अपांगतामैत्री छैनन् स्कुल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अपांगतामैत्री छैनन् स्कुल


२३ पुस २०७४, आइतबार


School

काठमाडौं । काभ्रे, महादेवस्थानस्थित कालीदेवी प्राविको भवन दुई वर्षअघिको भूकम्पले भत्काएपछि एसियाली विकास बैंकको सहयोगमा भर्खरै सुविधासम्पन्न भवन बनेको छ । तीन करोड लागतमा बनेको भवनमा अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आवतजावत गर्न र्‍याम्प (ह्विलचियरमा हिँड्ने बाटो) पनि बनाइयो । तर, अपांगता भएका विद्यार्थीलाई शौचालयको गेटसम्म पुगेपछि शौच गर्न छुट्टै संरचना बनाइएन । अपांगता र बालमैत्री रहे पनि शौच गर्ने ठाउँ अभाव हुँदा यस्ता व्यक्तिलाई समस्या परेको छ । ‘शौचालयभित्र अपांगता भएका विद्यार्थीलाई समाउने स्ट्यान्ड बनाउनेबारे ठेकेदार कम्पनीसँग कुरा गर्दा बजेट अभाव रहेको जवाफ आयो’, विद्यालयका प्रधानाध्यापक प्रेमलाल श्रेष्ठले भने ।

अपांगता भएका विद्यार्थीलाई आवतजावत गर्न भिरालो जग्गामा र्‍याम्प बनाइएको छ । शरीर नै धान्नसमेत समस्या पर्ने गरी बनाइएको र्‍याम्पबाट ह्विल चियरमार्फत आवतजावत गर्न कठिन छ । यति मात्र होइन, विद्यालय भवनको मुख्य द्वार बलियो गरी बनाइएको छ । सँगै सुरक्षागार्डका लागि क्वार्टर पनि छ ।

तर, भवनलाई छेकबार गर्ने बजेट स्कुलसँग नहुँदा विद्यार्थी भिरालो ठाउँबाट लड्ने त्रासमा पठनपाठन गरिरहेका छन् । ‘स्कुल भवन बालमैत्री र अपांगतामैत्री भनेर के गर्नु ? सबल विद्यार्थीलाई त नियमित आवतजावत गर्न कठिन छ । अपांगता भएकाको समस्या कसले बुझ्ने ?’ श्रेष्ठले भने । ठेकेदारसँग सम्झौता भएको समयमा विद्यालयलाई दिएको कागजमा भवनसँगै कम्पाउन्ड पनि बनाउने र खाली रहेको जग्गामा दुबो रोप्ने उल्लेख गरिए पनि अन्तिममा ठेकेदार पन्छिएको श्रेष्ठले बताए । सबल विद्यार्थीसँगै बौद्धिक अपांगता भएकालाई पढाइरहे पनि स्रोत अभावमा धान्न मुस्किल परेको प्रधानाध्यापक श्रेष्ठको गुनासो छ ।

धादिङ, सिद्धलेकस्थित सत्यवती माविमा पनि फोकस नेपाल नामको गैरसरकारी संस्थाले आधुनिक शौचालय कोठा बनाइदिएको छ । शौचालयसम्म आउने–जानेका लागि ह्विलचियर गुड्ने र्‍याम्प पनि छ । तर, शौचालयभित्र ह्विलचियर छिराउने बाटो छैन । त्यहाँभित्रको संरचना पनि अपांगता भएका व्यक्तिका लागि प्रयोग गर्न नसकिने किसिमको छ ।

‘हामीलाई सबै कुराको ज्ञान भएन । भवन डिजाइन गर्ने इन्जिनियर र सम्बन्धित संस्थाले पनि हेक्का राख्न सकेन’, प्रधानाध्यापक रामबहादुर खतिवडाले भने, ‘बाहिर संरचना हेर्दा अपांगतामैत्री शौचालय भन्न सकिने किसिमको छ तर भित्री संरचना फरक छ ।’

तत्कालका लागि ह्विलचियरबाटै आवतजावत गर्नुपर्ने विद्यार्थी नभए पनि पछि आएका अवस्थामा अहिलेको शौचालय प्रयोग गर्न नसक्ने खतिवडाले बताए । विद्यालयको संरचना सुहाउँदो नभएकै कारण कतिपय ठाउँमा अपांगता भएका विद्यार्थीले पढ्नै नपाएको समाचार आउन थालेपछि सरकारले नयाँ बन्ने भवन अनिवार्य रूपमा अपांगतामैत्री र बालमैत्री हुनुपर्ने व्यवस्था गरेको छ । तर, अधिकांश नयाँ भवनमा बनेको अपांगतामैत्री संरचना देखावटी मात्र छन् । सरोकारवाला निकायको निगरानी हुन नसक्दा यस्तो समस्या देखिएको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस