सहायक रथीमाथि सेनाको ‘इन्क्वायरी’ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सहायक रथीमाथि सेनाको ‘इन्क्वायरी’


२१ पुस २०७४, शुक्रबार


नेपाली सेना

काठमाडौं । सेनाले कृषि विकास बैंकको रकम हिनामिनामा संलग्न रहेको आरोपमा बहालवाला सहायक रथी डा. रमेश विष्टमाथि इन्क्वायरी थालेको छ। सेनाले उनलाई हिरासतमा लिएरै इन्क्वायरी थालेको हो ।

सैनिक स्रोतका अनुसार उनलाई नारायणहिटीस्थित उपत्यका पृतनामा राखेर इन्क्वायरी सुरु गरिएको छ। सैनिक प्रवक्ता गोकुल भण्डारीले सहायक रथी डा. विष्टमाथि इन्क्वायरी सुरु गरिएको बताए । उनलेभ भने, ‘कृषि विकास बैंकको रकम हिनामिनामा संलग्नता हुनसक्ने आधार फेला परेको छ। प्रहरीको अनुसन्धानबाट पनि त्यस्तै देखियो । सोही आधारमा उहाँमाथि इन्क्वायरी थालिएको छ ।’ इन्क्वायरीपछि दोषी ठहर भए उनीमाथि कोर्ट मार्सलसम्मको कारबाही हुन सक्छ।

सैनिक प्रवक्ता सहायक रथी भण्डारीले भने, ‘अहिले प्रारम्भिक चरणको छानविन हुँदै छ। छानविनबाट दोषी ठहर भए कानुनबमोजिम कारबाही हुन्छ । दोषी नदेखिए इन्क्वायरी फुकुवा हुन्छ। सत्य तथ्य बाहिर आउनेछ ।’

कृषि विकास बैंक न्युरोड शाखामा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान गरेको थियो । अनुसन्धानपछि शाखाकी सहायक ट्रेलर नागार्जुन १ की ३२ वर्षीया दीपिका रेग्मी घटनाकी मुख्य योजनाकारका रुपमा सिआइबीले पक्राउ गरेको थियो । हिनामिना भएको रकम खोज्दै जाने क्रममा रेग्मीले सेनाका सहायक रथी डा. विष्टबारे बताएकी थिइन् । त्यसपछि सिआइबीले डा। विष्टमाथि अनुसन्धान केन्द्रित गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस