सातै प्रदेशमा शपथ आज « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सातै प्रदेशमा शपथ आज


७ माघ २०७४, आइतबार


काठमाडौं । सातै प्रदेशका प्रदेशसभामा निर्वाचित सदस्यको आइतबार अस्थायी मुकाममा पद तथा गोपनीयताको शपथग्रहण हुँदैछ । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदलाई शपथग्रहण गराउने छन् ।

सरकारले निर्वाचन सम्पन्न भएको डेढ महिनापछि प्रदेशप्रमुख नियुक्त गरेलगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो । आयोगले माघ २४ गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आइतबारदेखि नै सुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आइतबारै सम्पन्न गर्नुपर्नेछ । प्रदेशसभा सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता रहेकाले प्रमुख नियुक्तिलगत्तै हतार–हतारमा शपथग्रहणको कार्यक्रम राखिएको हो ।

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आइतबारै मतदाता नामावली सार्वजनिक गर्नुपर्ने छ । त्यसैले शपथका लागि रातारात तयारी गरिएको हो । कतिपय प्रदेश मुकाममा शनिबार रातभर तयारी जारी रहने सरकारी अधिकारीहरूले जनाएका छन् । निर्वाचन आयोगले प्रदेशसभामा निर्वाचित भएको प्रमाणपत्र वितरण शुक्रबार मात्र गरेकाले सबै सांसद काठमाडौंमै थिए । कतिपय सांसद र प्रदेश प्रमुखसमेत शनिबार रातिसम्म मुकाम पुगिसकेका छैनन् । उनीहरू बाटोमै रहेको र आइतबार निर्धारित समयभित्र पुग्ने जनाइएको छ ।

शनिबार मौसमी खराबीका कारण काठमाडौंबाट उडान प्रभावित हुँदा उनीहरूलाई सम्बन्धित प्रदेश मुकाम पुग्न केही असहज भएको थियो । कतिपय प्रदेश प्रमुखहरू र सांसद सडकमार्गबाटै अबेर मात्र मुकाम पुगेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस