माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने विषयमा स्थानीय निकाय अन्योलमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने विषयमा स्थानीय निकाय अन्योलमा


८ माघ २०७४, सोमबार


लहान । नयाँ व्यवस्थाअनुसार माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मा स्थानीय तहलाई दिएपछि त्यसलाई कसरी सञ्चालन गर्नेमा सिरहाका अधिकांश स्थानीय तहका प्रमुख र उपप्रमुखहरु अन्योलतमा परेका छन् ।

संघीय व्यवस्थाअनुसार स्थानीय तहलाई माध्यमिक तहसम्मका शिक्षा सञ्चालनको जिम्मा र परीक्षा सञ्चालनको जिम्मा परीक्षा बोर्डलाई दिएपछि ती दुवैको बीचमा कसरी सहकार्य गरेर अघि बढ्नेमा अन्योलता बढेको हो ।

आगामी चैत महिनापश्चात् हालको जिल्ला शिक्षा कार्यालयसमेत खारेज भएपछि स्थानीय तह र परीक्षा बोर्डको बीचमा कसले समन्वय गर्ने हो त्यसको कल्पना नगरिएकाले आफूहरु अन्योलमा परेको सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी बताउछन् ।

उनी भन्छन्, ‘शिक्षा सञ्चालन र परीक्षा सञ्चालनको जिम्मा फरकफरक निकायलाई दिएपछि ती दुवैको बीच कसले समन्वय गरिदिने, पाठ्यक्रम निर्धारण गर्दा कसको सल्लाह लिने भन्नेमा हामी अहिले पनि अन्योलमा छौँ ।’

आगामी चैतमा एसइईको परीक्षा आउनै लागेकाले तत्काल अहिलेको अन्योलता अन्त्य गर्नुपर्ने बताउँदै सिरहाको गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले माध्यमिक तहसम्मको शिक्षा सञ्चालन गर्ने र परीक्षा सञ्चालन गर्ने दुवै निकायलाई एकापसमा जोड्न जिल्लामा संयन्त्र बनाउनुपर्ने बताउछन् ।

यसका साथै पाठ्यक्रम कसरी तयार गर्ने, जनशक्ति कसरी परिचालन गर्नेमा भन्नेमा पनि स्थानीय तहका प्रमुख र उपप्रमुखहरु अन्योलमा छन् । यी र यस्तै अन्योलताका कारण हालसम्म शिक्षकको तलब खुवाउनेबाहेक कुनै काम गर्न नसकिएको प्रमुख उपप्रमुखको भनाइ छ ।

स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा रहेको यी अन्योलता हटाउन र समन्वयको वातावरण निर्माण गर्ने उद्देश्यले राष्ट्रिय परीक्षा बोर्डले आज लहानमा आयोजना गरेको संघीय संरचनामा राष्ट्रिय परीक्षा बोर्डको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले स्थानीय तह र राष्ट्रिय परीक्षा बोर्डलाई एकापसमा जोड्न जिल्लामा छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने बताए ।

स्थानीय तह र परीक्षा बोर्डको बीचमा समन्वयात्मक भूमिका खेल्न संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष डा. पौडेलले दुवैलाई एकापसमा जोड्न जिल्लामा तत्कालका लागि अस्थायी प्रकृतिको संयन्त्र निर्माण गर्नुपर्ने बताए ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा परीक्षा सञ्चालन संयन्त्र बनाउने जानकारी दिँदै उनले उक्त समितिमा आउन स्थानीय तहका प्रमुख र उपप्रमुखलाई आग्रहसमेत गरे ।

हालको परीक्षा सञ्चालन प्रणालीको विषयमा व्यापक छलफल भइरहेको बताउँदै अध्यक्ष डा. पौडेलले केन्द्रीय पाठ्यक्रमभित्र रहेर स्थानीय सरकार र प्रादेशिक सरकारबीच एकरुपता कायम हुने गरी पाठ्यक्रम बनाउनुपर्ने बताए ।

सो कार्यक्रममा सिरहाका आठवटै नगरपालिकाका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस