सरकारले पठाएको ठाउँमा जान तयार रहेको कर्मचारी संगठनको घोषणा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सरकारले पठाएको ठाउँमा जान तयार रहेको कर्मचारी संगठनको घोषणा


९ माघ २०७४, मंगलबार


काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले सरकारले पठाएको जुनसुकै ठाउँमा गइ काम गर्न तयार रहेको घोषणा गरेको छ ।

मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा स्थानीय तथा प्रदेश तहमा कर्मचारी जान नमानिरहेको अवस्थामा संगठनले आफ्ना पदाधिकारी र सदस्यहरु जुनसुकै तहमा खटाए पनि जान तयार रहेको घोषणा गरेको हो ।

संगठनको तेस्रो केन्द्रिय कार्य समितिका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले भने– ‘विधि र मापदण्ड बनाई समायोजन गरिएमा हामी संगठनका पदाधिकारी र सदस्यहरु जुनसुकै तहमा खटाइए पनि जान तयार छौं ।’ कर्मचारी समायोजनको सन्दर्भमा कर्मचारी बाधक बने भन्ने कुरा सरासर गलत हो । अध्यक्ष देवकोटाले भने–‘सेवा प्रवाह हुने सरकारका कुनै पनि निकायमा जान जिम्मेवार संगठनका कुनै पनि सदस्यहरु तयार छौं । ’

मुलुक परिवर्तनको यस जटिल परिवेशमा निजामती कर्मचारी संगठनले समायोजन ऐनलाई मान्ने र मलाई यही जिल्लाका,े यही ठाउँमा, यही कार्यालय नै चाहिन्छ भन्ने कुराको अन्त्य समेत यसै पत्रकार सम्मेलनमार्फत घोषणा गरेको देवकोटाले बताए ।

सिनियारिटी बेसमा हुने समायोजनका लागि जुनसुकै ठाउँमा जान तयार रहेको भएपनि हावादारीरुपमा तेरो र मेरो मान्छे भनेर समायोजन गरिएमा त्यसको डटेर बिरोध गर्ने उनले बताए ।

संघवाट प्रदेश तहमा कर्मचारी पठाउँदा सचिवलाई मुख्य सचिवमा र सह सचिवलाई सचिवमा पदोन्नति गरि पठाउन सरकारले गरेको निर्णय अनुसारनै अन्य श्रेणीका कर्मचारीहरुलाई पनि एक श्रेणी बढुवा गरि प्रदेश र स्थानीय तहमा खटाउने माग कायमै रहेको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष श्री लेखनाथ कोईरालाले बताए । सचिवलाई मुख्य सचिवमा पठाएजस्तै उपसचिवलाई सहसचिवमा, शाखा अधिकृतलाई उपसचिवमा, नायव सुब्बालाई अधिकृतमा बढुवा गरेर पठाउनुपर्छ –वरिष्ठ उपाध्यक्ष कोइरालाले भने ।

‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान–राजनीतिक अधिकार सहितको ट्रेड युनियन हाम्रो अभियान’ मुल नाराका साथ आफ्नो तेस्रो बैठक सम्पन्न गरेको निजामती कर्मचारी संगठनले कर्मचारी समायोजन, सुशासन लगायतका बिभिन्न २९ वटा निर्णयहरु गरेको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ती

Tags :
प्रतिक्रिया दिनुहोस