नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नक्कली राहदानीमा युरोप छिर्न खोज्ने दुई बंगलादेशी पक्राउ


२६ पुस २०७४, बुधबार


काठमाडौं । बंगलादेशको राजधानी ढाकामा पोर्चुगलको नक्कली राहदानी खरिद गरी नेपाललाई ‘ट्रान्जिटु बनाई युरोपेली मुलुक छिर्न खोज्ने दुई बंगलादेशी नागरिक काठमाडौंमा पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले बंगलादेशी नागरिक मोहम्मद रहमान र एमडी मारुफ हुसेनलाई पुस २३ गते चीनको कुनमिङ जाने क्रममा अध्यागमन जाँचका बेला पक्राउ गरेको हो ।

पोर्चुगलको नक्कली राहदानीमा पुस १८ गते नेपाल छिरेका रहमान र हुसेनले कुनमिङ जाने क्रममा शंकास्पद व्यवहार देखाएपछि अध्यागमनका कर्मचारीले उनीहरूमाथि थप सोधपुछ र निगरानी गरेका थिए । त्यही क्रममा अध्यागमनका कर्मचारीले राहदानी परीक्षण गर्दा पोर्चुगलको राहदानी नक्कली भएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा उनीहरूको साथबाट बंगलादेश र पोर्चुगलको दुई वटा राहदानी भेटिएको थियो । विमानस्थल अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलियाले ती दुई बंगलादेशी नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाएको बताए । अध्यागमन विभागले ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस