प्रमुख नतोकिँदा नतिजा अड्कियो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रमुख नतोकिँदा नतिजा अड्कियो


२८ पुस २०७४, शुक्रबार


काठमाडौं । सरकारले प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ गर्दा निर्वाचन आयोगले प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फको नतिजा सार्वजनिक गर्न सकेको छैन ।

कानुनी जटिलताका कारण आयोग तयार भइसकेको नतिजा ‘होल्ड’ गरेर बस्न बाध्य छ ।

सातै प्रदेशको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका ३ सय ३० निर्वाचन क्षेत्रको परिणाम आएको करिब एक महिना भइसकेको छ । समानुपातिकतर्फका २ सय २० सिटको परिणाम दिन भने आयोग प्रदेश प्रमुख नियुक्तिको प्रतीक्षा गरेर बसेको छ । स्रोतका अनुसार आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले पुस २१ गते नै सम्पूर्ण परिणाम तयार गरिसकेको छ । तर, त्यसलाई सार्वजनिक गर्न आयोग बैठकबाट अनुमोदन गराउनुपर्ने प्रक्रिया अघि बढ्न सकेको छैन ।

आयोगले पुस ७ गते नै सातवटै प्रदेशसभामा समानुपातिकबाट विभिन्न दलका भागमा पर्ने सिट संख्या सार्वजनिक गर्दै विजयी हुने उम्मेदवारको नाम प्रस्ताव गर्न दललाई पत्राचार गरेको थियो । बन्दसूचीबाट पाएको सिटअनुसारको नाम पठाउन दलहरूलाई १४ गतेसम्मको समय दिइएको थियो । प्राप्त नामावलीउपर आवश्यक छानबिन गरी नमिलेको विषय मिलाउन आयोगले दलहरूलाई थप तीन दिनको समय तोकेको थियो । पुस २० गतेभित्र सबै दलले सच्याउनुपर्ने विषय मिलाएर आयोगमा नामावली बुझाएका थिए । त्यसलगत्तै परिणाम तयारपारिएको हो ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालले प्रदेश प्रमुख नियुक्त हुन नसकेकै कारण सातवटै प्रदेशसभाको समानुपातिक परिणाम दिन नसकिएको बताए । ‘प्रदेशसभाको रिजल्ट तयार छ । सामान्य केही कुरा मिलाउन बाँकी होला तर त्यसले रिजल्ट दिन समस्या पारेको छैन,’ उनले भने, ‘संवैधानिक र कानुनी प्रावधानका कारण परिणाम दिन प्रदेश प्रमुखको नियुक्ति पर्खनुपरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस