चुरे क्षेत्रमा ९० वर्गकिलोमिटर पहिरो « प्रशासन
prasaLogo
१२ श्रावण २०७८, मंगलबार

चुरे क्षेत्रमा ९० वर्गकिलोमिटर पहिरो


२ माघ २०७४, मंगलबार


काठमाडौं । देशको पश्चिम भेगको चुरे क्षेत्रमा ९० वर्गकिलोमिटर पहिरो गएको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वातावरण विज्ञान विभागले गरेको अनुसन्धानमा पश्चिमका १२ जिल्लामा ९० वर्गकिलोमिटर पहिरो गएको पत्ता लागेको हो ।

चुरे क्षेत्रको पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा काम गर्ने उद्देश्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र विभागले एक वर्ष लगाएर अनुसन्धान गरेका थिए । परियोजना संयोजक डा। सुबोध ढकालका अनुसार यस क्षेत्रमा चार सय वर्गमिटरभन्दा ठूला पहिरोको संख्या ७३ सय ७७ छ । सतही भूक्षयको समेत ठूलो समस्या रहेको छ । कञ्चनपुर, डडेल्धुरा, कैलाली, डोटी, बर्दिया, सुर्खेत, बाँके, दाङ, सल्यान, प्युठान, अर्घाखाँची र कपिलवस्तुमा पहिरोको जोखिम बढी छ ।

‘भौगर्भिक बनोट र भौगर्भिक प्रक्रिया चुरे क्षेत्रको पहिरोलाई समग्र रूपमा नियन्त्रण गर्ने प्रमुख कारण रहेको भन्ने कुराको पुष्टि भएको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘भौतिक र रासायनिकजस्ता बाहिरी र भित्री दुईवटै प्रक्रियाले कमजोर चट्टानमा प्रभाव पार्दा र पानीको निकास राम्रो नहुँदा पहिरोको समस्या बढ्न गएको देखिएको छ ।’

मानव जातिका कारण पुरानो पहिरोलाई काट्दै बनाइएका सडक संरचना पहिरोलाई पुनः उक्साउने मुख्य कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कोहलपुर–सुर्खेत रोडमा यस्ता समस्या धेरै देखिएका छन् । त्यसैगरी पानीको कमजोर निकास, खोलाले भिरलाई काट्ने प्रक्रिया र जमिनअनुसारको रूखको अभावले पनि पहिरो जाने गरेको उल्लेख छ ।

विभागले भूउपग्रहबाट लिएका तस्बिर र फिल्ड अध्ययनका आधारमा पहिरोको संख्या पत्ता लगाएको हो । संयोजक ढकालले पूर्वको चुरे क्षेत्रभन्दा पश्चिमको चट्टान राम्रो रहेको र वनलगायत विकासका कारण पहिरो जाने अवस्था कम रहेको बताए । संख्यात्मक रूपमा पश्चिमभन्दा पूर्वमा पहिरोको जोखिम बढी रहेको उनको भनाइ छ । अध्ययनले गत जेठसम्मको पहिरोको संख्या समेटेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस