सात प्रदेशका पाँच सय ५० सदस्यको शपथ आइतबार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सात प्रदेशका पाँच सय ५० सदस्यको शपथ आइतबार


६ माघ २०७४, शनिबार


काठमाडौं । निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामको प्रतिवेदन बुझाएको छ । राष्ट्रपति विद्या भण्डारीबाट शुक्रबार प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएलगत्तै आयोगले प्रतिवेदन बुझाएको हो ।

निर्वाचन आयोगले ३ माघमा प्रदेश सभाको निर्वाचन परिणामको अन्तिम नतिजा सार्वजनिक गरेको थियो । सोही दिनबाट गणना हुँदा २३ माघभित्र प्रदेश सभा अधिवेशन बोलाइसक्नुपर्ने हुन्छ । संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ । आयोगले शुक्रबार नै प्रदेश सभाका समानुपातिक सदस्यलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको छ ।

प्रदेश सभा सदस्यलाई आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार प्रदेश प्रमुखसँग आयोग पदाधिकारीले गरेको अनौपचारिक छलफलमा आइतबार ११ बजेभित्र प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने सहमति भएको हो । ‘आइतबार बिहान प्रदेशको सम्बन्धित राजधानीमा प्रदेश सभा सदस्यलाई शपथग्रहण गराउने तय भएको छ,’ प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले नयाँ पत्रिकासँग भने । आयोगले सोही दिन दिउँसो राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको नामावली सार्वजनिक गर्दै छ । राष्ट्रिय सभा निर्वाचनका मतदाता स्थानीय तहका प्रमुख र उपप्रमुखसहित प्रदेश सभा सदस्य पनि हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस