पशुपतिको बालुवामा गिद्धेदृष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पशुपतिको बालुवामा गिद्धेदृष्टि


२४ पुस २०७४, सोमबार


काठमाडौं । राज्यकोषमा करोडौँ क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको छ । उपप्रधानमन्त्री विजयकुमार गच्छदार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवको मिलेमतोमा अति थोरै रेट कायम गर्दै आफू निकटका ठेकेदारलाई बालुवा ठेक्का दिन गृहकार्य भइरहेको छ ।

स्रोतका अनुसार उपप्रधानमन्त्री गच्छदारले पर्यटनमन्त्री देवलाई पशुपति क्षेत्रको बालुवा ठेक्कामा दिने न्यूनतम रेटसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराउन दबाब दिँदै आएका छन् ।

मन्त्री देवले अख्तियारको कारबाहीमा पर्न सक्ने डर देखाउँदै पन्छन खोजे पनि अहिले गच्छदारको दबाब थेग्न नसकेपछि उनी यो प्रक्रियालाई अगाडि बढाउन लागेका छन् । देव गच्छदारकै कोटामा मन्त्री बनेका हुन् ।

पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्को अध्यक्षमा संस्कृति तथा पर्यटनमन्त्री र संरक्षकमा प्रधानमन्त्री रहने व्यवस्था छ ।

कोषको गोठाटारमा पाँच सय ३४ रोपनी जग्गा छ । यही जग्गाको बालुवा ठेक्कामा दिने गृहकार्य भएको हो । व्यवसायीका अनुसार यो क्षेत्रमा झन्डै ५ अर्ब बराबरको बालुवा छ तर अहिले कोषको राजस्वमा ३० देखि ४० करोड मात्रै आउने गरी ठेक्काको योजना बुनिएको छ ।

बालुवा ठेक्का दिने गृहकार्यका सम्बन्धमा आइतबार मन्त्री देवसँग मन्त्रालयमा पुगेका र जानकारी माग्दा यस विषयमा ‘केही पनि नबोल्ने’ भन्दै उनी तर्के । निकै तनावमा देखिएका मन्त्री देवले भने, ‘लहरो तान्दा पहरो गर्जन्छ भन्ने कुरा यहाँलाई थाहै छ, त्यसैले यो विषयमा अहिले केही नबोलौँ ।’

राज्यकोषलाई घाटा पुग्ने गरी बालुवा ठेक्का दिने तयारी गर्नुभएको हो भन्ने पटक–पटकको प्रश्नमा उनले भने, ‘अहिले यस सम्बन्धमा केही पनि नसोध्नुस् म केही दिनपछि बोलौंला ।’

स्रोतका अनुसार उपप्रधानमन्त्री गच्छदारले पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेसहित केही सहसचिवलाई पनि बालुवा ठेक्कामा दिने आफूहरूको योजनामा सहयोग गर्न आग्रह गर्दै आएका छन् ।

गच्छदारले बालुवा ठेक्का दिन सके निर्वाचनमा भएको खर्चको जोहो गर्न सकिने र पार्टीलाई पनि सहयोग पुग्ने भएकाले आफूहरूलाई सहयोग गर्न प्रशासनिक अधिकारीलाई फकाएको स्रोतको दाबी छ ।

गच्छदारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई समेत सहयोगी बन्न पटक–पटक आग्रह गर्दै आएका छन् । तर, मुख्यसचिव रेग्मी यो प्रस्ताव कुनै हालतमा मन्त्रिपरिषद्मा पेस गर्न नदिने तयारीमा रहेको बताइएको छ ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकमा गच्छदारले बालुवा ठेक्कामा दिने आफूहरूको योजनामा मुख्यसचिव बाधक बनेको भन्दै उनीमाथि आक्रोश पोखेका थिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस