त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

त्रिविका सबै क्याम्पसमा सेमेस्टर प्रणाली सुरु


१४ माघ २०७४, आइतबार


काठमाडौं । त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ । केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ । त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन् । झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन् । ३९ वटा केन्द्रीय विभागमा ०७१ देखि नै सेमेस्टर प्रणाली सुरु भइसकेको छ ।

उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले अब त्रिविका स्नातकोत्तर तह पढाइ हुने कुनै पनि क्याम्पसमा वार्षिक विषय प्रणाली नरहेको बताए । प्राविधिक विषयमा पहिलेदेखि सेमेस्टर प्रणाली भए पनि धेरै विद्यार्थीको चाप हुने व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायका सबै विषयमा देशभरका क्याम्पसमा पहिलोपटक सेमेस्टर सुरु भएको उनको भनाइ छ । कानुन संकायमा स्नातकोत्तरमा सेमेस्टर सुरु भइसकेको छ ।

अहिलेसम्म त्रिविमा केन्द्रीय विभाग र उपत्यकाका क्याम्पसहरूमा सबै विषयमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएको छ । त्रिविमा सेमेस्टर प्रणालीको परीक्षा सञ्चालन र नतिजा सार्वजनिकको काम डिन कार्यालयहरूबाट हुँदै आएको छ । तर, पर्याप्त पूर्वाधार विकास नहुँदा समयमै परीक्षा र नतिजा सार्वजनिक गर्न सकेको छैन । देशभरमा सेमेस्टर प्रणाली लागू भएपछि कसरी समयमै सेमेस्टरको चक्र पूरा गर्ने भन्नेमा प्राध्यापकहरू चिन्तित छन् ।

त्रिवि उपकुलपति खनियाँले डिन कार्यालय व्यवस्थित बनाउँदै लैजाने बताए । डिन कार्यालयमा आवश्यक हुने जनशक्ति तथा अन्य पूर्वाधार थपिँदै लगेको खनियाँले बताए । सिस्टम परिवर्तन हुँदा व्यवस्थित हुन समय लाग्ने र त्यसका लागि ओरियन्टेसनलगायतका काम गर्दै आएको उनले बताए । उपत्यकाबाहिरका क्याम्पसमा समेत विभागको अभाव हुन नदिने बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस