एकल संक्रमणीय सिक्दै आयोग : कर्मचारीलाई सिकाउन दिनदिनै निर्वाचन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एकल संक्रमणीय सिक्दै आयोग : कर्मचारीलाई सिकाउन दिनदिनै निर्वाचन


२७ पुस २०७४, बिहिबार


काठमाडौं । निर्वाचन आयोगमा बुधबार अपराह्न मतगणना भइरहेको थियो । मेञ्चमा मत गणना गर्नेहरू थिए भने त्यसको ठीक तल उम्मेदवारहरू लहरै कुर्सीमा बसेर कागजमा आफू र आफ्ना प्रतिस्पर्धीले पाएको मत टिपिरहेका थिए । टेबलमा दुई रङका मतपेटिका थिए। लहरै प्रदेशअनुसारका उम्मेदवार पनि ।

जितिन्छ कि हारिन्छ ? मतगणनास्थलमा उम्मेदवारहरू उत्सकुताका साथ बसिरहेका थिए । गणनास्थलमै तत्काल प्राप्त मत कोटाभन्दा थोरै पाए पनि मत संक्रमण गर्दा उम्मेदवार विजयी भए । बराबर मत पाएकालाई तत्कालै गाई र त्रिशूल विधि (गोला) विधिबाट निर्वाचित घोषणा गरियो। विजयीलाई बधाई पनि ज्ञापन गरियो । बन्द कोठाभित्रै तात्तातै जनमत बुझ्ने कामप्रति सबैको उस्तै उत्साह देखिन्थो ।

स्थानीय तह र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि पनि आयोगमा तीन दिनयता यसरी मतणना भइरहेको छ । एकल संक्रमणीय विधिबाट मतगणना कसरी गर्ने भन्नेबारे कर्मचारीलाई ज्ञान दिन आयोगमा भइरहेको तालिम रोचक थियो । मतदाता र गणक गरी दुई दर्जन कर्मचारीलाई यस्तो विधिको बारेमा आयोगका विज्ञ देवेन्द्रलाल काररञ्जितले तीन दिनयता सिकाइहेका छन् ।

एकल संक्रमणीय प्रणालीमा कसरी मत हालिन्छ र कसरी गणना गरिन्छ भन्नेबारे धेरै अनविज्ञ छन्। त्यही कारण पनि अगामी माघ २४ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले एकल संक्रमणीय विधिबाट निर्वाचन गराएरै गणना विधिबारे बुझाउने काम गरिरहेको प्रवक्ता नवराज ढकालले बताए । तथ्यांक विभागका कर्मचारीलाई मतगणना कसरी गर्ने र मत कसरी टन्सर्फर गर्र्ने आदि विधिबारे राम्रोसँग बुझाउने काम भइरहेको छ ।

कर्मचारी पनि यस्तो तरिकाबारे जिज्ञासु देखिन्थे। तथ्यांकशास्त्रमा ज्ञान भएकाले मात्रै यसलाई राम्रोसँग प्रयोग गर्न र बुझाउनसक्ने भएकाले पनि तथ्यांक विभागकै कर्मचारीलाई मतगणनामा समावेश गर्न लागिएको आयोगको भनाइ छ । ‘यो नौलो विधि भएकाले पहिले जनशक्तिलाई बुझाउन जरूरी छ । अनि मात्रै उनीहरूले अरूलाई बुझाउन सक्छन्’, ढकालले भने। उनका अनुसार मुख्य निर्वाचन अधिकृत र उम्मेदवारका लागि पनि यसबारे तालिम दिइनेछ ।

०४८ सालमा एकल संक्रमणीय विधिबाटै राष्ट्रियसभा निर्वाचन भए पनि अहिले अनुभवी कर्मचारी नहुँदा आयोगले जनशक्तिलाई दक्ष पार्न लागेको हो। ‘धेरै जटिल विधि होइन, केही मुलुकमा स्थानीय तहमा समेत यो विधिबाट निर्वाचन हुन्छ’, प्रवक्ता ढकालले भने । निर्वाचनका लागि पहिले कर्मचारीलाई बुझाएपछि मात्रै मतदाता तथा उम्मेदवारलाई त्यसबारे तालिम दिने उद्देश्यले आयोगले यसको तयारी गरेको हो । उनीहरू नै निर्वाचन तयारीका लागि तालिम दिनुका साथै मतगणनाका लागि खटिनेछन् । मतगणना सफ्टवेयरबाट नगर्ने निष्कर्षमा आयोग पुगेको छ । यो विधिबारे बुझाउन र पारदर्शी भएको उम्मेदवारलाई विश्वास दिलाउन पनि मानिसले नै गणना गर्न लागिरहेको आयोगको भनाइ छ ।

यो विधिमा निश्चित कोटामा मत ल्याए मात्रै उम्मेदवार विजयी हुन्छ । त्यसका लागि कुल सदर मतलाई रिक्त स्थानले भाग गरी त्यसमा एक जोडेर परिणाम निकालिन्छ। निर्वाचनपछि सदरमतको परिणाको आधारमा कोटा निर्धारण गरिन्छ। निश्चित कोटा पुगेपछि उम्मेदवार विजयी हुन्छ । उसले कोटाभन्दा बढी मत पाएमा मत रुपान्तरण हुन्छ । त्यही संक्रमण मतबाट उम्मेदवार विजयी हुन्छन्। उम्मेदवार विजयी भयो वा प्रतिस्पर्धाबाट बाहिरियो भने मात्रै उसको मत अन्यमा संक्रमण गरिन्छ । उम्मेदवारले निश्चित तोकिएको मतभन्दा बढी पाएर जितेको छ भने उसको कोटाभन्दा बढी मत दोस्रो प्रतिस्पर्धीले पाउँछ र उसले पनि निर्वाचन जित्ने सम्भावना रहन्छ ।

निर्वाचन परिणाम घोषणा गर्दा निर्वाचन अधिकृतले प्रदेशसभाका सदस्यले दिएको मत तथा गाउँपालिकाको अध्यक्ष/उपाध्यक्ष, नगरपालिका प्रमुख/उपप्रमुखले दिएको मत छुट्टाछुट्टै गणना गरी राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशको दफा ५५ बमोजिमको मतभारका आधारमा जम्मा सदर मत कायम हुन्छ । एकल संक्रमणीयबाट हुने निर्वाचनबाट आउने परिणाम पनि बढी समावेशी र जनताको अभिमतको सम्मानसमेत हुने विज्ञहरू बताउँछन् ।

मतदाताले उम्मेदवारहरूको प्राथमिकता क्रम निर्वाचन गरेपश्चात जुन उम्मेदवारले प्राथमिक मतसहित निश्चित कोटा पार गर्छ, उसलाई तत्काल विजयी घोषणा गरिन्छ । यसरी घोषणा गर्दा निर्वाचित उम्मेदवारलाई प्राप्त आवश्यक कोटाभन्दा बढी मत नियमानअुसार दोस्रो प्राथमिकताक्रममा उम्मेदवारलाई वितरण गरिन्छ र यसरी मत वितरण गर्दा सबैभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारलाई क्रमशः हटाउँदै लगिन्छ ।

एकल संक्रमणीय विधिबाट निर्वाचन गर्नका लागि दुई रङका चार किसिमका मतपत्रको तयारी गरिएको छ। दलित अपांग, महिला र अन्यको गरी चार किसिमको मतपत्र बनाउन लागिएको हो ।

निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५ सय ६, प्रदेशसभाका ५ सय ५० गरी कुल दुई हजार ५६ मतदाता सहभागी हुने छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ। संविधानअनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रियसभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ ।

प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जना सदस्य निर्वाचित हुनेछन् । तीन जना महिला तीन जना दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक जना र अन्य तीन जना निर्वाचित हुने छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस