प्रवासन « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

प्रवासन


६ माघ २०७४, शनिबार


कुहिरो ले ढाकेको कुनै यस्तै बिहानी थियो त्यो
सपनाको औंला समाएर मैले गाँउ छाडेको पल
दशक बिति सकेछ यस बिच

त्यो गोरेटो जस्मा दौडेर मैले हिंडन् सिकेको थिएँ
आज शायद सडक भईसक्यो होला
पराले झुपडिहरू आज पक्कि घर भईसके होलान
हामीले खेल्ने गरेको चौतारी अझै छ कि नासियो होला ?
चौतारी को वरपिपल अझै छ कि मासियो होला ?
ढुगेंधाराबाट पानी आउँछ कि आउँदैन होला ?
सुन्छु जताततै मुलहरू सुक्दैछन् रे
मेरो गाँउले पेटभरी पानी खान पाउँछ कि पाउँदैन होला ?

गोठाला जांदा खाने गरेका काफल, ऐंसेलु
भेट्छु कहिलेकाही
विदेशका स्टोरहरू मा ‘अर्ग्यानिक’ का नाउँमा
गाँउहरू त युवा शुन्य छन् रे
आजकल खाईदिने मान्छे पो छैनन् कि गाँउमा
बाढी पहिरोका कुरा पनि सुनिन्छन्
बेशिको धान खेत बगायो कि सग्लै छ कुन्नि ?
मैले कखरा पढेको विध्यालय उस्तै छ कि बेग्लै भो कुन्नि ?

अस्ति टेलिभिजनमा देखेको थिएँ–
मेरो आँगनबाट देखिने हिमाल
अलि कालो भएछ, शायद बुढो भएर पो हो कि
केहि भन्न खोजे झैं देखिन्थ्यो
गाउँका अग्रजहरू पनि त बुढा भए होलान,
बुढ्यौलिसंगै एक्ला भए होलान
केही भन्न खोज्दा हुन तर सुन्ने कोही छन् कि छैनन् ?
सयपत्री त फूल्दो हो आँगनमा, माला बुन्ने कोही छन् कि छैनन् ?

म जस्तै सपनाको औंला समाएर मेरो पुस्ता पनि त हेलियो होला गाँउ बाहिर
कुहिरोले ढाकेका यस्तै कुनै बिहानीहरूमा

Tags :
प्रतिक्रिया दिनुहोस