संघीय संसद् सञ्चालनको खाका कोर्दै सचिवालय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संघीय संसद् सञ्चालनको खाका कोर्दै सचिवालय


२८ पुस २०७४, शुक्रबार


काठमाडौं । संघीय संसद् सञ्चालनका लागि नियमावली निर्माण प्रक्रिया अघि बढेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा गरी दुई सदनात्मक संघीय संसद् सञ्चालन गर्न तीनवटा नियमावली आवश्यक पर्ने निष्कर्ष संसद् सचिवालयले निकालेको छ । विगतको अभ्यासअनुसार पनि प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै कार्यसञ्चालन नियमावली आवश्यक पर्ने, तल्लो र माथिल्लो सदनको संयुक्त बैठक सञ्चालन गर्न अर्को नियमावली बनाउनुपर्ने सचिवालयले जनाएको छ ।

संसद्ले नियमावली बनाउन समिति गठन गर्ने गर्छ । तर, समितिको काम छिटो सम्पन्न गर्न र नियमावलीलाई चाँडो अन्तिम रूप दिन सचिवालयले सहजीकरणको भूमिका मात्र निर्वाह गरिरहेको सचिवालय प्रवक्ता डा. भरतराज गौतमले बताए । ‘हामीले विगतको अभ्यासलाई हेरेर खाका तयार गरेर सहजीकरण गर्ने मात्रै हो । कस्तो नियमावली बनाउने भन्ने सम्पूर्ण जिम्मेवारी सांसदहरू सम्मिलित समितिको हो,’ उनले भने ।

संविधान जारी भइसकेपछि रूपान्तरित संसद्को कार्यसञ्चालन नियमावली पारित हुन नौ महिना लागेको थियो । संसदीय सुनुवाइ विशेष समिति १५ सदस्यीय हुने वा पुरानै व्यवस्थाअनुसार ७५ सदस्यीय बनाउने भन्नेलगायतका विवाद थिए । दलीय विवादले पुरानै कार्यसञ्चालन नियमावलीबाट लामो समय संसद् चलेको थियो । नयाँ संविधानअनुसार निर्माण हुने संघीय संसद् सञ्चालनको नियमावली चाँडो बनोस् भन्ने उद्देश्यले आफूहरूले खाका तयार पारेर सहजीकरणको भूमिका निर्वाह गरेको सचिवालयले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस