पत्ताल भूमेश्वर क्षेत्रलाई उजिल्याउन प्रयास « प्रशासन
prasaLogo
३ माघ २०७४, बुधबार

पत्ताल भूमेश्वर क्षेत्रलाई उजिल्याउन प्रयास


प्रकाशित मिति : 17 January, 2018 11:09 am

बैतडी । उचित संरक्षण र प्रचारको अभावमा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पत्ताल भूमेश्वर ओझेलमा पर्दै गएको छ ।

सुर्नया गाउँपालिका–२ वासुलिङ्गमा अवस्थित यो क्षेत्रमा गुफा, तलाउ र मन्दिर रहेका छन् । यहाँ रहेको नेपालकै गहिरो पबल भूमेश्वर गुफाको प्रवद्र्धनमा समेत सम्बन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी भजन विष्टको भनाइ रहेको छ ।

उत्तरपट्टि लहरै मिलेको अपि सैपाल हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिने पत्ताल भूमेश्वरमा लालीगुराँसको घना जंगलसमेत रहेकाले फागुन–चैतमा यो क्षेत्र राताम्मे हुन्छ । वैशाखदेखि असारसम्म रुखबाट ताजै काफल टिपेर खान मिल्ने यो क्षेत्रलाई उजिल्याउन ल्याउन सकिए आन्तरिक र बाह्य पर्यटकको एक आकर्षक गन्तव्य बन्ने स्थानीयवासी कपिल केसीको भनाइ छ । सीमावर्ती झुलाघाट नाकाबाट यातायात सञ्चालन गरिनुपर्छ । पाटन विमानस्थललाई सञ्चालनमा ल्याउन सकिए पर्यटकलाई अझ सहज हुन्छ । यसै वरपर ग्वाल्लेक केदार, रौलेश्वर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी, सिगास धुरा, दोगडा धाम, मेलौली भगवतीलगायतका पर्यटकीय गन्तव्यस्थल पनि छन् । शान्त वातावरणमा कोइली, न्याउली, कुक्कुजस्ता चराको आवाज सुनेर शहरको कोलाहलमा बस्ने जो कोही पनि रमाउन सक्छन् । प्राकृतिक सुन्दरतासँगै धार्मिक महत्व बोकेको यस ठाउँमा पाइला टेक्ने हरेकले अध्यात्मका साथै र प्रकृतिको रसस्वादन गर्न सक्ने स्थानीय युवक राजेन्द्र विष्ट बताउछन् ।

पत्ताल भूमेश्वर ४०० हेक्टर वन क्षेत्रमा फैलिएर रहेको छ । बैतडी सदरमुकामबाट १८ किमी पूर्वमा पर्ने सिउडेबाट २० मिनेट उक्लेपछि प्राकृतिक सुन्दरताले भरिएको स्थल पत्ताल भूमेश्वर पुगिन्छ ।

पत्ताल भूमेश्वरको महिमा

करिब ३०० वर्ष पहिलादेखि पत्ताल भूमेश्वरमा देवीदेवताको महिमा शुरु भएको स्थानीय बूढापाका बताउँछन् । हिन्दू धर्मावलम्बीहरुका आराध्यदेव शिव भगवान् आफ्नी अर्धाङ्गिनी पार्वतीसँगको बिछोडका बेला संसारका विभिन्न ठाउँ घुम्दै पत्ताल भूमेश्वरमा पनि पाइला टेकेका भन्ने जनविश्वास रहेको पत्ताल भूमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टले बताउछन् । उनले भने, “महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पाइताला पतन भएको किंवदन्ति छ ।” पत्ताल भूमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा रहेका छन् । पत्ताल भूमेश्वर, स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास छ । धुम्दै आएका शिव थाकेपछि पत्ताल भूमेश्वरमा विश्राम लिँदा त्रिशूल गाडेको र त्यो ठाउँ गुफा भएको भनिन्छ ।

परापूर्वकालमा स्थानीय विष्ट परिवारले गोठाला गएका बेला दिनहुँ एउटा गाई एक स्थान गएर आफैँ दुहिने गरेको र सो ठाउँमा गएर हेर्दा शिवलिङ्ग भेटिएको अर्को भनाइ पनि यहाँ प्रचलित छ । सोही स्थानमा पछि महादेवको मन्दिर बनाइएको हो ।

मन्दिर र तलाउको चारैतर्फ चारवटा गुफा भएको यस ठाउँमा शिव भगवान्ले लामो समय विश्राम लिएको विश्वास रहेकाले यो भूमि पवित्र मानिन्छ र यहाँ दर्शन गर्न आउने भक्तजनको मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

यस पत्ताल भूमेश्वरमा महादेव भगवान्को मन्दिर रहेको छ । मन्दिरको छेउमा तलाउ पनि छ । यस क्षेत्रको मुख्य हेर्न लायक ठाउँ पत्ताल भूमेश्वर गुफा हो । पत्ताल भूमेश्वरको चारैतिर डाँडाकाँडा र मनमोहक दृश्य हेर्न पाइन्छ । हरेक पर्वमा पूजाआजा गरिने पत्ताल भूमेश्वर मन्दिरमा महाशिवरात्रि र रामनवमीमा ठूलो मेला लाग्ने गर्छ । विवाह बन्धनमा बाँधिनेहरु पनि यहाँ आउँछन् ।

स्थानीय मन्धिरे नामका महात्मा दुई दशक अगाडिदेखि पत्ताल भूमेश्वर मन्दिरमा बस्दै आएका थिए र उनकै पहलमा शिव मन्दिर निर्माण गरिएको हो । उनको एक दशक अगाडि मृत्यु भएपछि पत्ताल भूमेश्वर गुफा, तलाउ र मन्दिरको रेखदेख गर्ने कोही भएन ।

“पर्यटन भित्र्याउन सरकारी तथा गैरसरकारी संघसंस्था, व्यक्ति तथा समाजबाट सहयोगको याचना गरिरहेका छौँ,” पत्ताल भूमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्टले भने, “यसको प्रचारप्रसार गर्न सकिए विश्व सम्पदा सूचीमा पर्न सक्छ ।”

नेपालकै गहिरो गुफा

प्राचीनकालदेखि रहिआएको यहाँको गुफाको अन्तिम बिन्दुमा दूधको धारा रहेको जनविश्वास रहेको छ । बैतडीस्थित पत्ताल भूमेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताको दाबी रहेको छ । केही वर्ष अगाडि इन्टरनेशनल सेन्टर फर दि एक्सप्लोरेशन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले ८०० मिटरसम्मको अध्ययन गर्दा पत्ताल भूमेश्वर गुफाको गहिराइ १६० मिटर रहेको ठम्याएको थियो । आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीमा अभावमा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियोे ।

यसअघि तनहुँको बन्दिपुरस्थित ६५ मिटर गहिराईको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाका रुपमा मानिँदै आइएको थियो । दुसेनको अध्ययन टोलीले पत्ताल भूमेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्री स्वरुप झल्कने ‘टोपोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताएको थियो । संसारका एक हजार ३०० गुफा घुमिसकेका दुसेनले पर्यटन प्रवद्र्धन केन्द्रको पहलमा पत्ताल भूमेश्वरको अध्ययन शुरु गरेका हुन् ।

पत्ताल भूमेश्वर गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरी रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ । गुफाभित्र पस्नुअघि शुद्ध हुनुपर्ने र महादेवलाई धूपबत्ती गरेपछिमात्र भित्र प्रवेश गर्न पाइने परम्परा रहेको छ । गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनमोहक हिमालको दृश्यावलोकन समेत गर्न सकिने पर्यटन व्यवसायी बताउँछन् । गुफाको मुख्यद्वारबाट भित्र पसेपछि केही ओरालो हिँड्नुपर्छ । त्यसपछि फराकिलो ठाउँमा चौराहा (चारवटा बाटो) आउँछ जसमध्ये पूर्वतर्फको फराकिलो बाटो हिँडेर पानीको धारा हेर्न सकिन्छ ।

पत्ताल भूमेश्वरको मुख्य आकर्षण भनेको सदाबहार जंगलको बीचमा रहेको कहिल्यै नसुक्ने तलाउ र गुफा हो । बैतडीकै उच्च स्थानमा अवस्थित पत्ताल भूमेश्वर एक तीर्थस्थल पनि हो । यस ठाउँमा रहेको तलाउको पानी एकपटक शिरमा चढाउनै पर्ने र यसो गरेमा पवित्र भइन्छ भन्ने जनविश्वास रहिआएको छ ।

पत्ताल भूमेश्वर वरपरको वन क्षेत्रमा बेवारिसे अवस्थामा छोडिने चौपायाका कारण तलाउ फोहर हुँदै गएको स्थानीयवासी तिलक विष्ट बताउछन् । उनले भने, “भक्तजनले लगेका प्लास्टिकका पोलिथिन जताततै फाल्ने गर्नाले वातावरण फोहर बन्दै गएको छ ।”

केही समय अगाडि तत्कालीन जिल्ला विकास समिति बैतडीले पत्ताल भूमेश्वर गुफाभित्र ७५ मिटरसम्म विद्युतीकरण गरेको भए पनि संरक्षण र संवद्र्धन गर्ने कोही नभएर तार चोरी भयो ।

पत्ताल भूमेश्वरको संरक्षण र सम्बद्र्धनका लागि प्रवासमा रहेका बैतडीका युवा जुटेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत तीन लाखभन्दा बढी रकमसमेत संकलन गरेका छन् ।

मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पत्ताल भूमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाइन अभियान नाम दिएर उक्त रकम संकलन गरेको उक्त अभियानका सहकोषाध्यक्ष वीरबहादुर विष्टले बताए । उनका अनुसार उक्त संकलित रकम पत्ताल भूमेश्वरको प्रवेशद्वारमा मूलढोका र संरचना निर्माण गर्न खर्च गरिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस