मुख्यमन्त्रीको भागबन्डा टुंग्याउन ओली–प्रचण्डको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्रीको भागबन्डा टुंग्याउन ओली–प्रचण्डको निर्देशन


१३ माघ २०७४, शनिबार


काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन् । ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता रामबहादुर थापा बादलले कार्यदलले बाँडफाँडका विधि र प्रक्रियाका सन्दर्भमा अहिलेसम्म भएका गृहकार्यको ‘ब्रिफिङ’ गरेका थिए । ‘हामीले अहिलेसम्म कार्यदलमा भएको छलफल र गृहकार्य दुवै नेतालाई ब्रिफिङ गर्‍यौँ,’ बैठकपछि एमाले नेता नेम्वाङले भने, ‘उहाँहरूले अहिले भइरहेको छलफलकै आधारमा टुंग्याउने गरी प्रस्ताव तयार पार्नुस् भन्नुभएकाले त्यसअनुसार गृहकार्य गर्छौँ ।’

एमालेले चार र माओवादी केन्द्रले दुईवटा प्रदेश सरकारको नेतृत्व लिने भनिए पनि प्रदेश ६ मा दुवै दलले मुख्यमन्त्री दाबी गरेका छन् । राष्ट्रिय सभामा मतादाता संख्यालाई आधार मानेर बाँडफाँड गरिए पनि राजकीय मामिलाको पद बाँडफाँड ६०–४० कै अनुपात हुनुपर्ने दाबी गर्दै माओवादी केन्द्रले प्रदेश ६ मा स्वाभाविक नेतृत्व पाउनुपर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएको छ । तर, एमालेले भने त्यस क्षेत्रका पार्टी नेता र सांसदहरूको दबाबले विशिष्ट स्थिति उत्पन्न भएको भन्दै लचिलो बन्न माओवादीलाई आग्रह गर्दै आएको छ ।

प्रदेश १, ३, ४ र ५ एमालेलाई छाड्न तयार देखिएको माओवादीले ती प्रदेशमा सभामुखको दाबी गर्दै आएको छ । शुक्रबार यिनै विषय केन्द्रित छलफल भए पनि शीर्ष कार्यदलले नेताहरूको निर्देशन सार्वजनिक गरेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस