दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढ्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढ्दै


१३ माघ २०७४, शनिबार


काठमाडौं । नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को तथ्यांकअनुसार वन्यजन्तुको चोरी–सिकारीमा संलग्न तस्कर पनि बढेका छन् । सिआइबीले साढे सात वर्षयता दुर्लभ वन्यजन्तुको अखेटोपहारसँग सम्बन्धित २५२ वटा कारबाही गरेको छ । त्यस्तै, चोरी–सिकारीमा संलग्न ५७४ जनालाई पक्राउ गरेको छ ।

सिआइबीका डिएसपी अनुपम राणाले उत्तरी सीमा–नाका क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढेको बताए । ‘चोरी–सिकारीमा संलग्न तस्कर धेरै पक्राउ परेकाले पनि यसको कारोबार भइरहेको देखाउँछ । अनुसन्धानले विशेष गरी उत्तरी नाकातर्फ चोरी सिकारी बढेको देखिन्छ,’ उनले भने ।

सिआइबीले रेडपान्डा, चितुवा तथा बाघको छाला र हाड धेरै बरामद भएका जनाएको छ । गैँडाका खाग र हात्तीका दाह्रा भने विगतको तुलनामा कम बरामद भएको प्रहरीको भनाइ छ । सिआइबीका अनुसार रेडपान्डा, चितुवा र बाघको छाला मात्रै १०९ वटा बरामद भएका छन् । बाघ र चितुवाको हाड ७७ केजी बरामद भएको छ । त्यस्तै, गैँडाको खाग १५ वटा र हात्तीका दाह्रा सात थान बरामद भएको प्रहरीले जनाएको छ । यसबाहेक भालुको पित्त, गैँडाको खुर, मृगको हाड, कछुवाका खपटा, गोहोरोको छाला, सर्पको छालालगायतका संरक्षित दुर्लभ वन्यजन्तुका अखेटोपहार बरामद भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस