सरकारले प्रदेश राजधानी नतोकेर जनता भड्काउने काम गर्‍यो : एमाले « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारले प्रदेश राजधानी नतोकेर जनता भड्काउने काम गर्‍यो : एमाले


२३ पुस २०७४, आइतबार


काठमाडौं । एमालेले प्रदेशको अस्थायी राजधानी तोक्ने कार्य नगरी सरकार जनताको भावना भड्काउने खेलमा लागेको आरोप लगाएको छ । सरकारले प्रदेश प्रमुखहरूलाई काठमाडौंमै शपथ गराउने गरी अस्थायी राजधानी नतोक्ने रणनीति अख्तियार गरेलगत्तै एमालेको प्रतिक्रिया आएको हो ।

प्रदेशको अस्थायी राजधानी नतोकिँदा प्रदेश संसद् बैठक बस्ने भवनको तयारी, प्रमुखहरूको निवास, प्रदेश मन्त्रिपरिषद् कार्यालय, सांसदहरूको शपथलगायतका सबै प्रक्रियामा अन्योल बढ्ने एमालेको भनाइ छ । यस्तो अन्योलसँगै साम्प्रदायिक विद्वेष भड्काउने खेलमा सरकार नियोजित रूपमा लागेको एमालेको आरोप छ ।

‘सरकार अस्थायी राजधानी तोक्ने दायित्वबाट च्युत हुँदै एउटा मन्त्रालयको कर्मचारीमार्फत आफ्ना कुरा बाहिर ल्याएर जनताको भावना भड्काउने, विद्वेष फैलाउने षड्यन्त्रमा लागेको छ,’ एमाले उपाध्यक्ष भीमबहादुर रावलले भने, ‘निर्वाचनअघि समय हुँदासम्म हामीलाई यस्ता कुनै पनि विषयमा छलफल गर्ने उहाँहरूले आवश्यकता ठान्नुभएन, मन्त्रालयले प्रदेश राजधानीबारे कस्तो प्रतिवेदन बुझाएको छ, हामीलाई अहिलेसम्म जानकारी पनि दिनुभएको छैन, यस्तो गैरजिम्मेवार सरकारले अब ताजा जनादेशअनुसार छिटो मार्गप्रशस्त गरेर नयाँ सरकार गठनको बाटो खोल्ने गरी काम गरोस् भन्ने हाम्रो आग्रह छ ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस