स्थानीय सरकारको अनुभूति भएन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्थानीय सरकारको अनुभूति भएन


२५ पुस २०७४, मंगलबार


दाङ । जिल्लास्थित घोराही र तुलसीपुर उपमहानगरपालिकाले छिटो लोकप्रियता आर्जन हुनेखालका कामलाई प्रथामिकता दिइरहेका छन् । जुम्ल्याहा उपमहानगरबीच यस्ता काम गर्न प्रतिस्पर्धा छ । कतिपय काममा एकले अर्काको नक्कल गरेको देखिन्छ । कतिपयमा नयाँपन देखाएर मतदाताको मन जित्ने कोसिस पनि देखिन्छ ।

जनप्रतिनिधिले निर्वाचनमा गरेका प्रतिबद्धतामध्ये बढी लोकप्रिय हुने कामलाई पहिलो प्राथमिकता दिएका हुन् । तुलसीपुरले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण र घरमै स्वास्थ्य जाँच सुरु गर्‍यो । लगत्तै घोराहीले पनि ज्येष्ठ नागरिकलाई परिचयपत्र र घरमै स्वास्थ्य सेवाको काम थाल्यो । तुलसीपुर उपमहानगरका प्रमुख घनश्याम पाण्डेले आइतबार १८ र १९ नम्बर वडाका १४ वृद्धवृद्धालाई घरमै पुगेर टोपी, कम्बल र सल वितरण गरे । न्यानो कपडा पाउने १८ नम्बर वडाका ८४ वर्षीय खिमकुमारी गौतम, ईश्वरादेवी उपाध्याय, सन्तकुमारी कुँवर, पानकुमारी पुन र दुर्गा बस्नेतले खुसी व्यक्त गरे ।

तुलसीपुर–४ रक्षाचौरमा पनि वडा कार्यालयको अगुवाइमा ८० वर्ष पुगेका २० वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरियो । उपमहानगरले दलित, जनजाति र अल्पसंख्यकका हकमा ८० वर्ष र अन्य ८४ वर्ष पुगेकालाई न्यानो कपडा वितरण गर्ने निर्णय गरेको प्रमुख पाण्डेले बताए । घोराहीले ८० वर्ष पुगेका वृद्धवृद्धालाई घरमै गएर निःशुल्क स्वास्थ्य जाँच थाल्यो । नगर प्रमुख नरुलाल चौधरीले वडा नम्बर २ का ज्येष्ठ नागरिकका घरमै पुगेर स्वास्थ्य जाँच सुरु गरे । चिकित्सकसहित घोराही २ कालीमाटी गाउँ पुगेको टोलीले स्थानीय ८० वर्षीय कुलानन्द पुरी र उनकी ८० वर्षीया श्रीमती चेतादेवी पुरीको स्वास्थ्य जाँच गरी अभियानको थालनी गर्‍यो । वडामा ८४ वर्षमाथिका २२ र पूर्ण अपांगता भएका १७ जनालाई घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्यक्रम तय भएको प्रमुख चौधरीले बताए ।

घोराहीले नगर क्षेत्रका ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण थालेको छ । यसअघि महिला तथा बालबालिका कार्यालयबाट हुँदै आएको काम उपमहानगरबाट भएको हो । नगर कार्यपालिका बैठकबाट निर्णय भएबमोजिम ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई परिचयपत्र प्रदान गरिएको प्रमुख चौधरीले बताए । अहिलेसम्म ४ सय ५० लाई वितरण गरिसकेको उनले जानकारी दिए । तुलसीपुरका प्रमुख पाण्डेले चुनावमा गरेको प्रतिबद्धताअनुसार आइतबारदेखि टरिगाउँ विमानस्थलमा जहाज सञ्चालन गराए । साताको दुई दिन आइतबार र बुधबार जहाज सञ्चालन हुने उनले बताए । हालसम्म चार पटक चल्दै बन्द हुँदै आएको विमानस्थल पाण्डेकै पहलमा फेरि सञ्चालनमा आएको छ । २०११ फागुन ११ मा परीक्षण उडान गरिएपछि लगातार २०५२ सालसम्म जहाज चलेको थियो । २०६० सालदेखि २०६६ सालसम्म लगातार उडान भयो । २०७२ मा फेरि सञ्चालन भए पनि नौ महिनामै बन्द भयो । लामो समयदेखि अनियमित विमानस्थल सञ्चालन हुनुपर्ने यस क्षेत्रको माग थियो । उक्त मागलाई मध्यनजर गर्दै तुलसीपुर उपमहानगरपालिकाले टिकटको सम्पूर्ण जिम्मेवारी लिएर समिट एयरको जहाज उडाउन थालेको हो । चुनावमा गरेका प्रतिबद्धता पूरा गर्ने कामलाई पहिलो प्राथमिकता दिइएको प्रमुख पाण्डेले बताए ।

घोराहीले चुनावी प्रतिबद्धताअनुसार यही माघ १ देखि थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ । आइतबार सम्पन्न नगर बैठकले प्रथम नगरसभाबाट पारित नीति कार्यक्रमअनुसार थारू भाषालाई कामकाजको भाषा बनाउने निर्णय गरेको नगर प्रमुख चौधरीले बताए । उपमहानगर र सबै वडा कार्यालयमा कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय भएको चौधरीले जानकारी दिए । थारू भाषामा आएका निवेदनहरू दर्ता गरी कार्य सम्पादन गर्ने र कार्यालयमा थारू सेवाग्राहीसँग थारू भाषामै कुराकानी गर्न सकिने उनले जानकारी दिए । माघ १ गते अर्थात माघी पर्व थारू समुदायको महत्त्वपूर्ण चाड भएकाले यही अवसरमा उक्त निर्णय गरिएको उनले बताए । तुलसीपुरमा नियमित सरसफाइ अभियानसमेत चलिरहेको छ । घोराहीमा पनि त्यस्तैखालको अभियान चलिरहेको छ । तुलसीपुर र घोराही दुवैले वर्षामा बाढीपीडितलाई घरमै गएर राहत तथा क्षतिपूर्ति वितरण गरेका थिए । अन्य काममा पनि यस्ता धेरै समानता छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस