कांग्रेस कार्यसम्पादन र संसदीय समिति भंग गर्न पौडेलको माग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कांग्रेस कार्यसम्पादन र संसदीय समिति भंग गर्न पौडेलको माग


२ माघ २०७४, मंगलबार


काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले विधानविपरीत गठन भएका केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समिति पुनर्गठन वा भंग गर्न माग गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सोमबार बिहान भएको भेटमा पौडेलले यस्तो माग राखेका हुन् ।

विधानविपरीत कार्यसम्पादन समिति २९ र संसदीय समिति २७ सदस्यीय बनाएर शीर्ष नेताका निकटस्थलाई टिकट दिइएको पौडेल पक्षको आरोप छ । पौडेल पक्षको भेलाले यी दुई समिति भंग गर्न सभापतिसँग माग गर्ने जिम्मेवारी पौडेललाई दिएको थियो । ‘निर्वाचनको परिणामपछि कांग्रेसमा करेक्सन जरुरी देखिएको छ । यस विषयमा गम्भीर रूपमा कदम चाल्नुपर्ने विषय सभापतिसँग राखेको छु,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘कार्यसम्पादन समिति र संसदीय समिति दुवै विधानविपरीत भयो । यसलाई सके सुधार गरौँ, होइन भने विघटन गरेर अर्कै बनाऊँ भन्ने प्रस्ताव राखेको छु ।’

सभापति देउवाले भने पौडेल र महामन्त्री डा। शशांक कोइरालाको समेत सहमतिमा कार्यसम्पादन समिति तथा संसदीय समिति सदस्य थप गरिएको जवाफ फर्काएका थिए । ‘तपाईंहरूको समेत सहमतिमा सदस्य थपिएको हो । तपाईंहरूले पनि थपौँ भन्नुभयो अनि थपिएको हो,’ देउवाले भने । सदस्य घटाउने हो भने पनि आफू तयार रहेको देउवाको भनाइ थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस