भुस्याहा कुकुरको बिगबिगी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भुस्याहा कुकुरको बिगबिगी


२३ पुस २०७४, आइतबार


काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावल अफिस जाँदा दिनहुँ बहिरंग विभागमा कुकुरले टोकेका व्यक्तिको भीड देख्छिन् । उनी आफैंलाई पनि कुन दिन भुस्याहा कुकुरले टोक्ने हो भन्ने भय उत्तिकै छ ।

काठमाडौं उपत्यकामा अहिले भुस्याहा कुकुरको बिगबिगी छ । उपत्यकामा दिनहुँ झन्डै दुई सय जना कुकुरको टोकाइबाट पीडित हुने गरेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी अहेव माला बुढामगर भन्छिन्, ‘बिहान अफिस आइनपुग्दै कुकुरले टोकेका पीडितहरू लाइनमा बसिसकेका हुन्छन् । एप्रोन (पोसाक) नलगाई भित्र पस्न खोज्ने हो भने लाइनमा बसेका पीडितले आफूजस्तै ठानेर भित्र जान पाइँदैन है..भन्छन् । परिचय दिएपछि लौ छिटो भ्याक्सिन लगाइदिनुप¥यो भन्दै कराउँछन् ।’

अस्पतालमा रहेका पाँच जना अहेवमध्ये एक जनालाई नाम दर्ता गर्न र अर्र्कोलाई भीड व्यवस्थापन गर्नमै समय बित्छ । अन्य तीन जनालाई भ्याक्सिन लगाउन भ्याई नभ्याई हुन्छ । अहेव सरीता गौतम भन्छिन्, ‘कुकुरको टोकाइबाट पीडित हरेक महिना बढिरहेका छन् । दिनहुँ झन्डै दुई सय व्यक्ति कुकुरले टोक्यो भन्दै आउँछन् । हामीलाई भ्याक्सिन लगाउन भ्याई नभ्याई हुन्छ ।’

कुकुरको टोकाइबाट बढी मात्रामा पुरुष पीडित हुने गरेका छन् । पाँच महिनायता मासिक औसत सात हजारभन्दा बढी पीडितले निःशुल्क भ्याक्सिन लिएको अस्पतालले जनाएको छ ।

अस्पतालकी निर्देशक डा।रावल थप्छिन्, ‘कुकुरको टोकाइबाट पीडित हुनेको भीड व्यवस्थापन गर्न अन्य वार्डबाट कर्मचारी पठाउने गरेका छौं ।’ अन्यभन्दा विशेष गरी आइतबार र बुधबार कुकुरले टोकेका व्यक्तिको भीड लाग्ने गरेको अस्पतालका कर्मचारीको अनुभव छ ।

एन्टिरेविज भ्याक्सिन सरकारले निःशुल्क लगाइदिन्छ। काठमाडौं उपत्यका मात्र नभई वरपरका छिमेकी जिल्ला काभ्रे, धादिङलगायत जिल्लाबाट समेत शुक्रराज अस्पतालमा भ्याक्सिन लगाउन आउने गर्छन् । यद्यपि, कुकुरको टोकाइलाई सामान्य ठानेर लापरबाही गरी मृत्यु हुनेको संख्या पनि बढ्दै गएको चिकित्सक बताउँछन् ।

शुक्रराज ट्रपिकल अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन भन्छन्, ‘भ्याक्सिन नै नलगाउने र टिटानाशक सुई लगाएको छु भनी ढुक्क भई बस्नेहरू पछि गएर मृत्युको मुखमा पुग्ने गरेका छन् ।’ बर्सेनि करिब १६ जनाले कुकुरको टोकाइबाट ज्यान गुमाउने गरेको उनी बताउँछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस