पुनर्निर्माणका ३३ महिना : ६ लाख ७७ हजार ४३८ भूकम्पपीडित अझै टहरोमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पुनर्निर्माणका ३३ महिना : ६ लाख ७७ हजार ४३८ भूकम्पपीडित अझै टहरोमा


१२ माघ २०७४, शुक्रबार


काठमाडौं । भूकम्पमा घर गुमाएका साढे ६ लाखभन्दा बढी भूकम्पपीडित तेस्रो हिउँद पनि कटेरोमै बिताउन बाध्य छन् । पुनर्निर्माणमा भएको ढिलासुस्तीले ३३ महिना बितिसक्दा पनि ६ लाख ७७ हजार ४३८ घर निर्माण हुन सकेका छैनन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अतिप्रभावित १४ जिल्लामा बुधबारसम्म ९० हजार २ सय ६७ वटा घर मात्र निर्माण भएका छन् । पुनर्निर्माण गर्नुपर्ने कुल घर संख्या ७ लाख ६७ हजार ७०५ थियो ।

प्राधिकरणका प्रवक्ता यमलाल भूसालले भूकम्पपीडितको निजी आवास निर्माण गर्ने काम सुस्त भएको बताए । ‘संख्यात्मक रूपमा हेर्दा निजी आवास निर्माण गर्ने भूकम्पपीडितको संख्या न्युन देखिएको साँचो हो,’ उनले भने । यो भूकम्प अतिप्रभावित १४ जिल्लाको मात्रै तथ्यांक रहेको र प्रभावित थप १७ जिल्लाको तथ्यांक आउन बाँकी रहेकोले घर निर्माण गर्नेको संख्या कम देखिएको उनको भनाइ छ ।

सरकारले भूकम्पपीडित परिवारलाई घर निर्माणका लागि तीन लाख रूपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

प्राधिकरणको तथ्याङ्क अनुसार, पहिलो किस्ता वाफतको ५० हजार अनुदान पाउने पीडित परिवारको संख्या ६ लाख ७० हजार ८६ छ । अझै ९७ हजार ६ सय १९ भूकम्पपीडित परिवार अर्थात १३ प्रतिशतले पहिलो किस्ता वाफतको अनुदान पाउन सकेका छैनन् ।

त्यस्तै, पहिलो किस्ता पाएका सबै पीडितले पनि घर निर्माणको काम शुरु गरेका छैनन् । उनीहरूमध्ये १ लाख ५२ हजार १६३ परिवारले मात्रै दोस्रो किस्ता बुझेका छन् । अर्थात अझै पनि ५ लाख १७ हजार ९२३ परिवारले दोस्रो किस्तावाफतको अनुदान रकम पाउन सकेका छैनन् । प्राधिकरणले घरको जग हालेपछि मात्रै दोस्रो किस्ता दिने नीति लिएको छ ।

त्यस्तै तेस्रोे किस्ताका लागि प्रमाणिकरण गरिएको पीडितको संख्या पनि ५१ हजार ४७६ मात्रै छ । प्राधिकरणका प्रवक्ता भूषालले प्राविधिक कारणले दोस्रो र तेस्रो किस्ता लिने भुकम्प पिडित परिवारको संख्या कम भएको बताए । उनले भने, ‘पहिलो किस्ता वाफतको रकम लिन केही गर्नुपर्दैन् तर, दोस्रो र तेस्रो किस्तावाफतको अनुदान लिन तोकिएको मापदण्ड भित्र रहेर घर निर्माणको काम गर्नुपर्छ । त्यसैले यो संख्या कम हुन पुगेको हो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस