादी पार्टीका मोहम्मद अख्तर हुसैनले उम्मेदवारी फिर्ता लिएपछि सबै पद निर्विरोध भएको हो ।

त्यस्तै, प्रदेश ४ मा अपांगता वा अल्पसंख्यक समुदायको १ सिट निर्विरोध भएको छ । प्रदेश ५ मा महिला समूहका ३ जना उम्मेदवार निर्विरोध भएका छन् । प्रदेश ७ मा महिला समूहका ३ र अन्य समूहका ३ गरी ६ जना निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश ३ र ६ का सबै पदमा निर्वाचन हुने भएको छ । ८ सिटका लागि प्रदेश ३ मा १४ र ६ मा ११ जनाको उम्मेदवारी कायम छ । निर्वाचन हुन बाँकी रहेका ३२ सिटका लागि ५२ जना प्रतिस्पर्धी रहेको जानकारी प्रवक्ता ढकालले दिए ।

प्रदेश १ मा दलितको १ र अपांगता वा अल्पसंख्यकको १ पद गरी जम्मा २ सिटका लागि चुनाव हुनेछ । त्यहाँ दुइटै पदका लागि २/२ जना उम्मेदवार छन् ।

प्रदेश ४ मा अन्य समूहको ३, महिला ३ तथा दलित १ सिटमा निर्वाचन हुनेछ । ती पदमा १० जना प्रतिस्पर्धामा छन् । प्रदेश ५ मा अन्य समूहका ३, दलित १ र अपांगता वा अल्पसंख्यक १ गरी ५ पदमा निर्वाचन हुनेछ । ती पदका लागि ८ जना उम्मेदवार छन् । प्रदेश ७ मा दलित १ र अपांगता भएका वा अल्पसंख्यक १ गरी जम्मा २ पदमा निर्वाचन हुने आयोगले जनाएको छ । ती पदका लागि चार जना प्रतिस्पर्धी छन् । प्रवक्ता ढकालले उम्मेदवारहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरिसकिएकाले सोमबारबाटै प्रचारप्रसार सुरु भइसकेको बताए ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एकल संक्रमणीय मत प्रणाली तथा बहुमतीय दुवै निर्वाचन प्रणाली अपनाइने छ । राष्ट्रिय सभा निर्वाचन ऐनले एक जना सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै गरिने व्यवस्था गरेको छ ।

एक जना मात्रै छानिने समूहमा एकल संक्रमणीय मत प्रणाली लागू नहुने भएकाले त्यो व्यवस्था गरिएको हो । महिला र अन्य समूहको ३र३ जनाको निर्वाचन भने एकल संक्रमणीय मत प्रणालीबाटै हुनेछ । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख छन् ।

निर्विरोध हुनेहरुको नामावली :

 

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस