डा. गोविन्द केसीको अनशन जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा. गोविन्द केसीको अनशन जारी


२८ पुस २०७४, शुक्रबार


काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्रा.डा. गोविन्द केसीले अनशन जारी राखेका छन् । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र एसएलसीको प्रमाणपत्र झिकाउन आदेश दिई केसीलाई सामान्य तारेखमा रिहा गरेसँगै बिहीबार उनले अनशन तोड्ने अनुमान गरिएको थियो । तर, केसीले बिहीबार आफू निकटस्थहरूसँग छलफल गरेपछि अनशन जारी राख्ने निर्णय लिएको उनका सहयोगी डा। अभिषेकराज सिंहले बताए ।

पुराना मागहरूबारे सरकारलाई झकझक्याउँदै केसीले मुख्य दुई नयाँ माग राखी अनशन लम्ब्याएका छन् । प्रधानन्यायाधीशको राजीनामा र आइओएमका डिन डा. जगदीश अग्रवालको पुनर्वहाली नभएसम्म आफ्नो अनशन जारी रहने उनको भनाइ छ ।

डा। केसीले मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियान जारी रहेको बताएका छन् । ‘मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियानअन्तर्गत म सत्याग्रहमा रहेको कुरा विदितै छ । सत्याग्रहको क्रममा अदालतको अवहेलनासम्बन्धी मुद्दा लगाएर मलाई गिरफ्तार गरी अदालतमा उपस्थित गराई बयान गराइएको र मुद्दाको कारबाही सुरु गरिएको पनि विदितै छ,’ बिहीबार साँझ केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनले प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताका प्रमाणपत्र छानबिन गरिनुपर्ने बताए ।

केसीले अदालतप्रतिको सम्मान र निष्ठा सधैँ उच्च रहेको बताएका छन् । प्रधानन्यायाधीश पराजुलीको सम्बन्धमा आफूले उठाएका प्रश्नलाई अदालतले गम्भीरतापूर्वक लिई उनलाई न्यायिक छानबिनको दायरामा राखेकोमा उनले प्रशंसा गरेका छन् ।

‘न्यायिक छानबिनपछि सत्यतथ्य निर्णय हुने कुरामा म विश्वस्त छु,’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘पराजुलीको आधारभूत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानबिन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा उनी कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य छैनन् ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस