‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’ « प्रशासन
prasaLogo
२० श्रावण २०७८, बुधबार
   

‘छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’


४ माघ २०७४, बिहिबार


अछाम । ममता विकलाई छाउ हुने समय आयो कि कहाँ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ ।

साबिकको शिद्धेश्वर गासि वडा नं ३ नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन्, त्यसैले पनि यस्तो बेला कहाँ बस्ने भन्ने ठेगान हुँदैन । कहिले घरको अथारामा, कहिले पाल हालेर आँगनमा सुत्नुपर्ने बाध्यता छ । सुरक्षित तरिकाले घरमै बस्ने भनेर छाउगोठ भत्काइए पनि छाउ भएका बेलाको बसाइ झन असुरक्षित बन्दै गएको छ । गाउँमा पानीको समस्या भएकाले दैनिक सरसफाइमा पनि समस्या हुने गरेको छ भन्छन् उनी ।

ममता कक्षा ९ मा पढ्छिन् । उनलाई छाउ भएका बेला रातभरिको असुरक्षित र अप्ठेरो सुताईले गाह्रो भएका बेला नुहाएर विद्यालय जान ढिलो हुन्छ । उनी भन्छन् ,“विद्यालय पुग्न करिब एक घण्टाको बाटो हिँड्नुपर्छ, कहिले ढिलो भएको दिन विद्यालय जाँदिन । महिनामा तीन चार दिन त पढाइ नै छुट्ने गर्छ । ”

गाउँमा ममताजस्ता थुप्रै विधालय जाने किशोरीको पनि समस्या उस्तै छ । कक्षा ९ मै पढ्ने यज्ञ विकको घर नजिकै नयाँ छाउगोठ बनाइएको छ । घरको अगाडि भएकाले पटक पटक देखिने त्यो छाउगोठले उहाँलाई बेलाबेलामा झस्काउँछ । हावा लागे पनि ढल्ला जस्तै सानो झ्याल, ढोका नभएकाले छाउ हुँदा ढोकामा थाङ्नोको पर्दा हालेर सुत्नुपर्छ । “छाउ भएर चोख्खिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ ।” ममता भन्छन्, “के गर्नु प्रत्येक महिनाको चार पाँच दिन त्यो कालसँग बाँच्नका लागि संघर्ष गर्नुपर्छ । घरपरिबारसँग छाउ भएका बेला गोठमा सुत्दिनँ भनेर सधैँ झगडा हुने गर्छ तर जति भने पनि कसैले सुन्ने हैनन् ।”

कक्षा ७ मा पढ्दै गरेकी राजकलाको पनि पीडा पनि कम छैन । उनी आफ्नो पिडा पोख्छन्, “रातभरिको जाडो, अनी डरैडरले सुत्नुपर्छ विद्यालय गए पनि पढाइतिर ध्यान हुँदैन । विद्यालय जाने उमेरका किशोरीले छाउ भएका बेला विभिन्न मानसिक तनाव खेप्नुपरेको छ ।”

“छाउपडी गोठ भत्काउँदैमा समस्याको समाधान हुँदैन, सिधै घरमा गएर बस्ने अवस्था पनि छैन त्यसैले गोठ भत्काएपछिको विकल्प पनि खोजिनुपर्छ ” पत्रकार कल्पना बोहरा भन्छन्, गोठ भत्काउनुभन्दा गोठलाई घर बनाउने अभियान सञ्चालन गर्नुपर्छ । अन्तरपार्टी महिला सञ्जालकी साँफेबगर नगर सचिव परिवर्तन विस्तारै हुने सुझाव दिन्छन् । छाउ भएका बेला घरमा बस्दा अनिष्ट हुनेजस्ता अन्धविश्वासले जरो गाडेका कारणले यो कुप्रथाको अन्त्य गर्न समय लाग्नेमा जोड दिंदै उनी भन्छन्, “पहिलेको तुलनामा अहिले केही परिवर्तन भएको छ । पहिले सात दिनसम्म गोठमा बस्नुपथ्र्यो भने अहिले चार दिनसम्म गोठमा बस्नुपर्छ । परिवार ठूलो, साघुँरो घरको बनावटले गर्दा पनि छाउ भएका बेला घरभित्रै बस्ने अवस्था छैन तर घरभन्दा बाहिरको बसाइ कम्तीमा सुरक्षित हुनुपर्छ ।

यहाँका सबैजसो विद्यालय वरिपरि देवीदेवताका मन्दिर भएकाले पनि डरले कतिपय किशोरी र महिला शिक्षकसमेत विद्यालय नै नजाने गरेको पाइएको छ । गाउँमा विभिन्न संघसंस्थाले सुरक्षित तरिकाले घरमै बस्नुपर्छ भन्दै धमाधम छाउपडी गोठ भत्काए तर अझै पनि महिला तथा किशोरीको ज्यान जाने क्रम रोकिएको छैन । छाउपडी गोठमुक्त गाविस घोषणा भएका गाविसमा समेत अहिले आएर धमाधम छाउगोठ बन्न थालेका छन् ।

जिल्लामा हालसम्म १२ किशोरी तथा महिलाको छाउगोठमै मृत्यु भएको छ । चार वर्षअघि अछामको रिडिकोट–४ की १५ वर्षीया शर्मिला भुलको छाउपडी गोठमै मृत्यु भएपछि गोठ भत्काउने अभियान शुरु गरिएको थियो । त्यसअघि जिल्लाको ढकारी, बारला, पायल, हात्तीकोटलगायत गाविसमा महिलाले छाउगोठमै ज्यान गुमाएको तथ्यांक छ ।

अभियानअन्तर्गत हालसम्म अछाममा साविकका ३१ गाविस छाउपडी गोठमुक्त भइसकेका छन् । जिल्लामा महिला तथा बालबालिका कार्यालय, सेभ द चिल्डेन, सम विकास नेपाल, सेवक नेपाल, वल्ड भिजनलगायतका दर्जनभन्दा बढी सरकारी तथा गैरसरकारी संस्थाले छाउपडी कुप्रथा अन्त्यका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । कुप्रथा अन्त्यका लागि काम गरे पनि प्रत्येक वर्ष जिल्लामा छाउगोठमा महिलाको ज्यान जाने क्रम भने नरोकिएकाले प्रतिफल शून्य जस्तै देखिएको छ ।

प्रतिक्रिया दिनुहोस