फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फुलचोकी हाइकिङ गएका विद्यार्थी बेपत्ता


१४ माघ २०७४, आइतबार


काठमाडौं । ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थी हाइकिङ गएर फर्कने क्रममा तीन दिनदेखि बेपत्ता भएका छन्।
फुलचोकी डाँडामा गत बिहीबार हाइकिङ गएका कक्षा ५ र ६ का ११ जना विद्यार्थीमध्ये कक्षा ६ मा अध्ययनरत जोन तामाङ हराएका हुन्। फुलचोकी शिखरमा पुगेर ओरालो झर्दा उनी हराएका हुन्। विद्यार्थीसँगै स्कुलका प्राचार्य दुर्गाबहादुर ओली पनि हाइकिङ गएका थिए। रमाइलो गर्दै फर्केका उनीहरूले गोदावरी झरेपछि मात्रै तामाङ छुटेको थाहा पाएका थिए।

प्राचार्य ओलीले प्रहरी तथा अभिभावकलाई जनाएअनुसार फुलचोकीबाट गोदावरी झर्ने क्रममा पाँच जनाले थकाइ लाग्यो भन्दै छोटो बाटोबाट जान अनुरोध गरेका थिए। तर, ओलीले बाटो अप्ठ्यारो छ भन्दै जान मानेनन्। विद्यार्थीले कर गरेपछि ‘बाटो देखेको भए तिमीहरू जाऊ, गोदावरीमा पुगेर पर्ख’ भन्दै उनले छोटो बाटोबाट झर्न अनुमति दिएका थिए। तर, गोदावरीमा दुवै समूहका विद्यार्थी भेट हुँदा तामाङ देखिएनन्।

त्यसपछि सँगैका साथी तथा प्राचार्यले समेत धेरैबेर खोजे पनि नभेटिएपछि दिउँसो ४ बजेतिर गोदावरी प्रहरीलाई खबर गरिएको थियो। हाइकिङ गएका क्षेत्रको बाटो अप्ठ्यारो छ, त्यसमाथि हिउँ पनि परेको छ। उनीहरूले छोटकरी भन्दै आएको बाटोमा ठुल्ठूला भीर पर्छन्। छोटो बाटोबाट पाँच जना आए पनि सबै आ–आफ्नै सुरमा हिँडेकाले को, कहाँ पुग्यो भन्नेसमेत थाहा नपाएको बताएका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस