सातै प्रदेशमा सचिव खटिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सातै प्रदेशमा सचिव खटिए


७ माघ २०७४, आइतबार


काठमाडौं । सरकारले सात वटै प्रदेशको प्रदेश प्रमुख कार्यालयमा सचिव खटाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका सचिव नेपाल सरकारका सहसचिवस्तरका कर्मचारी छन्।

सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश १ मा रामकृष्ण गुरागाईं, २ मा लावण्यकुमार खनाल, ३ मा चतुर्भुज ज्ञवाली र ४ मा देवीप्रसाद ज्ञवालीलाई खटाइएको छ । यस्तै प्रदेश ५ मा सनदकुमार दवाडी, ६ मा भरतबहादुर ढुंगाना र ७ मा युवराज सुवेदी खटिएका छन् । मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अतिरिक्त समूहबाट ती कर्मचारीबाट खटाइएको जानकारी दिए । उनले भने, ‘प्रदेश प्रमुख कार्यालयमा सचिवमा खटाइएका कर्मचारी आइतबार बिहानसम्म पुगिसक्नुहुनेछ ।’

सामान्यले एउटा प्रदेशमा १३ कर्मचारीका दरले ७ वटा प्रदेशमा ९१ कर्मचारी खटाएको छ । मन्त्रालयका प्रवक्ता न्यौपानेले मन्त्रिपरिषद्ले स्वीकृति दिनेबित्तिकै प्रदेश मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषद् कार्यालयमा पनि सचिव खटाउने तयारी भएको जानकारी दिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार एउटा प्रदेश प्रमुखका लागि कार्यालयमा १३ र निजी सचिवालयका लागि १२ कर्मचारी खटिनेछन् । प्रदेश प्रमुखको कार्यालयमा नेपाल सरकारका सहसचिवस्तरका एक सचिवसहित एक उपसचिव, शाखा अधिकृत, सवारीचालक र कार्यालय सहयोगी रहनेछन् । निजी सचिवालयमा स्वकीय सचिव, सहस्वकीय सचिव, सवारीचालक, कार्यालय सचिव कर्मचारी रहनेछन् ।

सामान्य प्रशासन मन्त्रालयले सातवटा प्रदेशमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा तथा प्रदेश मुख्यमन्त्रीको कार्यालयका लागि अस्थायी व्यवस्थापन गर्न करिब ३ हजार कर्मचारीको विवरण राखेको जनाएको छ । प्रवक्ता न्यौपानेले भने, ‘सात प्रदेशमा अस्थायी प्रशासनिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालयले ३ हजार कर्मचारीको विवरण संकलन गरेको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस