नर्स आन्दोलन स्थगित: सरकारी वार्ताटोलीसँग ११ बुँदे सहमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नर्स आन्दोलन स्थगित: सरकारी वार्ताटोलीसँग ११ बुँदे सहमति


५ माघ २०७४, शुक्रबार


काठमाडौं । पेशागत सुरक्षा एवं एघार बुँदे माग राख्दै देशव्यापी आन्दोलन गर्दै आएका नेपाल नर्सिङ संघका पदाधिकारी र सरकारी वार्ता टोलीबीच सहमति भएको छ। बिहीबार राति सहमतिपत्रमा हस्ताक्षर गरेपनि नर्सिङ संघले एक महिनाभित्र कार्यान्वयन गर्न अल्टिमेटम दिंदै जारी आन्दोलनलाई स्थगित गरेको छ।

नौ दिनदेखि संघका पदाधिकारी आन्दोलित थिए। संघले अघि सारेका सबै माग कार्यान्वयनका लागि शीघ्र पहल गरिने स्वास्थ्य मन्त्रालयद्वारा गठित उच्चस्तरीय वार्ता टोलीका संयोजक डा. विनोद मान श्रेष्ठले जानकारी दिए।

सहमति भएका सबै बुँदा बारे मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीलाई जानकारी गराएर कार्यान्वयनतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले एक महिनाका लागि आन्दोलन स्थगित गरिएको बताइन् । उनले भनिन, ‘मागहरु कार्यान्वयन गर्न सहमति भएको छ। तर एक महिना भित्र कार्यान्वयन नभए फेरि आन्दोलन गर्न बाध्य हुन्छौं ।’ ११ बुँदे सहमतिपत्रमा मन्त्रालयको वार्ता टोलीका संयोजक डा. श्रेष्ठ र नर्सिङ संघको वार्ता टोलीको तर्फबाट कार्यवाहक अध्यक्ष थापाले हस्ताक्षर गरेका छन्।

मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशित दुई स्टाफ नर्सद्वय त्रजिना जति र सजना द्धौलालाई चौबिस घण्टाभित्र तीन महिनाको लागि करार सेवामा कामकाजमा लगाउन निर्देशन दिन सिफारिस गर्ने सहमति भएको छ । उनीहरुलाई गत साउन ३ गतेदेखि प्रकृया नपुगी निष्काशन गरिएको थियो । निष्काशन भएपछि आन्दोलन गरिरहेकाले सो मितिदेखि हालसम्मको अवधिको लागि यसअघि खाइपाई आएको मासिक तलब स्केलको पचहत्तर प्रतिशतले हुन आउने रकम उपलब्ध गराउन सिफारिस गर्ने सहमतिसमेत भएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस